२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गाई–भैंसी चर्ने पाखामा पर्यटन

रमेशकुमार पौडेल

जगतपुर, चितवन — राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको कसरासँग जोडिएको गाउँ हो । सदरमुकाम भरतपुरबाट १८ किलोमिटर पश्चिममा रहेको यो गाउँ विश्व प्रख्यात निकुञ्ज मुख्यालयको आडैमा भए पनि बत्तीमुनिको अँध्यारो जस्तो थियो । निकुञ्ज घुम्न बर्सेनि दुई लाख पर्यटक आए पनि जगतपुर पुग्दैनथे ।

गाई–भैंसी चर्ने पाखामा पर्यटन

केही वर्षयता जगतपुरको अवस्था फेरिँदो छ । यहाँ ठूला पर्यटकीय होटलहरू थपिँदै छन् । कुनै बेला घरपालुवा गाई–भैंसी चर्ने धूलो उड्ने राप्ती नदी किनारको पाखो क्षेत्र अहिले हराभरा भएसँगै जंगली जनावरहरू प्रशस्तै देखिन थालेका छन् । ती जंगली जनावरहरू हेर्न पर्यटकहरू हात्ती वा जिप चढेर छिर्न थालेका छन् । विगतका वर्ष गाई चर्ने पाखो अचेल पर्यटकीय क्षेत्र बन्दै छ ।


चितवन निकुञ्जको केरुंगा मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्छ जगतपुर र शुक्रनगर क्षेत्र । उक्त उपभोक्ता समितिअन्तर्गत चारवटा मध्यवर्ती वनहरू छन् । तीमध्ये दुईवटा वनमा पर्यटक चहलपहल राम्रैसँग बढ्न थालेको केरुंगा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सनबहादर तामाङले बताए । ती दुई हुन् बेहट्ठा हरियाली मध्यवर्ती सामुदायिक वन र घैलाघारी मध्यवर्ती सामुदायिक वन ।

‘पाँच वर्षयता सिमसार र घोलहरू संरक्षणको काम सुरु भएको हो । पानीका स्रोतहरू राम्रो भएपछि हरियाली बढयो । जरायो र मृग बढे । जसले गर्दा बाघ पनि यी वनमा छन् । गैंडा पनि छन्,’ मध्यवर्ती अध्यक्ष तामाङले भने । वनमा गाई–भैंसी चराउन रोक्नका लागि उन्नत नश्लका जनावरहरू पाल्न प्रोत्साहन गरेको र घाँसको बीउहरू बाँडेको उनले बताए ।


‘स्थानीय जातका दुधालु पशु पाल्ने भनेको चर्न जंगल पठाउने परिपाटी कायम राख्ने हो भन्ने देखियो । पछि हामीले नश्ल सुधारको काम गर्‍यौं । कृत्रिम तरिकाको गर्भाधानका कार्यक्रमहरू चलिरहेका छन् । पशु बिमाका कार्यक्रमहरू छन् । घाँसको बीउ चार क्विटलसम्म बाँडयौं’ पशु प्राविधिक ईश्वरीप्रसाद आचार्यले भने । धेरै दूध दिने गाई–भैंसी गोठमा भएपछि जंगल पठाउने चलन रोकिएको छ ।

गाउँका पशु चर्न जंगल नछिर्ने र जंगलमा पानीका स्रोतहरू संरक्षण भएपछि जंगली जनावरहरू बढ्न थाले । ‘जेनेरेटर राखेर र सोलार पम्पसमेत राखेर हामीले पाँचवटा पोखरीमा पानी पुर्‍याएका छौं,’ मध्यवर्ती अध्यक्ष सनबहादुर तमाङले भने । जगतपुर पटिहानी क्षेत्रमा नारायणी सफारी, कसरा रिसोर्ट, जंगल भिल्ला, टाइगर ल्यान्ड र अन्नपूर्ण रिसोर्टजस्ता ठूला पर्यटकीय होटलहरू छन् ।

यी होटलमा आउने पर्यटकहरू अहिले जगतपुरका दुई मध्यवर्ती सामुदायिक वन घुम्न थालेका छन् । बेलहट्ठा हरियाली मध्यवर्ती सामुदायिक वनका सदस्य सोमबहादुर भाट वनले पर्यटक प्रवेश शुल्कबाट वर्षमा १५ लाख रुपैयाँ आम्दानी गरेको बताउँछन् । घैलाघारी मध्यवर्ती वनका अध्यक्ष रामप्रसाद चालिसेका अनुसार पर्यटनबाट यो वनले पनि वर्षमा साढे सात लाख रुपैयाँ आम्दानी गर्छ ।

जंगल क्षेत्र हराफरा हुँदै गर्दा वन्यजन्तु बढेर गाउँलेको ज्यानै जाने आक्रमण पनि हुने गरेको छ । एक महिनाअघि बाघले आक्रमण गर्दा जगतपुरकी एक जना महिलाको ज्यान गयो । तर, संरक्षण गरेपछि पर्यटन फस्टाउँदा स्थानीयलाई फाइदा हुँदो रहेछ भन्ने ज्ञान पनि बढ्दै गएको जगतपुरका व्यावसायिक पशुपालक हरि अधिकारी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार कसरा क्षेत्रमा अघिल्लो आर्थिक वर्षमा ११ हजारभन्दा धेरै पर्यटकहरू आएका थिए । पर्यटनबाट जगतपुर क्षेत्रले योभन्दा अझै धेरै लाभ लिन सक्ने सम्भवनाहरू छन् । मध्यवर्तीमा पर्यटनबाट स्थानीयले योभन्दा राम्रो लाभ के कसरी लिन सक्नेछन् भन्ने अध्ययनमा आफूहरू लागेको अध्यक्ष सनबहादुर तामाङले बताए ।

प्रकाशित : आश्विन २, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?