सेज सञ्चालनमा समस्या

सेज ऐनमा भएको व्यवस्था आर्थिक ऐनमा नभएकाले उद्योगीले भित्र्याएका उपकरणमा भन्सार छुट पाएनन्
माधव ढुंगाना

भैरहवा — यहाँस्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि शक्ति मिनरल्स प्रालिले आयात गरेका १७ ट्रक औद्योगिक उपकरण एक सातादेखि भैरहवा भन्सार परिसरमा थन्किएका छन् ।

विशेष आर्थिक क्षेत्र भैरहवामा उद्योग स्थापनार्थ शक्ति मिनिरल्स प्रालिले भारतबाट आयात गरेका औद्योगिक उपकरण । तस्बिर : कान्तिपुर

उद्योगीले सेज सञ्चालन ऐनमा उल्लेख भएअनुसारको छुट माग गरेपछि ती उपकरण भन्सारमा थन्किएका हुन् । भैरहवा भन्सार कार्यालयले यसका लागि अर्थ मन्त्रालय वा भन्सार विभागबाट पत्र आउनुपर्ने बताएको छ । अर्थ मन्त्रालयले भने आर्थिक ऐनमा यस्तो व्यवस्था नभएको जनाउँदै छुटको सिफारिस दिन इन्कार गर्दै आएको छ ।


शक्ति मिनिरल्सले ढुवानीका लागि प्रयोग गरिएका गाडीको विलम्ब शुल्कबापत दैनिक डेढ लाख रुपैयाँ बुझाउँदै आएको छ । गाडी स्टाफका लागि दैनिक खर्च र पार्किङ शुल्क अलग्गै छ । उद्योग सञ्चालक तथा कर्मचारी नियमअनुरूपको छुटका लागि सिफारिस पत्र बनाउन एक सातादेखि काठमाडौंमा छन् । उनीहरू मन्त्रालय र विभागमा धाइरहेका छन् । साढे तीन वर्षअघि उद्घाटन भइसकेको मुलुकको पहिलो नमुना विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालनका लागि सम्झौता गर्ने यो पहिलो उद्योग पनि हो ।

Yamaha


‘सेजमा उद्योग सञ्चालन गर्दा जुन प्रकारको सुविधा पाइन्छ भनेर आकर्षित गरिएको थियो, व्यवहारमा भने कठिन रहेछ,’ शक्ति मिनरल्सका सञ्चालक तथा प्रबन्ध निर्देशक दीपककुमार झाले भने, ‘सेज ऐनमा भएका व्यवस्था तथा सुविधा लिन कठिन भइरहेको छ ।’ सेजमा स्थापना हुने निर्यातजन्य उद्योगका लागि ल्याइने सम्पूर्ण मेसिनरी तथा उपकरणलाई सेज ऐन तथा कार्यविधिमा छुट मिल्ने उल्लेख छ । त्यो सुविधा आर्थिक ऐनमा समावेश नगराइँदा सास्ती खेप्नुपरेको उनले बताए ।


०५८ सालबाट यहाँ सेजको निर्माण कार्य अघि बढाइएको थियो । ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १ हजार ४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ वटा उद्योग स्थापनाका लागि प्लट तयार छन् । सेजले उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिसकेको छ । धेरैले उद्योग सञ्चालनका लागि अनुमति लिए पनि सरकारको भनाइ र गराइमा फरक भएकाले उत्साहित हुन सकेका छैनन् ।


सेजमा उद्योग सञ्चालन गर्नेलाई ‘एकद्वार प्रणाली सेवा’ अन्तर्गत उद्योगीले एकै ठाउँबाट सबै सेवा पाउने र यसका लागि सेज व्यवस्थापनले सहजीकरण गर्ने भनिए पनि व्यवहारमा त्यसअनुरूपको हुन सकेको छैन । सेजमा उद्योग सञ्चालन गर्नेबारे सरकारकै एउटा मन्त्रालय र अर्को मन्त्रालय र अन्तर विभाग तथा निकायबीचको समन्वय अभावमा उद्योग सञ्चालन गर्ने चाहना राखेका व्यवसायीले सास्ती बेहोर्नुपरेको छ ।


सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट सेजमा स्थापना हुने उद्योगले आयात गरेको उपकरणमा भन्सार छुट पाउने व्यवस्था रहेको बताउँछन् । सेज ऐनमा रहेको भन्सार छुटको प्रावधान आर्थिक ऐनमा यसपटक नपरे पनि सम्बन्धित उद्योगीलाई भन्सार छुटका लागि सेजले अर्थ मन्त्रालयको राजस्व महाशाखामा सिफारिस पठाइएको उनले बताए । ‘सेजमा उद्योग सञ्चालनबारे सरकारको मन्त्रालय तथा निकायबीच अन्तर समन्वयको अभाव रहेको यथार्थ हो,’ भट्टले भने, ‘सबै मन्त्रालय तथा विभागले पहिला आफ्नै ऐनमा उल्लेख भएको प्रावधान हेरेर बल्ल अर्को निकायको प्रावधान हेर्ने प्रवृत्तिले समन्वयमा समस्या छ ।’


सेजमा उपलब्ध हुनुपर्ने विद्युतको विषयलाई लिएर व्यवसायी र विशेष आर्थिक क्षेत्र विकास समितिबीचको अविश्सास कायमै छ । सेजमा विद्युत् उपलब्ध हुन नसकेकाले उद्योग स्थापना गर्न नसकिएको र आवश्यक विद्युत् कहिले उपलब्ध हुन्छ भन्ने बारेमा सेजले विश्वास दिलाउन नसकेको उद्योग सञ्चालनका लागि अनुमति लिएका व्यवासायीको गुनासो छ । विद्युत् सुनिश्चित नगरिएसम्म उद्योग सञ्चालन गर्ने व्यवसायीले अनुमति लिए पनि सम्झौता गरेका छैनन् ।


