कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रानी जमरा लम्की शाखा नहर : निर्माण सुरु नभई म्याद सकियो

रूख कटान सम्पन्न भएपछि फेरि रूखका जरा उखल्ने अनुमति नदिएर सरकारबाटै निर्माणमा व्यवधान

चिसापानी/कैलाली — कैलाली लम्कीका बिर्खबहादुर साउदको एक बिघा खेतको उब्जनीले वर्षभरि खान पुग्दैन । ‘आकासेपानीको भर पर्दा बेलैमा रोपाइँ हुँदैन,’ बिर्खबहादुरले भने, ‘बाली सप्रने र बिग्रने पानीकै भरमा हो ।’

रानी जमरा लम्की शाखा नहर : निर्माण सुरु नभई म्याद सकियो

यसपालि धान पसाउने बेला पानी परिरहेकाले उत्पादन राम्रो हुनेमा साउद आशावादी छन् । तर, नभित्र्याउञ्जेल ठेगान नहुने उनले बताए । ‘पोहरसाल धान काट्ने बेला परेको वर्षाले बाली बर्बाद् भएको थियो,’ उनले भने । साउदका अनुसार किसानको २० देखि ३० प्रतिशत क्षति भएको थियो । सिँचाइ सुविधा नभएकाले यस्तो समस्या भएको उनले बताए ।


‘खडेरी परेको वर्ष भोकमरीको अवस्था सिर्जना हुने किसानहरू बताउँछन् । साउदले भने, ‘किसानले पूरै खेतमा धान रोप्न पाउँदैनन् । भएको बालीमा पनि रोगकिराले नोक्सान गर्छ । ४० बोरा फलाउन सकिने जमिनमा १० बोरा पनि फल्दैन ।’ तर, हाल बिर्खबहादुर रानीजमरा कुलरिया सिँचाइ आयोजनाको लम्की शाखा नहर विस्तारको ठेक्का सम्झौताले खुसी छन् । तर, निर्माणको काममा भइरहेको ढिलाइले उनी चिन्तित छन् ।


‘यही असारमा कर्णालीको पानीले रोपाइँ हुन्थ्यो,’ उनले भने, ‘सरकार र ठेकेदार जसको पक्षबाट भए पनि नहर निर्माणको काम समय अवधिभित्र सम्पन्न हुन सकेन । आयोजनाको तेस्रो चरणको लम्की शाखा नहर विस्तार निर्माण पूरा गर्नुपर्ने अवधि ०७५ असारमा सकिसकेको छ । कैलाली चिसापानीको डुडेझाडीदेखि पथरियासम्मको १४.७ किलोमिटर नहर निर्माणको ठेक्का कालिका कुमार जेभीले लिएको थियो । ०७३ मा आयोजनाले १ अर्ब ७१ करोडमा उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त नहरको कमान्ड क्षेत्र ६ हेक्टर छ । ‘एक इन्च नहर नखनेरै निर्माण गर्नुपर्ने म्याद सकियो,’ उपभोक्ता साउदले भने, ‘नहर निर्माणको काम सम्पन्न गर्न कति वर्ष लाग्ने थाहा छैन । यसमा सरोकार निकायको ध्यान पुग्न जरुरी छ ।’


ठेकेदार कम्पनीका प्रमुख इन्जिनियर सुनिल पौडेलले कार्यान्वयन निकायबाट भएको ढिलाइका कारण नहर निर्माणको काम अघि बढ्न नसकेको बताए । उनका अनुसार नहर निर्माणको शाखा विस्तार हुने डुडेझाडीदेखि ६ किलोमिटरसम्म जंगल क्षेत्रमा पर्छ । त्यहाँदेखि १४.७ किलोमिटर क्षेत्र आवादीमा पर्छ ।


