कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रेस्क्यु उडानका नाममा कर छली

जयबहादुर रोकाया

हुम्ला — हुम्लामा रहेका निजी हेलिकप्टर कम्पनीले पछिल्लो तीन महिनामा करिब ३० आकस्मिक उडान गरे । अधिकांश उडानमा बिल दिइएन । बिल दिएकाले पनि भ्याट बिल दिएनन् ।

रेस्क्यु उडानका नाममा कर छली

सिमकोटका पर्यटन व्यवसायी विजय लामाले कसैलाई हेलिकप्टरबाट रेस्क्यु उडानको आवश्यक परे व्यवस्था गर्ने गरेका छन् । लामाका अनुसार रेस्क्यु उडान गर्ने हेलिकप्टर कम्पनीले मूल्य अभिवृद्धि करको बिल दिँदैनन् । कम्पनीको लेटरप्याड प्रयोग गरेर प्रमाणस्वरूप लेखेर दिने गरिएको छ । लाखौं रकमको कारोबार गर्ने हेलिकप्टर कम्पनीसँग भ्याट बिल हुँदैन । लामाका अनुसार यसवर्ष जेठदेखि साउनसम्म जिल्लाभित्र ३० रेक्स्क्यु उडान भएका थिए । एक उडानको ठाउँअनुसार प्रतिउडान ८० हजारदेखि १ लाख २५ हजारसम्म लिने गरिएको छ ।


यी व्यावसायिक उडानका साथै हुम्लामा गरिने अधिकांश कारोबारमा कर छली हुने गरेको छ ।

तिब्बत नाका जोडिएको हिल्सास्थित भन्सार कार्यालयले असार महिनामा केही व्यापारीले तिब्बत लिन लागेका हस्तकलाका सामानमा भ्याट लियो । कार्यालयका अनुसार काठमाडौं र भारतबाट खरिद गरी ल्याएका सामानको बिलमा भ्याट तिरेको उल्लेख नभएकाले भ्याट लिइएको हो । भन्सार कार्यालयले भ्याट असुल्न नपाउने र त्यो पनि साधा कागजमा भरपाई गरिएको भन्दै सञ्चार माध्ययममा चर्चा भयो ।


हुम्लाका स्थानीयले सामान खरिद गर्दा बिल नलिएका होइनन् । तर, उनीहरूलाई भ्याट बिलबारे जानकारी नै नभएकाले जसबाट खरिद गरिएको हो, उसैले दिएको बिलमार्फत तिब्बती सीमामा पुगे । सीमा पुगेका ती व्यापारीलाई बिल मागियो र भ्याट नभएपछि भ्याटबापत रकम तिराइयो । सरकारी निकायको कमजोरीको नमुनासमेत हो यो । काठमाडौं हुँदै आएको सामानको नेपालगन्ज र सिमकोट विमानस्थलमा भ्याट बिल खोजिएको नेपालगन्ज विमानस्थल र सिमकोट विमानस्थलमा भ्याट बिल खोजिएको थिएन ।


जिल्लामा ठूलो कारोबार गर्ने व्यवसायीले नै भ्याट बिलबिनै करोडौंको कारोबार गर्दै आइरहेका छन् । बिल काटे पनि परिणाम घटाएर दिने प्रचलन नै बसेको छ । ठूलो रकमको कारोबार गर्दा दोहोरो बिल बनाउने गरिएको छ । तर, कुनै निकायले पनि त्यसबारे चेकिङ गर्ने गरेका छैनन् । हुम्ला सडक सञ्जालसँग जोडिएको छैन । जिल्लामा नेपालगन्ज र सुर्खेतबाट दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीका सामग्री हवाई उडानबाटै हुने गरेको छ । सामान ढुवानी गर्दा लाखौं रकमको कारोबार हुने भए पनि सामान ढुवानीकर्ता कार्गाे सेवाले मूल्य अभिवृद्धि करको बिल प्रयोग गर्ने गरेका छैनन् । सरकारी कारोबारमा भ्याट बिल खोज्ने तर ढुवानीकर्ता कार्गाे सेवाले उपलब्ध नगराउने भएकाले विकास निर्माणका सामानको ढुवानी गर्ने उपभोक्ता समस्यामा पर्ने गरेका छन् ।


सिमकोटमा करिब सय बढी पसल छन् । ती पसलबाट महिनामा लाखौं कारोबार हुने गरेको छ । अधिकांशसँग मूल्य अभिभृद्धि करको बिल हुँदैन । नेपालगन्ज र सुर्खेतका थोक बिक्रेताले नै साना व्यापारीलाई भ्याट बिल उपलब्ध गराउँदैनन् । करोडाैंको सामान बुक लिने नेपालगन्ज र सुर्खेत विमानस्थलमा सामानअनुसारको भ्याट बिल हेर्ने कुुनै निकाय छैन । कसैले खोजी गर्ने झन्झट पनि गर्दैन । यदि कसैले खोजे पनि थोक बिक्रेताले दिएको न्यून परिणामको बिल देखाएर यहाँका व्यवसायी पन्छिने गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?