२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

पोखरालाई पर्यटकीय राजधानी बनाउन प्रस्ताव

प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाए दसौं लाख पर्यटक भित्र्याउन सकिने

लेखनाथ — होटल संघ नेपाल (हान) ले पोखरा महानगरलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न प्रस्ताव अगाडि सारेको छ ।

पोखरालाई पर्यटकीय राजधानी बनाउन प्रस्ताव

पोखरामा मंगलबार आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका मेयरलाई सँगै राखेर संघले पोखरालाई दक्षिण एसियाको पर्यटकीय प्रवेशद्वार बनाउन सकिने भन्दै पर्यटकीय राजधानीको प्रस्ताव राखेको हो ।


संघका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दिगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशका रूपमा अगाडि बढाउन सकिने बताए । उनले यसका लागि संघीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने सुझाव राखे । प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाएर दसौं लाख पर्यटक भित्र्याउन सकिने उनले सुनाए ।


संघका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे । पोखरालाई मास तथा माइस (एमआईसीई) टुरिजमको गन्तव्यका रूपमा विकास गर्न आक्रामक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्नुपर्ने उनको धारणा छ । सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन पाण्डेले सरकारको ध्यानाकर्षण गराएका छन् ।


यसअन्तर्गत सरकारी जग्गाहरू होटल तथा रिसोर्टहरू खोल्न भाडामा दिन सकिने व्यवस्था हुनुपर्ने, करिब पाँच प्रतिशत ब्याजदरमा बैंक कर्जा उपलब्ध हुनुपर्ने, पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने, सरकारले १० वर्षका लागि कर मिनाहा अर्थात् टयाक्स होलिडेको व्यवस्था गर्नुपर्ने, विदेशबाट ल्याइने वस्तुको आयात कर छुट हुनुपर्ने र स्थानीय उपजमा भ्याट आधा कम हुनुपर्ने प्रस्ताव उनले अवधारणापत्रमा उल्लेख गरेका छन् ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हानले ल्याएको अवधारणा सकारात्मक भएको भन्दै प्रदेश सरकार अहिले नीति निर्माणकै विषयलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जानकारी दिए । काठमाडौं, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण सम्पन्न भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिद्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजमार्गहरू निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको सशक्त हब हुने भनाइ उनले राखे ।


यसका लागि कम्तीमा लेकसाइडलाई २४ घण्टा नै खोल्ने वातावरण बनाउनुपर्ने, डाँडाकाँडामा होटल र क्यासिनो खोल्नुपर्ने उपाय सुझाए । मुस्ताङमा हाई अल्टिच्युड खेल केन्द्र खोल्ने विचार पनि प्रदेश सरकारको रहेको र लगानी सम्मेलनसमेत प्रदेश सरकारले गर्न लागेको जानकारी उनले गराए ।


गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लिगलिगकोटमा इतिहाससम्बन्धी संग्रहालय र पोखराको विजयपुर खोलामाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना सुनाए । नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना भयो भने सरकारले विकास निर्माणमा खर्च गर्ने रकम प्राप्त गर्ने भनाइ उनको थियो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले पोखरालाई पर्यटकको ट्रान्जिटका रूपमा नभई हबका रूपमा विकास गर्नुपर्ने, फेवा तालको संरक्षण गर्नुपर्ने र भाषण मात्र नभई कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने सुझाव राखे ।


कार्यक्रमको अर्को आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटकीय पूर्वाधारको विकास, पर्यटकलाई सहज पहुँचको व्यवस्था र बैंकको चर्को ब्याज दरलाई न्यून गर्न सके पर्यटनमा लगानी र पर्यटक आगमनसमेत बढ्न सक्ने भनाइ राखे । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विश्वशंकर पालिखेले सरकारी कर्मचारीका लागि पेड होलिडेको व्यवस्था गर्नुपर्ने बताउँदै मानव निर्मित पर्यटकीय गन्तव्यहरूको विकास पनि पोखरामा जरुरी भएको उल्लेख गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पर्यटन क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै यसलाई अन्त्य गरिनुपर्ने बताए ।


यौनकर्मीलाई परिचयपत्र !
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले कि ‘रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाय सुझाए ।


‘जति रोक्न खोजे पनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको दाबी थियो । परिचयपत्रको व्यवस्था गरे धेरथोर कर पनि संकलन गर्न सकिने उनले जनाए । ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझै फस्टाउने मौका पाउँछ,’ उनले भने, ‘यसो गर्दा उपयुक्त हुन्छ कि ?’ परिचयपत्रको व्यवस्था भए प्रहरीले होटलमा छापा मारिरहने झन्झट बेहोर्नु नपर्ने उनको धारणा थियो । उनले भने, ‘पाहुनाले होटलमा लैजाने यौनकर्मीको परिचयपत्रको आधारमा नाम दर्ता गर्ने हो भने प्रहरीले दु:ख दिइरहन पर्दैन ।’


विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको प्रसंग उनले सुनाए । ‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्,’ उनले सुनाए, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’ कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको आशय थियो ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?