विशेष आर्थिक क्षेत्र विकास समितिले भने उद्योग स्थापनाका लागि आवश्यक पर्ने विद्युत् तत्काल उपलब्ध हुँदाहँुदै पनि व्यवसायीले चासो नदेखाएको आरोप लगाउँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही महिनाअघि भैरहवा सेजमा उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् तत्काल उपलब्ध गराउन सकिने दाबी गरेका थिए ।


तर, गत असार १३ गते उद्योगको शिलान्यास गरेको शक्ति मिनिरल्स प्रालिले नै सामान्य काम गर्नसमेत विद्युत् नपाएर समस्यामा परेको छ । विद्युत् उपलब्ध गराइदिन सेजमा निवेदन दिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको उद्योगले जनाएको छ । ‘उद्योग स्थापनाका ससाना कामका लागि पनि जेनेरेटर नै चलाउनुपरेको छ,’ उद्योगका कारखाना प्रमुख लक्ष्मण ठकुरीले भने, ‘बिजुली नहुँदा गर्मीको समस्या र रातिमा सर्प र स्यालको बिगबिगीले कामदार नै भाग्न थालेका छन् ।’ विद्युत् उपलब्ध भए रातिमा समेत काम गरेर उद्योग चाँडो सञ्चालनमा ल्याउन सकिने दाबी उनको छ ।


सेजका कार्यकारी निर्देशक भट्टले उद्योग स्थापनाका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन सेजभित्र विद्युत्को मर्मत गर्नुपर्ने भएकाले यसका लागि बजेट पठाइसकिएको बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र २८, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा ‘स्पर स्याउ’ उपयुक्त

एलपी देवकोटा

जुम्ला — कर्णालीको हावापानी सुहाउँदो भएकोले स्पर स्याउ उपयुक्त भएको अनुसन्धानले देखाएको छ । बागबानी अनुसन्धान केन्द्र राजीकोटले उक्त स्याउ स्थानीय किसानको लागि सिफारिस गरेको छ ।

बागबानी अनुसन्धान केन्द्र राजीकोटले अनुसन्धान गरेको स्पर जातको स्याउ । तस्बिर : एलपी

कर्णाली क्षेत्रका लागि स्याउका उपयुक्त जात पहिचान गर्न भारतको क्षेत्रीय बागबानी अनुसन्धान केन्द्र, मसोब्रा, सिम्ला र बागबानी अनुसन्धान केन्द्र, कान्धाघाट, सोलनबाट विभिन्न स्याउका जात जुम्ला ल्याएर अनुसन्धान गरिएको थियो ।


तीमध्ये स्पर स्याउ यहाँका लागि उपयुक्त भएको बागबानी अनुसन्धान केन्द्र राजीकोटका प्रमुख युवराज भुसालले बताए । ‘हामीले स्पर जातका स्याउमा अनुसन्धान गर्दा केही आशलाग्दा नतिजा हासिल गर्‍यौं,’ उनले भने, ‘त्यसपछि स्थानीयलाई यसको सिफारिसको तयारी गरेका छौं ।’


बागबानी अधिकृतका अनुसार स्पर स्याउ रोपेको दोस्रो वर्षदेखि नै फल्न सुरु गर्छ । हरेक वर्ष फल लाग्ने, फलमा चाँडै आकर्षक रङको विकास हुने तथा रोग किराको प्रकोप पनि निकै कम पाइएकाले किसानलाई सिफारिस गर्न उपयुक्त भएको केन्द्र प्रमुख भुसालले बताए ।


यस वर्ष भारतीय स्पर स्याउको प्रतिबोट फलको उत्पादन ४२ केजीसम्म पाइएको छ । परम्परागत रूपमा खेती गरिएका डेलिसियस जातका तुलनामा यी स्याउको फललाई बढी भण्डारण गर्न सकिने र ढुवानीमा कम क्षति हुने गरेको छ । राजीकोटले रेड स्पर, रेड चिफ, आरिगन स्पर, वेल स्पर, स्टार्क स्पर गोल्ड, भान्स डेलिसियस, टप रेडलगायत एक दर्जन स्पर जातका स्याउमा अनुसन्धान गरेको थियो ।


स्पर जातका स्याउका बोट जुम्लामा परम्परागत रूपमा किसानले लगाउँदै आएका स्याउका बोटभन्दा ठूला हुन्छन् । परम्पारगत स्याउले रोपेको पाँचदेखि सात वर्षपछि मात्रै फल दिन्छन् । यसले गर्दा पनि नयाँ–नयाँ जातको खोज अनुसन्धान भइरहेको कृषि विकास कार्यालयका अधिकृत बालकराम देवकोटाले बताए । ‘जुम्लामा स्याउको सम्भावना धेरै छ,’ उनले भने, ‘स्पर जातका स्याउ किसानले लगाउन थाले व्यावसायकि रूपमा स्याउखेती फस्टाउन सक्छ ।’


स्थानीय किसान दीपक शाहीले स्पर जातका स्याउ व्यावसायिक खेतीका लागि उपयुक्त भएको बताए । ‘धेरै पहिले रोपिएको स्याउका बोट बूढा भइसकेछन्,’ उनले भने, ‘अब नयाँ र उन्नत जातका स्याउतिर पनि लाग्नुपर्छ ।’

प्रकाशित : भाद्र २८, २०७५ ०७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT