१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पुल निर्माण अलपत्र

विप्लव महर्जन

सल्यान — सल्लीबजार–चौरजहारी सडक खण्डअन्तर्गत बन्गाड कुपिन्डे नगरपालिकाको त्रिवेणी बजार नाथेखोलामा निर्माणाधीन पक्की पुल अलपत्र बनेको छ । तीन वर्षअघि निर्माण सुरु भएको पुल ०७४ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

पुल निर्माण अलपत्र

सडक डिभिजन कार्यालयले ४ करोड १७ लाख रुपैयाँ लगानीमा हरिहरि कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो । डिभिजन कार्यालयले पटकपटक म्याद थप्दा पनि निर्माणको कामले अझै गति लिएको छैन । हालसम्म ३० प्रतिशत मात्र काम सकिएको कार्यालयले जनाएको छ ।

पुल अलपत्र परेपछि सल्लीबजार–चौरजहारी सडकमा चल्ने यातायातका साधन सञ्चालनमा समस्या भएको छ । पुलकै कारण यातायात सेवा अवरुद्ध भएपछि यात्रुहरू सास्ती भोग्न बाध्य छन् । समयमै ठेकेदार कम्पनीले काम गर्न नसक्दा असारदेखि सडक अवरुद्ध भएको स्थानीय दलबहादुर परियारले बताए । उनका अनुसार सडक अवरुद्ध भएपछि स्थानीयबासी घण्टौं पैदलयात्रा गर्न बाध्य छन् । स्थानीयका अनुसार हरिहरि कन्ट्रक्सनका ठेकेदार हरिबहादुर रावतको लापरबाहीले पुल निर्माणको काम अलपत्र परेको हो ।

ठेकेदारले थोरै मजदुर लगाएर काम गर्दा पुलको सेटिङको कामले तीव्रता पाउन सकेको छैन । आवश्यक अधिकांश सामग्री निर्माणस्थलमा पुग्न सकेको छैन । बन्गाड खोलाकै कारण चौरजहारी सडक वर्षायाममा बर्सेनि अवरुद्ध हुने गरेको छ । स्थानीय नरबहादुर खड्काले पुल निर्माण समयमै नहुँदा स्थानीयबासीले लामो समयदेखि सास्ती भोग्नुपरेको बताए ।

पुल निर्माणमा भएको ढिलाइका कारण सल्यान र रुकुमको पश्चिम र उत्तरी भेगका बासिन्दा बढी मर्कामा परेको उनको भनाइ छ । समयमै काम गर्न खोज्दा पनि जग्गाधनीले विवाद गरेका कारण समस्या भएको ठेकेदार रावतले दाबी गरे । उनका अनुसार केही महिनादेखि वर्षाका कारण काम रोकिएको हो ।

कामका लागि आवश्यक सामग्री खरिद गरेर पुल निर्माणस्थलमा छिट्टै लैजाने तयारी गरेको उनको भनाइ छ । ‘नजिकैको झोलुंगे पुल नहटाउँदा पनि पुल निर्माणमा केही समस्या भएको छ,’ उनले भने, ‘झोलुंगे पुल हटाउन जिल्ला समन्वय समितिमा निवेदन दिएको छु ।’ उनका अनुसार आसपासको माटो हटाउँदा झोलुंगे पुल खस्ने खतरा छ । ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दै आएको डिभिजन प्रमुख बद्रीप्रसाद शर्माले बताए । ठेकेदारले अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न गरेको उनको भनाइ छ ।

पक्की पुलका साथै उक्त सडकको आमखोलीदेखि नाथेखोलासम्मको पाँच किलोमिटर कालोपत्रेको काममा ढिलाइ भएको छ । ठेक्का सम्झौता भएको एक वर्ष बित्दासमेत आधा काम हुन नसकेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार सडक चौडा पार्ने, नाली, जाली, हयुम पाइपलगायत काम अझै हुन सकेको छैन ।

११ करोडको लगानीमा सडक कालोपत्रेको जिम्मा सिग्मा गाल्वा कन्ट्रक्सनलाई दिइएको छ । सडक डिभिजन कार्यालय दाङ र कन्ट्रक्सनका नरहरि थपलियाबीच ३३ महिनामा काम सम्पन्न गर्ने गरी २०७४ साउनमा सम्झौता भएको थियो । थपलियाले ४९ लाख पेस्की बुझेर कामको जिम्मा पेटी ठेकेदार रामबहादुर विष्टलाई दिएका छन् ।

प्रकाशित : आश्विन १, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?