२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मानव विकास सूचकांकमा नेपाल तल झर्‍यो

सूचकमा सामान्य सुधार आए पनि अन्य मुलुकको तुलनामा प्रगति गर्न नसक्दा पछाडि धकेलियो
कृष्ण आचार्य

काठमाडौँ — अन्य मुलुकहरूको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यसपटक १ सय ४९ औं स्थानमा छ । १ सय ८९ मुलुकहरूमध्ये सन् २०१६ मा १ सय ४८ स्थानमा थियो ।

मानव विकास सूचकांकमा नेपाल तल झर्‍यो

मानव विकास सूचकांक ० दशमलव ५७४ छ । सन् २०१६ मा नेपालको मानव विकास सूचकांक ० दशमलव ५६९ रहेको थियो । यो आधारमा नेपालले मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ । तर, अन्य मुलुकको प्रगति नेपालको भन्दा राम्रो भएकाले स्थान भने तल झरेको छ । यूएनडीपीले मुख्य गरी औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरूका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ ।

यसमध्ये औसत आयु ७० दशमलव ६ वर्ष पुगेको छ । पछिल्लो ३ दशकमा प्राथमिक स्वास्थ्य र गाउँगाउँमा स्वास्थ्य स्वयंसेवकलगायतको पहुँच विस्तार भएपछि प्रतिव्यक्ति आयुमा उल्लेख्य सुधार हुँदै गएको छ । यसले मुलुकको स्वास्थ्य क्षेत्रको अवस्था देखाउँछ । ३ दशकमा करिब ३० वर्ष नै औसत आयु बढेको छ । तर, स्वास्थ्य सेवासम्मको सहज पहुँच र सहरी क्षेत्रमा पनि गुणस्तरीय स्वास्थ्य सेवामा भने अझै चुनौती नै छन् ।

प्रतिवेदनअनुसार साक्षरता दर ५९ दशमलव ६ रहेको छ । साक्षरता दर भने अन्य मुलुकको तुलनामा सन्तोषजनक होइन । नेपाललाई मानव विकासको क्षेत्रमा पछाडि पार्न शिक्षा र प्रतिव्यक्ति आम्दानीको मुख्य भूमिका छ । पाँच वर्ष उमेर पुगेका करिब ९५ प्रतिशत बालबालिका विद्यालय जाने गरेको तथ्यांक देखिन्छ । तर, एक कक्षामा भर्ना भएका करिब ६५ प्रतिशत बालबालिका एसईईसम्मको शिक्षा नलिई बाहिरिने गरेका छन् । शिक्षामा यो एक ठूलो चुनौती हो ।

क्रयशक्ति (पर्चेजिङ पावर प्यारिटी) का आधारमा प्रतिव्यक्ति आय २ हजार ४ सय ७१ अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ लाख ८४ हजार १ सय ६५ रुपैयाँ) रहेको यूएनडीपीको प्रतिवेदनमा उल्लेख छ । कुनै वस्तुको मूल्यलाई अन्य मुलुकसँग तुलना गरी मुद्रास्फीतिका आधारमा प्रतिव्यक्ति आम्दानी निकाल्ने गरिन्छ । यसले वास्तविक रूपमा आम्दानी कम भए पनि उक्त मुलुकमा बजार भाउ सस्तो भएका कारण सामानको उपभोग गर्न सक्ने आधारमा आम्दानी मापन गर्ने गरेको छ । तर, कुल राष्ट्रिय आयका आधारमा निकालिने प्रतिव्यक्ति आय भने नेपालीहरूको १ हजार १२ डलर मात्रै छ ।


यसमा भने नेपाली नागरिकले एक वर्षमा गरेको आम्दानीका आधारमा औसत आय निकाल्ने गरिन्छ । पर्चेजिङ पावर प्यारिटीका आधारमा गत वर्षभन्दा प्रतिव्यक्ति आय १ सय ३७ अमेरिकी डलरले बढेको छ ।

राष्ट्रिय आयका आधारमा मापन गरिने प्रतिव्यक्ति आयमा पनि यसै हाराहारीमा आम्दानी बढेको छ । नेपाल अतिकम विकसित मुलुक रहनुमा साधारणतया यिनै सूचकलाई हेर्ने गरिन्छ । संयुक्त राष्ट्रसंघले अन्य सूचक हेर्ने गरे पनि मानव विकास सूचकांक मुख्य आधार हो । सन् २०२१ सम्ममा अतिकम विकसित मुलुकबाट माथि उठ्ने सरकारी लक्ष्य अझै कायमै छ । तर, पछिल्ला वर्षमा मानव विकासको क्षेत्रमा खासै प्रगति नभएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

सबै सूचकांकहरूमा गत वर्षभन्दा प्रगति भए पनि अन्य मुलुकहरूकै गतिअनुसारको हुन नसक्दा नेपाल एक स्थान तल झर्नु परेको हो । दक्षिण एसियाका ८ मुलुकहरूमा नेपाल छैटौं स्थानमा छ । विगतमा पनि यही स्थानमा थियो । यो सूचकांकमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान एक स्थानले तल झरेका छन् । गत वर्ष १२९ औं स्थानमा रहेको भारत यसपटक १३० मा पुगेको छ । त्यस्तै पाकिस्तान १४९ मा रहेकामा १५० मा पुगेको छ ।

दक्षिण एसियाका अन्य तीन मुलुकहरू भने एक स्थानले अगाडि भएका छन् । १०२ औं स्थानमा रहेको माल्दिभ्स यसपटक १०१, १३५ औं स्थानमा रहेको भुटान १३४ औं र १३८ मा रहेको बंगलादेश १३६ औंमा आइपुगेको छ । यो आधारमा बंगलादेश दुई स्थानले अगाडि आएको हो । सन् १९९० बाट बर्सेनि यूएनडीपीले यस्तो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?