कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युटयुबका अर्बपति सेलिब्रेटी

धनीका कुरा
‘मानिसले सादा जीवन उच्च विचारलाई अंगीकार गर्नुपर्छ । तर, उपलब्धि हासिल गर्नका लागि आफ्नो टयालेन्सीसँगै संघर्षका लागि पनि तयार हुनुपर्छ ।’
दिनेश यादव

काठमाडौँ — हामीमध्ये अधिकांश मानिस फेसबुक, युटयुबलगायतका सामाजिक सञ्जालमा दिनभरि घोत्लिएकै हुन्छौं । साथीसँग च्याट गर्न होस् वा युटयुबमा रमाइला भिडियोहरू हेर्न नै किन नहोस्, व्यस्त हुने गर्छौं । समय खेर गएको पत्तो हुँदैन । अझ अबेर रातिसम्म पनि यसैमा घोरिएका हुन्छौं ।

युटयुबका अर्बपति सेलिब्रेटी

यसले समय त बर्बाद हुन्छ नै, व्यक्तिको दैनिकीसमेत बिग्रने गर्छ । कति ठाउँमा त मानिसलाई मोबाइल र सोसल मिडियाको लत छुटाउन दुव्र्यसनी केन्द्र पनिखोल्न थालिएको छ । तर, २६ वर्षीय डयानिएल मिडल्टन एउटा अपवाद भएर निस्केका छन् । उनी फरक शैलीमा सामाजिक सञ्जालको प्रयोग गर्छन् । यसको प्रयोग पैसा कमाउनका लागि गर्छन् । युटयुबमा आफ्ना भिडियोहरू राखेर लोकप्रिय जो बनेका छन् । त्यसैमार्फत आम्दानी पनि गर्छन् ।


बेलायती नागरिक मिडल्टन सोसल मिडिया सेलिब्रेटीसमेत बनिसकेका छन् । यिनी बालबालिका माझ लोकप्रिय छन् । ‘डयान टीडीएम’ को नामले लोकप्रिय यिनी ‘प्रोफेसनल गेमर’ को परिचयसमेत बनाइसकेका छन् । युटयब च्यानल ‘द डायमन्ड माइन क्राफ्ट’ का मालिक कहलिएका छन् । यिनको च्यानल खासगरी लोकप्रिय खेल ‘माइन क्राफ्ट’ मा केन्द्रित छ । उनको यूट्युब च्यानलका सब्सक्राइबर २ करोडभन्दा बढी छन् ।


हाल ‘दि डायमन्ड माइन कार्ट’ बेलायतकै सबैभन्दा लोकप्रिय च्यानलमा सूचीकृत छ । मिडल्टनको आम्दानी चार वर्षअघि साढे २१ लाख रुपैयाँसम्म रहेको ‘दि बिजनेस इन्साइडर’ ले अनुमान गरेको थियो । तर, हाल यिनको आम्दानी अर्ब रुपैयाँमा पुगिसकेको छ । पछिल्ला वर्षहरूमा उनको च्यानल भ्युअर्सका आधारमा आधिकारिक रूपमै सबैभन्दा चर्चित हो ।


इंग्ल्यान्डको एल्डरसटमा २६ वर्षअघि जन्मेका मिडल्टन एक जना सेनाका छोरा हुन् । सानै छँदा उनका आमाबुबाले पारपाचुके गरेका थिए । यो उनका लागि दुखद र संघर्षमय क्षणलाई निम्तो दिने खालको थियो । त्यही बेला उनको हात भाँच्चिएको थियो । यी मात्रै हैन, डयानियलले आफ्नो जीवनमा धेरै उतारचढाव सामना गरेका छन् । बुबाको जागिरको प्रकृतिका कारण यिनले विभिन्न ठाउँहरू परिवर्तन गरिरहनुपर्‍यो । फलस्वरूप यिनले यथेष्ठ आत्मीय साथीहरू बनाउन सकेनन् । बाल्यकालमा आमाबुबा दुवैको माया संयुक्त रूपमा पाउन सकेनन् । तर, उनी निराशचाहिँ देखिएनन्, भएनन् ।

आफ्नो संघर्षको यात्रालाई गजब तरिकाले पूरा गर्दै अघि बढे । उनी सन्तुलित आहारमा सधैं जोड दिन्छन् । जाँडरक्सी र धूमपान कहिले मुखमा नलगाएको उनी बताउँछन् । भन्छन्, ‘यी वस्तुको सेवन गर्दा म बिरामी पनि हुन सक्छु, फेरि आफ्ना युवा सब्सक्राइबर्सका लागि बिरामी भएर उपस्थिति हुनु राम्रो पनि त हैन नि ।’ अर्थात् यिनी युवाहरू माझ आफूलाई एउटा रोल मोडलकै रूपमा प्रस्तुत गर्न चाहन्छन् । युवाका लागि ड्यानियलको यो भनाइ अनुसरणीय र प्रेरणाप्रद पक्कै छ ।


