टरीगाउँ विमानस्थल फेरि सञ्चालनको प्रयास

दुर्गालाल केसी

दाङ — ६ दशकदेखि चल्दै बन्द हुँदै गरेको टरीगाउँ विमानस्थल सञ्चालनका लागि पुन: प्रयास थालिएको छ । पछिल्लोपटक गत पुस १९ देखि समिट एयरलाइन्सले जहाज उडाउन सुरु गरे पनि अन्त्यमा भाडा बढेको र इन्धन डिपो नभएको कारण देखाउँदै ५ महिनापछि बन्द गरेको थियो ।

टरीगाउँ विमानस्थल फेरि सञ्चालनको प्रयास

फेरि जहाज उडाउने दबाबका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई बोलाएर आइतबार विमानस्थलमै कार्यक्रम गरिएको छ । यसअघि जहाज उडाउन पहल थालेको तुलसीपुर उपमहानगरपालिकाले नै यसपटक पनि अगुवाइ गरेको छ ।

अब पनि जहाज उडाउन नसकेमा जिल्लाबासीले धैर्य गर्न नसक्ने उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । ‘हामीले पटकपटक संघीय सरकारलाई अनुरोध गरेका छौं । हाम्रो समस्यालाई गम्भीर रूपमा लिइदिनुपर्‍यो,’ उनले भने, ‘पटकपटक जहाज उडाउँदै बन्द गर्दै गर्नुभएन । आकस्मिक बिरामी उपचार नपाएर मर्नुपर्ने स्थिति छ ।’

मन्त्री अधिकारीले दसैंअघि नै जहाज उडाउने आश्वासन दिएका छन् । विमानस्थलको धावनमार्ग सानो भएकाले ठूला जहाज उडाउन नसके पनि क्षमता अनुसारको उडान गराउने उनले बताए । सीधै काठमाडांै–दाङ या काठमाडाैं–भैरहवा–दाङ उडान गर्ने गरी तयारी थालेको उनले जानकारी दिए । ‘दाङमा प्रशस्त सम्भावना छ । यति धेरै सम्भावना भएको उपत्यकामा जहाज नचल्नु दु:खद कुरा हो,’ उनले भने, ‘अब तत्काल जस्तो जहाज चल्न सक्छ, त्यस्तै चलाउन सुरु गर्छौं । एउटा विमान कम्पनीलाई प्रतिबद्ध भएर उडान भर्न तयार गर्छौं ।’ नेपालमा पाइलट कोर्स पढाउने तयारी गरेको उल्लेख गर्दै अधिकारीले प्रयोगात्मक अभ्यासका लागि दाङ पनि उपयुक्त स्थानमा परेको बताए ।

नागरिक उड्डयन विभागका महानिर्देशक सन्जीव गौतमले दाङमै वैकल्पिक विमानस्थलको तयारी भइरहेकाले टरीगाउँलाई तत्काल स्तरोन्नति गर्ने अवस्था नरहेको बताए । ‘टरिगाउँमा ७ सय ५० मिटरको धावनमार्ग छ । यसमा ठूला जहाज उडाउन सकिँदैन । विस्तार गर्ने अवस्था पनि छैन,’ उनले भने, ‘विस्तार गर्ने खर्चले अर्को विमानस्थल बन्ने भएकाले वैकल्पिक विमानस्थलको अध्ययन भइरहेको छ । त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।’

जिल्लामा उडान नहुँदा आपतकालीन अवस्थाका बिरामीलाई समस्या हुने गरेको छ । ठूलो दुर्घटनाबाट सख्त घाइते भएका बिरामीलाई एक्कासि काठमाडौं लैजानुपरे हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरु रावतले बताए । ‘१ वर्षभित्रै दुर्घटनाका घाइतेलाई काठमाडौं लैजान तीनपटक हेलिकप्टर भाडामा ल्याइएको छ,’ उनले भने, ‘यात्रुले ५ लाखसम्म तिरेर हेलिकप्टर प्रयोग गरिरहेका छन् । गरिब नागरिकलाई यो कसरी सम्भव छ ?’

विभिन्न राजनीतिक दलका नेताहरूले विमानस्थल सञ्चालन गर्ने कुरालाई चुनावी एजेन्डा बनाउँदै आएका छन् । मन्त्रीहरूले अनुगमन गर्ने र जहाज नियमित गर्ने आश्वासन दिने गरेका छन् । तर, पनि अहिलेसम्म अवस्था उस्तै छ । यसअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट र जीवनबहादुर शाहीले पनि अवलोकन गरेका थिए । जहिले पनि नेता र मन्त्रीहरू विमानस्थलमा गाडी गुडाउँदै आउँछन् र जहाज उडाउने आश्वासन दिएर जान्छन् ।

०११ फागुन ११ मा परीक्षण उडान गरिएपछि टरीगाउँमा लगातार ०५२ सम्म नेपाल एयरलाइन्सको जहाज चलेको थियो । ०५२ मा एक्कासि इन्धन र यात्रु अभाव भएको भन्दै उडान बन्द भयो । त्यसपछि नियमित जहाज उड्न सकेन । त्यतिबेला नेपाल वायुसेवा निगमले दाङबाट काठमाडाैं, नेपालगन्ज, रुकुमको चौरजहारी र सल्लेमा उडान गरिरहेको थियो । ०६० सालमा फेरि नेपाल वायुसेवा, सीता र यति एयरलाइन्सले जहाज उडाउन थाले ।

हरेकले सातामा एक/एक उडान गरे । ०६६ सम्म लगातार उडान भयो । ०६७ देखि ०७० सम्म विमानस्थल कालोपत्रे गर्न थालेपछि उडान बन्द भयो । कालोपत्रेको काम पूरा भएपछि तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा गोमा एयरलाइन्सले ०७२ मा ९ महिना उडान गर्‍यो । यतिबेला टिकटको जिम्मा संघले लिएर जहाज चलाइएको थियो । विमानस्थलको ३६ बिघा १० कठ्ठा १० धुर जमिन विमानस्थलको पेरिमिटरभित्र छ ।

प्रकाशित : आश्विन १, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?