१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बंगलादेशबाट अर्बको जुस

काँकडभिट्टा — बंगलादेशबाट करिब एक अर्वको जुस आयात भएको छ । स्वदेशी उत्पादनका अलावा नेपाली बजारमा भारतीय उत्पादनको दबदबा थियो । अत्यधिक आयातपछि अब बंगलादेशी उत्पादनले समेत नेपाली बजार जमाउन थालेको देखिन्छ ।

बंगलादेशबाट अर्बको जुस

मेची भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष बंगलादेशबाट ९९ करोड ८६ लाखभन्दा बढी मूल्यको २ करोड १६ लाख ७७ हजार लिटर जुस नेपाल भित्रिएको हो । लिचीको स्वादको जुसको माग नेपाली बजारमा ज्यादा रहेको सम्बद्ध व्यवसायीहरू बताउँछन् ।

नेपालले विगत २१ वर्षदेखि बंगलादेशसँगको व्यापारका लागि काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग प्रयोग गर्दै आएको छ । यो नाकाबाट जुस आयात गर्ने आयातकर्तामध्येका दिलीप तिम्सिनाले छोटो समयमा बंगलादेशी जुसले नेपाली उपभोक्ताको मन जितेको बताए । ‘४/५ वर्षको अन्तरालमा यसको माग ह्वात्तै बढेको छ,’ उनले भने ।

भन्सारका अनुसार जुस र अन्य वस्तुको मागसँगै आयात बर्सेनि बढ्दो छ । नेपाली वस्तुको निर्यात भने झन्झन् खस्किरहेको छ । ०७४/७५ मा नेपालले बंगलादेशसँग करिब तेब्बर घाटा व्यापार गरेको छ । ०६१/६२ देखि निरन्तर नेपालको पक्षमा रहेको नेपाल–बंगलादेश व्यापार ०७४/७५ मा आइपुग्दा झनै खस्किएको हो । यो वर्ष १ अर्ब ९१ लाख १५ हजारभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ ।

बंगलादेशले तेब्बरभन्दा बढी अर्थात् ३ अर्ब ५२ करोड ६९ लाखभन्दा बढी मूल्यको सामान पठाएको छ । ‘झन्डै तेब्बर बढी व्यापार घाटा भएको छ,’ नेपाल–बंगलादेश व्यापार सहजीकरण गर्ने निकाय नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी स्रोतले भन्यो, ‘नेपालले विगत १० वर्षदेखि निरन्तर घाटा बेहोरेको छ ।’ कार्यालयका अनुसार नेपाल–बंगलादेश व्यापारको सुरुआती केही वर्ष नेपाली व्यापार लगालग बंगलादेशको पक्षमा थियो ।

०५४/५५ मा बंगलादेशले १ करोड ३१ लाखभन्दा बढी मूल्यको वस्तु पठाउँदा नेपालले ११ लाख मात्रको वस्तु निर्यात गर्न सकेको थियो । दोस्रो वर्ष नेपाली व्यापार थोरै वृद्धि भए पनि घाटै भएको थियो । ०५५/५६ मा नेपालले ४ करोड २३ लाख मूल्यको वस्तु निर्यात गरेको थियो ।

प्रकाशित : आश्विन २, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?