रूख काटेपछि जरा उखेल्ने अनुमति पाइएन
‘सरकारले वन क्षेत्रमा रूखहरू हटाउने अनुमति दिने काममा ढिलो गर्‍यो,’ ठेकदार कम्पनीका इन्जिनियर पौडेलले भने, ‘गएको चैतमा वन विभागबाट रूख काट्ने अनुमति मिल्यो । असार १० भित्रमा ६ किलोमिटर वन क्षेत्रका रूखहरू हटाउने काम भयो ।’ उनले रूख कटान सम्पन्न भएपछि फेरि रूखका जरा उखल्ने अनुमति नदिएर सरकारबाटै निर्माणमा ढिलाइ भएको बताए ।


यसै साता जराहरू हटाउने अनुमति दिएको उनी बताउँछन् । ‘अहिले जराहरू हटाउने काम सुरु भएको छ,’ उनले भने, ‘कार्यान्वयनमा व्यवधान उत्पन्न भएन भने ६ किलोमिटर क्षेत्रको नहर निर्माणको काम अघि बढ्नेछ ।’ ठेकेदार कम्पनीको म्याद थप नभएको उनले बताए । म्याद थपको समय दिएर सरकारले कामलाई अगाडि बढाउनुपर्ने पौडेलको भनाइ छ । उनले ठेकेदार कम्पनीले कार्यान्वयन पक्षका कारण घाटा व्यहोर्नुपरेको बताए ।


‘हामीले म्यानपावर र इक्विपमेन्टहरू स्टान्डबाई राखेका छौं,’ उनले भने, ‘काम नपाएर खाली राख्नुपर्दा कम्पनीले घाटा व्यहोर्नुपरेको छ ।’ निर्माण काम सुरु गर्न ६ किलोमिटर जंगलको क्षेत्रको काम ‘क्लियर’ भए पनि बाँकी ८ किलोमिटर आवादी क्षेत्रमा मुआब्जाको समस्यालाई कार्यान्वयन पक्षले चाँडो समाधान गर्नुपर्ने उनी बताउँछन् ।


रानीजमरा सिँचाइ आयोजनाका सिनियर इन्जिनियर रणबहादुर बमले ठेक्का हुनुअघि गरिसक्नुपर्ने प्राविधिक अध्ययनका काममा ढिलाइ भएकाले निर्माणमा ढिलाइ भएको बताए । ‘नहरको सर्भेपछि आईइए/ईआए गरेर रूख कटानको समेत काम सम्पन्न भएपछि नहर निर्माणको ठेक्का सम्झौता हुनुपर्ने थियो,’ उनले भने, ‘पहिल्यै ठेक्का हँुदा वन मन्त्रालयलगायतबाट सम्पन्न गरिनुपर्ने काम ढिलो भयो ।’ उनले आवादी क्षेत्रमा मुआब्जाको समस्या मात्रै बाँकी रहेको बताए ।


‘मुआब्जाको समस्या समाधानका लागि प्रशासनलगायत सरोकार निकायबाट चाँडो गर्ने काम भइरहेको छ,’ इन्जिनियर बमले भने, ‘मुआब्जाको काम सकिएपछि निर्माणको एकहोरो काम सुरु हुन्छ ।’ उनले बढीमा २/३ वर्षमा लम्की शाखा नहरमा समेत पानी सञ्चालन गरिसक्ने बताए । हालसम्म नहरको एलाइनमेन्ट र कित्ता फिक्स भइसकेको उनले बताए ।


जग्गा मूल्य निर्धारण समितिले नहरमा परको जग्गाधनीको जग्गाअनुसारको कित्ताकाट गरी मुआब्जा लिएमा काम सजिलै अघि बढ्ने उनी बताउँछन् । ‘साउदलगायत यहाँका किसानमा खुसीको लहर छाउनेछ,’ आयोजनाका इन्जिनियर बमले भने, ‘तर नहर निर्माणमा मुआब्जाको समस्या समाधानमा सबैको सहयोग चाहियो ।’

प्रकाशित : भाद्र २९, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?