कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीजले उकास्यो पार्टी प्यालेस

सजना बराल

काठमाडौँ — तीज पर्व घर र माइतीभन्दा बाहिर निस्किएको छ । महिलाहरू अचेल पार्टी प्यालेस, ब्यांकेट, होटलतिर दर कार्यक्रम आयोजना गर्न थालेका छन् । पार्टी प्यालेस छिरेको तीजले उनीहरूको व्यवसायलाई उकासेको छ ।

तीजले उकास्यो पार्टी प्यालेस

घरमै कार्यक्रम गर्दा झन्झटिलो हुने भएकाले पार्टी प्यालेस रोजेको योरस्टाइल ब्युटी होमकी सञ्चालक रिना अवालेले बताइन् । उनले गत साल रोयल ब्यांकेटमा दर कार्यक्रम आयोजना गरेकी थिइन् ।


यसपालि अन्य सहकर्मीको निम्तोमा होटल यल्लो प्यागोडा, सिद्धार्थ कटेजलगायत भेन्युमा तीज मनाउन पुगिन् । ‘एक–अर्कासँग नजिकिने वातावरण बन्यो,’ उनले भनिन्, ‘घरमा सय/डेढ सयको भीड अटाउन गाह्रो पर्छ ।’


साउनको अन्तिम सातादेखि असोज १५ सम्म दर कार्यक्रम चालु हुने गरेको पार्टी प्यालेस सञ्चालकहरूको भनाइ छ । विशेषगरी साथीसंगी, सहकर्मी वा टोल–छिमेकका महिला दिदी–बहिनी मिलेर दर पार्टी आयोजना गर्दै आएको बालाजी पार्टी प्यालेसका सञ्चालक वसन्त खडकाले बताए । ‘५० देखि सय जनाको समूह आउने गरेका छन्,’ उनले भने, ‘तीजले गर्दा अहिले अफ–सिजनमा पनि हाम्रो व्यवसाय राम्रै भइरहेको छ ।’


दर कार्यक्रमका लागि सरदर २० हजार रुपैयाँदेखि एक/डेढ लाख रुपैयाँसम्म खर्च गरेर दर कार्यक्रम आयोजना गर्दै आएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीला जीसीले जानकारी दिए । यो बेला पार्टी आयोजकले खानपानभन्दा पनि मनोरञ्जनमा बढी ध्यान दिने गरेको उनको अनुभव छ । यही भएर पार्टी प्यालेस र ब्यांकेटहरूले पनि साउन्ड सिस्टम र मनोरञ्जनका अन्य सुविधा सुधार्ने गरेको बताए ।


‘साउन्ड सिस्टम राम्रो हुनुपर्‍यो,’ पोखरास्थित कान्तिपुर पार्टी प्यालेसका सञ्चालकसमेत रहेका जीसीले भने, ‘डान्सिङ नम्बरका गीत डाउनलोड गरेर राख्छौं ।’ तीजमा पार्टी प्यालेसतिर चहलपहल बढे पनि व्यवसायमा भने त्यतिविघ्न प्रगति नहुने उनको भनाइ छ । ‘हाम्रा हलहरू हजारौं मान्छे अट्ने क्षमताका हुन्छन्,’ उनले भने, ‘दर पार्टीमा सय/पचास जनाको समूह आउने हो । मुनाफाभन्दा पनि स्वरोजगार हुन्छ यतिबेला ।’


पहिले–पहिले तीज घरमै मनाउने गरे पनि गणतन्त्र स्थापनापछि भने महिलाहरू हलहरू नै बुक गरेर मनाउन थालेको जीसीको बुझाइ छ । विभिन्न कार्यालय, संघ–संस्था, बुटिक, ब्युटी पार्लर, क्लबहरूले आफ्ना स्टाफ एवं अन्य मित्रजनका लागि दर पार्टी आयोजना गर्न गरेको बालाजीका खड्काले अवगत गराए । ‘बिहेको सिजनमा जस्तो राम्रो व्यापार हुँदैन,’ उनले भने, ‘तर, तीज पनि अब हाम्रा लागि राम्रै सिजन बन्न थालेको छ ।’


यस्ता कार्यक्रममा प्रतिव्यक्ति २ सयदेखि ७ सय रुपैयाँ प्लेट खाना अर्डर गर्ने गरिएको ताज ब्यांकेटका सञ्चालक कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।


‘दिदी–बहिनीहरू आ–आफैं पैसा उठाएर दर कार्यक्रम गर्ने गर्नुभएको छ,’ उनले भने, ‘सय–पचास जना जम्मा हुन अब पार्टी प्यालेसहरूको विकल्प छैन ।’ कतिले त दर पार्टीका लागि टिकट बेच्ने गरेको समेत उनले बताए । यसमा महिला–पुरुष दुवैको सहभागिता बढ्दो छ ।


राजधानीमा खुला ठाउँको अभाव भएकाले जमघटका लागि हलहरू नै लिनुपर्ने बाध्यता छ । बर्खायाममा खुला आकाशमुनि कार्यक्रम गर्दा असहज पनि हुन्छ । पहिलेका वर्षभन्दा यसपालि पार्टी प्यालेसमा दर खानेको संख्या बढी भएको ताज ब्यांकेटका पाण्डेको अनुभव छ । यसरी दर खाएर महिलाहरू बिमारी भएको खबर सुन्दा आफूलाई दु:ख लागेको पनि उनले बताए ।


‘हामीले स्वस्थ खाना दिनुपर्छ,’ राष्ट्रिय पार्टी प्यालेस एवं क्याटरिङ व्यवसायी महासंघका उपाध्यक्षसमेत रहेका पाण्डेले भने, ‘महिला दिदी–बहिनीलाई ढुक्कले जमघट हुने र रमाइलो गर्ने वातावरण बनाउनुपर्छ ।’

प्रकाशित : भाद्र २८, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?