१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सवारीको भन्सार नघट्ने

काठमाडौँ — राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा रहँदै आएको सवारीको भन्सार महसुल नघट्ने भएको छ । सवारी व्यवसायसँग सम्बन्धितहरूले सवारीमा सरकारले लगाएको भन्सार दर बढी भएको गुनासो गरे पनि अर्थमन्त्री युवराज खतिवडाले तत्काल भन्सार दर परिवर्तन नहुने बताएका हुन् ।

सवारीको भन्सार नघट्ने

अर्थमन्त्रीले मंगलबारदेखि काठमाडौंमा सुरु भएको नाडा अटो सोको उद्घाटन गर्दै नेपालको अर्थतन्त्र भन्सार राजस्वमा आधारित रहेकाले तत्काल भन्सार दर घटाउँदा विकास निर्माणका लागि बजेट अभाव हुने दाबी गरे । ‘आन्तरिक उद्योगबाट राजस्व संकलन हुने अवस्था नआएसम्म भन्सार दर घट्दैन,’ उनले भने, ‘आन्तरिक स्रोतबाटै बढी राजस्व उठ्न थालेपछि स्वत: घट्छ ।’ उनले आन्तरिक उद्योगबाट दुई तिहाइ राजस्व उठ्न थालेपछि भन्सार दर घट्ने उनको तर्क थियो ।


उनले यातायात क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूलाई सरकारले संरचनागत समस्या चिरेर अघि बढ्न खोजेको भन्दै सरकारलाई केही समय पर्ख र हेरका रूपमा लिन आग्रह गरे । सरकारले सार्वजनिक यातायात, विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको उनले बताए । उनले नेपालमा एसेम्बल गर्ने कम्पनीलाई संरक्षण गर्न सकिने धारणा राखे । व्यक्तिगत सवारी प्रयोगप्रति लक्षित गर्दै उनले ‘उपभोग आम्दानीमा आधारित हुनुपर्ने’ धारणा राखे ।


नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले हरेक वर्ष आयोजना गर्दै आएको नाडा अटो सो यो वर्ष मंगलबारदेखि सुरु भएको छ । प्रदर्शनी भदौ ३१ गतेसम्म चल्नेछ । यो वर्ष प्रदर्शनीमा ७१ कम्पनीका १ सय ३४ वटा स्टल राखिएको छ । तीमध्ये १९ वटा चारपांग्रे सवारीको स्टल छन् । दुईपांग्रे सवारीको स्टल २० वटा छन् । प्रदर्शनीमा ३४ वटा स्टल छन् भने सवारी साधनसँग सम्बन्धित पाटपुर्जा, लुब्रिकेन्ट्स र टायरलगायतका हुनेछन् । यीमध्ये केही ब्रान्डले आफ्नो विद्युतीय सवारीसमेत प्रदर्शनीमा राखेका छन् । आधा दर्जन ब्रान्डका विद्युतीय सवारी पनि प्रदर्शनीको आकर्षण बन्नेछन् ।


प्रदर्शनीमा सडक सुरक्षासम्बन्धी चेतना जगाउने उद्देश्यले ट्राफिक प्रहरीका दुईवटा स्टल छन् । जसमा ट्राफिक प्रहरीले दुर्घटना घटाउने उपाय र जनचेतना जगाउने सामग्री राख्नेछन् । नाडा अटो सोमा हरेक दिन विविध विषयमा अन्तरक्रिया आयोजना गरिने आयोजकले जनाएको छ । प्रदर्शनीभर हरेक दिन यातायात क्षेत्रमा लगानी, नेपाली अर्थतन्त्रमा यातायात क्षेत्रको योगदान, आगामी १० वर्षमा यातायात क्षेत्रको याताजस्ता बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।


प्रदर्शनीको टिकट किन्ने अवलोकनकर्तालाई हरेक दिन चिठ्ठामार्फत एक मोबाइल पर्ने आयोजकले जनाएको छ ।


भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सवारी साधन र तिनका पाटपुर्जा मात्रै ८६ अर्बको आयात भएको छ । यसबाट ८० अर्ब राजस्व संकलन भएको थियो । राजस्व संकलनको हिसाबले यातायात सबैभन्दा बढी राजस्व बुझाउने क्षेत्र हो ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?