क्रसर उद्योगको बदमासी

रमेशकुमार पौडेल

काठमाडौँ — नारायणगढ–मुग्लिन सडक आयोजनाका लागि मात्रै सञ्चालन भएको क्रसर उद्योगले बाहिर गिट्टी बालुवा बेच्ने गरेको पाइएको छ । अघिल्लो साता आयोजनाका लागि राखेको क्रसरको बालुवा बाहिर बेच्न हिँडेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

क्रसर उद्योगको बदमासी

त्यसपछि भदौ २४ मा चितवन जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले क्रसर उद्योग तत्कालका लागि बन्द गर्ने निर्णय गर्‍यो ।

क्रसर उद्योगले उत्पादनहरू बाहिर बेच्ने जनगुनासो पटक–पटक आउने गरेको थियो । त्यसपछि जिल्ला अनुगमन समितिले अनुगमन गर्दा बेच्ने गरेको पुष्टि भएको थियो । ‘अनुगमन समितिले गिट्टी बालुवा बेचेको भेटेपछि जिल्ला प्रशासनमा बैठक बसेको हो,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने ।

नारायणगढ–मुग्लिन सडक विस्तारको काम सकिए पनि गिट्टी बेच्ने काम जारी थियो । विस्तारका लागि तीन खण्ड बनाएर फरकफरक निर्माण कम्पनीलाई जिम्मा लगाइएको थियो । तीन खण्डमध्ये बीचको खण्डको विस्तारको जिम्मा लिएको उडहिल लामा जेभी आफैंले क्रसर उद्योग राखेको थियो । अरू दुई निर्माण कम्पनीले अरूलाई क्रसर राख्न दिएका थिए । ‘आयोजनाका लागि मात्रै गिट्टी, बालुवा उत्पादन गर्ने सर्तमा हामीले स्वीकृति दिए पनि बाहिर बेच्ने गरेको चर्चा आउने गथ्र्यो,’ खनालले भने ।

जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले क्रसर उद्योगमा मौज्दात (स्टक) को विवरण लिने निर्णय गरेको छ । नारायणगढ–मुग्लिन सडकमा चारवटा पुल बन्दै छन् । पुललाई चाहिने सामग्री पनि ती क्रसर उद्योगले उत्पादन गर्नुपर्ने हुन्छ । आयोजनाको कामका लागि चार क्रसर उद्योग खोल्न स्वीकृति दिइएको थियो ।निर्माण कम्पनी बीएलए एससीसी जेभी र सुप्रिम रौताहा जेभीले क्रसर नराखेर अरूलाई जिम्मा दिएका थिए ।

तीन खण्डको काममा प्रत्येक खण्डमा लगभग ११ किलोमिटरको हाराहारीमा काम भएको छ । बीएलए एससीसी जेभीका कन्ट्रयाक्ट म्यानेजर प्रभु जोशी क्रसर आफूहरूले राख्न सम्भव नभएपछि अरूलाई जिम्मा दिएको बताउँछन् । आफ्नो खण्डको कामका लागि ६० हजार घन मिटर गिट्टी, ढुंगा र बालुवा प्रयोग भएको उनको अनुमान छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?