डयानियलले आफ्नो दिनचर्याबारेको जिज्ञासामा एउटा अन्तर्वार्तामा भनेका छन्, ‘म आफ्नो दिनचर्या अन्यन्तै सरल तरिकाले बिताउँछु, म धेरै व्यस्ततायुक्त जीवन बिताउन रुचाउन्नँ ।’ उनी बिहान ९ बजे उठ्छन् । उठेको झन्डै एक घण्टापछि भिडियोका लागि काम थाल्छन् । त्यसैक्रममा ‘माइन्ड कार्ट’ लाई अपडेट गर्ने, अपराह्नतिर भिडियोहरू सम्पादन गर्ने र बेलुका साढे ८ बजेतिर आफ्नो भिडियो अपलोड गर्ने गरेका छन् । त्यसपछि उनी भिडियोमा आएका प्रतिक्रियाहरू हेर्छन् । सामान्य स्नातक मात्र उत्तीर्ण मिडल्टनले युटयुबमार्फत हासिल गरेको लोकप्रियताले धेरैलाई आश्चर्यमा पारेकै छ । त्यो पनि केही वर्षको अन्तरालमै ।


डयानियलका बुबा सेनामा काम गर्ने भएकाले उनका परिवार एक स्थानबाट अर्को स्थानमा गई रहँदा उनी मात्र १० वर्षका थिए । बुबाको सरुवाकै कारण कम्तीमा १० वटा विद्यालय परिवर्तन गर्नुपरेको थियो । विद्यालय फेरिरहनुपर्ने कारण हुर्कंदो उमेरमा आफूले बालसखा बनाउन नसकेको उनको गुनासो छ । पछि उनका अभिभावकले आपसमा पारपाचुके गरेपछि पनि विद्यालय परिवर्तन गर्नुपरेको थियो । पछिल्लो विद्यालयमा केही साथी भने बनाउन सफल भए । त्यसैक्रममा उनको भेट जेम्मासँग भयो । पछि तिनैसँग उनले विवाह गरे । उनले १७ मार्च २०१३ मा जेम्मालाई आफ्नो घर भित्र्याएका हुन् । जेम्मा पनि माइन क्राप्ट (जेमप्लेजएमसी) मनोरञ्जन गर्थिन् । दुवैले सँगसँगै भिडियो खेलमा रमाएको पनि युटयुबमा हेर्न सकिन्छ ।


प्राराम्भिक शिक्षापछि नोर्थामप्टन विश्वविद्यालयमा आफ्नो नामांकन गराएका थिए । पढाइसँगै उनी युटयुबमा समेत सक्रिय भएका थिए । विश्वविद्यालयका विद्यार्थी छँदै उनले सञ्चालनमा ल्याएको च्यानलको नाम ‘पोकम्यानडान एलभी ४५’ थियो । सन् २०१२ मा मिडल्टनले ‘दि डाइमन्ड माइन क्राफ्ट’ सञ्चालनमा ल्याएका हुन् । यो च्यानललाई उनले व्यावसायिक रूपमै सञ्चालन गरे । डिसेम्बर २०१३ मा उनको च्यानलका सब्सक्राइबर १० लाख नाघे । तथापि ‘डयान टीडीएम’ च्यानलको लोकप्रियता थप दुई वर्षमा ह्वात्तै बढयो ।


बालबालिकालाई लक्षित खेलहरू यसमा देखाउन थालियो । सैनिक परिवारमा जन्मेका उनी यो च्यानलबाट रातरात लोकप्रिय बन्न पुगे । यति मात्रै हैन, उनले ‘गिनिस वल्र्ड रेकर्ड’ समेत बनाइसकेका छन् । ‘रकेट लिग फर ए टिम अफ २’ र ‘रकेट लिग (टिम अफ थ्री)’ मा सर्वाधिक स्कोर गरेबापत उनको नाम गिनिज बुकमा दर्ता भएको हो । मिडल्टन ‘लेट्स प्ले’ शृंखलाका लागि पनि चर्चित छन् । यो शृंखलाअन्तर्गत उनले दुई हजारभन्दा बढी भिडियो अपलोड गरिसकेका छन् ।


एमटीभीले यसै वर्षको अप्रिलमा सार्वजनिक गरेको सूचीमा उनी करिब २ अर्ब रुपैयाँ बराबरको सम्पत्तिका साथ पहिलो स्थानमा रहेका थिए । उनको सम्पत्तिको स्रोत ग्राफिक नोभेल, एउटा युटयुब रेड सेरिज टयुरिङसँग विभिन्न एक्टिङ गर्नु नै हो । ‘सेलिब्रेटी नेटवर्थका अनुसार गेमर र इन्टरनेट व्यक्तित्व डयानियलको कुल सम्पत्ति २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ (२० मिलियन अमेरिकी डलर) रहेको छ । उनका भ्युअर्स १० अर्बभन्दा बढी र सब्सक्राइबर्स १ करोड ६० लाख रहेको सञ्चार माध्यमहरूमा उल्लेख छ । उनले भनेका छन्, ‘मानिसले सादा जीवन उच्च विचारलाई अंगीकार गर्नुपर्छ । तर, उपलब्धि हासिल गर्नका लागि आफ्नो टयालेन्सीसँगै संघर्षका लागि तयार पनि हुनुपर्छ ।’
(एजेन्सी)

प्रकाशित : भाद्र ३०, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?