कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उद्यमशीलता कोष बन्द : उद्यमी निराश

सजना बराल

काठमाडौँ — पाँचथरका लम्की ब्युटी पार्लर, सविता ढाका उद्योग, चाहना टेलरिङ सेन्टरलगायतले महिला उद्यमशीलता विकास कोषबाट ऋण लिएर आफ्नो व्यवसाय विस्तार गरेका थिए । तिनले बिनाधितो ६ प्रतिशत ब्याजमा तीन वर्षभित्र तिरिसक्ने गरी एक लाखदेखि पाँच लाख रुपैयाँसम्म कर्जा लिएका थिए ।

उद्यमशीलता कोष बन्द : उद्यमी निराश

साना व्यवसायीलाई यो सहुलियत ठूलो राहत हुँदै आएको महिला उद्यमीको भनाइ छ ।

आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउने उद्देश्यसहित तीन वर्षअघि सरकारले उक्त कोष स्थापना गरेको थियो । त्यसमा सुरुमा २ करोड, दोस्रो वर्ष ४ करोड र तेस्रो वर्ष १८ करोड रुपैयाँ हालियो । कोषले पहिलो वर्ष १०, त्यसपछि २६ हुँदै जम्मा ४६ जिल्लाका उद्यमी महिलालाई ऋण उपलब्ध गराएको थियो । घरेलु तथा साना उद्योग महासंघ नेपालकी शान्ता बाँस्तोलाका अनुसार पाँच हजारभन्दा बढी महिला यसबाट लाभान्वित थिए ।

उद्योग मन्त्रालयको घरेलु तथा साना उद्योग विभागअन्तर्गत सञ्चालित उक्त कोष अहिले निष्क्रिय भएको छ । यसपालिको बजेटमा कोषका लागि रकम छुटयाइएन । यसले आफूहरूको पहल व्यर्थ हुन गएको भन्दै महिला उद्योगीहरू निराश बनेका छन् । ‘हामीले नै लबिङ गरेर कोष खडा गराएका थियौं,’ महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शारदा रिजालले भनिन्, ‘गाउँगाउँका महिलालाई अनौपचारिक क्षेत्रबाट औपचारिक उद्यममा ल्याउन सफल भइरहेका बेला कोष बन्द गरियो ।’


आर्थिक वर्ष २०७१/७२ मा काठमाडौं, खोटाङ, प्यूठान, कैलाली गरी १० जिल्लाबाट सुरु गरिएको कार्यक्रम तीन वर्षमा करिब ५० जिल्लाका महिला उद्यमीमाझ पुगिसकेको थियो । महिलाले सञ्चालन गरी घरेलु तथा साना उद्योगमा दर्ता भई कर तिरेका उद्यमीलाई कोषले बढीमा ५ लाख रुपैयाँसम्म ऋण दिने गरेको थियो ।


तीन वर्षभित्रै ऋण तिरिसक्नेलाई ब्याजमा एक प्रतिशत छुटसमेत थियो । कोषको मापदण्ड पूरा गरेका उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकमार्फत कर्जा प्रवाह गरिन्थ्यो ।


व्यवसाय सुरु गरेर आर्थिक अभावमा अलमलमा परेकाहरूलाई यो कोष राहतजस्तो भएको रिजालको बुझाइ छ । ‘सस्तो ब्याजमा ऋण पाउँदा महिला उद्योगीलाई प्रोत्साहन मिल्थ्यो,’ उनले भनिन्, ‘यसले महिला उद्योगीलाई त सहयोग गरेको थियो नै रोजगारी बढाउन पनि भूमिका खेलेको थियो ।’

औद्योगिक नीति २०६७ अनुसार महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले कोष स्थापना गरिएको थियो । कोषबाट ऋण लिएर उद्योग विस्तार गर्नेको संख्या बढेपछि महिला उद्यमीले ऋणको सीमा बढाउन माग गर्दै आएका थिए । तर, यसपालिको बजेटमा रकम विनियोजन नगरिएको देख्दा आफूहरू छक्क परेको घरेलुकी शान्ता बाँस्कोटाले बताइन् । ‘उद्यमीहरू निरुत्साहित छन्,’ उनले भनिन्, ‘यसको प्रभावकारिता थाहा नपाउँदै कार्यक्रम बन्द गरिएको छ ।’

बजेट भाषणलगत्तै नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल अर्थमन्त्री युवराज खतिवडाकहाँ पुगेको थियो । टोलीले कोषको सक्रियता र रकम वृद्धिको माग गर्दा खतिवडाले आगामी बजेटमा यसलाई सम्बोधन गर्ने बताएको महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जानकारी दिए ।

‘सरकारले एकल उद्योगलाई ऋण दिँदैन,’ मन्त्री खतिवडालाई उद्धृत गर्दै प्रधानले भने, ‘बरु पाँच वटा उद्योगको समूहलाई एकमुष्ठ १५ लाख रुपैयाँसम्म दिन सकिन्छ ।’


किन हटाइयो बजेटबाट ?प्रधानले कोषको पूर्ण उपयोगिता नभएकाले बजेट नछुटयाइएको भन्ने सुनेका छन् ।

तर, यो तार्किक नभएको बताए । युवा उद्यमीलाई आत्मविश्वासी र स्वावलम्बी बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उनको भनाइ छ । महासंघकै मीना श्रेष्ठले कोषको कार्यक्रम सबै जिल्लामा पुर्‍याउने लक्ष्य राखिरहेका बेला बीचमै तोडिएको बताइन् । ‘एक चक्र पूरा हुन नपाउँदै कार्यक्रम रद्द भयो,’ उनले भनिन्, ‘अहिले ऋण लिएकाहरूले तिरिसकेपछि त्यही रकम अरूलाई बाँड्दा हुन्थ्यो ।’

महिला उद्योगीप्रति सरकार गम्भीर नभएकाले कोष बन्द गरिएको महिला उद्यमीको बुझाइ छ । यसले आफूहरूलाई मर्का परेको रिजालले बताइन् । ‘साना उद्योगमा महिला धेरै छन्’, उनले भनिन्, ‘हामीले पक्का अध्ययन गरेरै कोषको सदुपयोग गरेका थियौं । यो बन्द गरिएकामा हामी असन्तुष्ट छौं । यसले महिला उद्यमीप्रतिको सरकारको सम्मान फितलो देखायो ।’

सरकारले महिला उद्यमीलाई के आश्वासन दिएको छ भने उसले एकल संस्थालाई नभएर समूहलाई ऋण दिनेछ । तर, समूह जुटाउन गाह्रो पर्ने र त्यसमा कसले नेतृत्व वा जिम्मेवारी लिने भन्नेमा दुविधा हुन सक्ने महासंघकी मीना श्रेष्ठले बताइन् । ‘सरकारले बैंकबाटै ऋण लिनुपर्ने बताएको छ,’ उनले भनिन्, ‘बंैकले १२/१३ प्रतिशत ब्याजदरमा ऋण दिन्छ ।’

अहिले बजेटबाट हटाइए पनि आफूहरूले सीएसआर फन्डमार्फत कोषलाई क्रियाशील बनाउनेबारे सोचको महासंघका उपाध्यक्ष प्रधानले बताए । ‘यस्ता कार्यक्रम रोक्नु हुँदैन,’ उनले भने, ‘कमीकमजोरी पहिल्याएर समाधान गर्नुपर्छ । हामी त युवा उद्यमी बढाउन युथ आन्टर प्रेनर्स स्कुलसमेत खोल्दै छौं ।’

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?