१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कर्णालीमा ‘स्पर स्याउ’ उपयुक्त

एलपी देवकोटा

जुम्ला — कर्णालीको हावापानी सुहाउँदो भएकोले स्पर स्याउ उपयुक्त भएको अनुसन्धानले देखाएको छ । बागबानी अनुसन्धान केन्द्र राजीकोटले उक्त स्याउ स्थानीय किसानको लागि सिफारिस गरेको छ ।

कर्णालीमा ‘स्पर स्याउ’ उपयुक्त

कर्णाली क्षेत्रका लागि स्याउका उपयुक्त जात पहिचान गर्न भारतको क्षेत्रीय बागबानी अनुसन्धान केन्द्र, मसोब्रा, सिम्ला र बागबानी अनुसन्धान केन्द्र, कान्धाघाट, सोलनबाट विभिन्न स्याउका जात जुम्ला ल्याएर अनुसन्धान गरिएको थियो ।


तीमध्ये स्पर स्याउ यहाँका लागि उपयुक्त भएको बागबानी अनुसन्धान केन्द्र राजीकोटका प्रमुख युवराज भुसालले बताए । ‘हामीले स्पर जातका स्याउमा अनुसन्धान गर्दा केही आशलाग्दा नतिजा हासिल गर्‍यौं,’ उनले भने, ‘त्यसपछि स्थानीयलाई यसको सिफारिसको तयारी गरेका छौं ।’


बागबानी अधिकृतका अनुसार स्पर स्याउ रोपेको दोस्रो वर्षदेखि नै फल्न सुरु गर्छ । हरेक वर्ष फल लाग्ने, फलमा चाँडै आकर्षक रङको विकास हुने तथा रोग किराको प्रकोप पनि निकै कम पाइएकाले किसानलाई सिफारिस गर्न उपयुक्त भएको केन्द्र प्रमुख भुसालले बताए ।


यस वर्ष भारतीय स्पर स्याउको प्रतिबोट फलको उत्पादन ४२ केजीसम्म पाइएको छ । परम्परागत रूपमा खेती गरिएका डेलिसियस जातका तुलनामा यी स्याउको फललाई बढी भण्डारण गर्न सकिने र ढुवानीमा कम क्षति हुने गरेको छ । राजीकोटले रेड स्पर, रेड चिफ, आरिगन स्पर, वेल स्पर, स्टार्क स्पर गोल्ड, भान्स डेलिसियस, टप रेडलगायत एक दर्जन स्पर जातका स्याउमा अनुसन्धान गरेको थियो ।


स्पर जातका स्याउका बोट जुम्लामा परम्परागत रूपमा किसानले लगाउँदै आएका स्याउका बोटभन्दा ठूला हुन्छन् । परम्पारगत स्याउले रोपेको पाँचदेखि सात वर्षपछि मात्रै फल दिन्छन् । यसले गर्दा पनि नयाँ–नयाँ जातको खोज अनुसन्धान भइरहेको कृषि विकास कार्यालयका अधिकृत बालकराम देवकोटाले बताए । ‘जुम्लामा स्याउको सम्भावना धेरै छ,’ उनले भने, ‘स्पर जातका स्याउ किसानले लगाउन थाले व्यावसायकि रूपमा स्याउखेती फस्टाउन सक्छ ।’


स्थानीय किसान दीपक शाहीले स्पर जातका स्याउ व्यावसायिक खेतीका लागि उपयुक्त भएको बताए । ‘धेरै पहिले रोपिएको स्याउका बोट बूढा भइसकेछन्,’ उनले भने, ‘अब नयाँ र उन्नत जातका स्याउतिर पनि लाग्नुपर्छ ।’

प्रकाशित : भाद्र २८, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?