बसले जोडियो जनकपुर–पटना

श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधामलाई भारत विहारको पटनासम्म जोड्ने नेपाल–भारतमैत्री बस सेवा आइतबार सञ्चालनमा आएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा विहार राजपथ परिवहन निगमका एसएन झाले हरियो झन्डा देखाएर बसलाई शुभारम्भ गरे ।

बसले जोडियो जनकपुर–पटना

यसअघि विहारका मुख्यमन्त्री नितिशकुमारले पटना–जनकपुर बस सेवालाई बिहीबार हरियो झण्डा देखाएर आरम्भ गरेका थिए ।

२ सय २५ किलोमिटर लामो सीधा बस सेवा सञ्चालन भएपछि जनकपुरको शिक्षा, स्वास्थ्य तथा धार्मिक, सांस्कृतिक पर्यटनमा टेवा पुग्ने मुख्यमन्त्री राउतले बताए । उनले भने, ‘खुला सीमाको सदुपयोग गर्दै दुवै देशका नागरिक दैनिक आवागमन गर्छन् । उनीहरूलाई सीधा बस सेवाले सुविधा हुनेछ ।’

विहार राजपथ परिवहन निगमका झाले भारतबाट नेपाल आउने बसलाई नेपाली भन्सारमा शुल्क तिर्नुपरेको गुनासोबारे मुख्यमन्त्री राउतले मञ्चमै बसेका प्रमुख जिल्ला अधिकारी तथा प्रदेश प्रहरी प्रमुख नायब प्रहरी महानिरीक्षकसँग समस्याको समाधान गर्न आग्रह गरेका थिए ।

नेपालका सम्भु–मञ्जुश्री यातायात प्रालिका चार तथा विहार राजपथ परिवहन निगमको ४ वटा बसबाट दुई देशीय मैत्री बस सेवा प्रारम्भ भए पनि यात्रीहरूको मागअनुसार बसको संख्यामा वृद्धि हुने जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए । बसको भाडा २ सय ७५ भारतीय रुपैयाँ निर्धारण गरिएको छ । हाललाई बिहान साढे १० बजे तथा राति साढे ८ बजे बस पटनाका लागि छुट्नेछन् । बस पूर्णत: वातानुकुलित भएको अध्यक्ष चौधरीले बताए ।

सयौं नेपाली स्वास्थ्य उपचार, अध्ययन, व्यवसाय तथा धार्मिक, सांस्कृतिक पर्यटनका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । यसैगरी सयौं भारतीय पनि धार्मिक, सांस्कृतिक पर्यटन तथा जनकपुर तथा लाहानस्थित आँखा अस्पतालमा उपचार गराउन नेपाल आउने गरेका छन् ।

विहार प्रदेशको राजधानी पटना तथा प्रदेश २ को राजधानी जनकपुर रेल, बस तथा हवाइमार्गबाट समेत जोडिएकाले जनकपुर–पटनाको बस सेवा यात्रुहरूका लागि लाभदायक हुने विश्वास स्थानीयको छ । यसअघि पटना पुग्न जनकपुरबाट नेपाली नाका भिठामोडसम्म तथा भिठामोडबाट भारतको सीतामढी, मुजफ्फरपुर हुँदै पटना पुग्नुपथ्र्यो । पटकपटक बस, रिक्सा, टेम्पो परिवर्तन गर्न यात्रीहरूलाई असुविधा हुने गरेको थियो ।

भारतीय सीमासुरक्षा बल (एसएसबी) को सास्तीसमेत बेहोर्नुपरेको थियो । बसमा यात्रा गरिरहेका जनकपुर ४ का राजेशकुमार नागवंशीले यो बस सेवाबाट आफू अत्यन्तै खुसी भएको बताए ।

जनकपुर–अयोध्या अन्योलमै
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ मा जानकी मन्दिर परिसरमा हरियो झन्डा देखाएर प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा भने अझै पनि नियमित सञ्चालन हुन सकेको छैन ।

तयारीबिनानै भाडामा बस लिएर सञ्चालन गरिएको त्यो रुटको बस नियमित सञ्चालन हुन अझै केही समय लाग्ने जनकपुर अञ्चल बस व्यवसायी संघले जनाएको छ । दुई देशीय उक्त बस सेवा सञ्चालनका लागि अनुमति (रोडपरमिट) भने हालसम्म प्राप्त हुन सकेको छैन ।

‘जनकपुरधाम–अयोध्या बस सेवा सञ्चालनका लागि इच्छुक बस व्यवसायीहरूलाई सार्वजनिक सूचनामार्फत प्रस्ताव आहवान गर्दै छौं । सक्षम व्यवसायीलाई बस सञ्चालनको अनुमति दिइनेछ,’ अध्यक्ष चौधरीले भने ।

प्रकाशित : आश्विन १, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?