कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घारखोला जलविद्युत्मा अवरोध

घनश्याम खडका

म्याग्दी — निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले अवरोध गरेका छन् । अन्नपूर्ण–५ को शिख, किन्दु र पाउद्धारवासीले अन्नपूर्ण–६ घारको कुरिलाखर्कस्थित आयोजनाको निर्माणस्थलमा पुगेर काम रोकिदिएका हुन् ।

घारखोला जलविद्युत्मा अवरोध

प्रभावित क्षेत्रमा गर्नुपर्ने सामाजिक काम नगरेको र स्थानीयवासीलाई रोजगारी नदिएको भन्दै वडाध्यक्ष दिनेश पुनमगरको नेतृत्वमा स्थानीयले निर्माणस्थलमा अवरोध गरेका हुन् । आयोजनाका प्रतिनिधि र स्थानीयबीच छलफलमा कुरा नमिलेपछि मुहानतर्फको सुरुङ निर्माणको काम रोकिएको हो ।

‘आयोजनाले सामाजिक क्षेत्रमा लगानी गर्छौं भने पनि गरेको छैन,’ अन्नपूर्ण–५ का वेग पुनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट पनि स्थानीयवासीसमक्ष सार्वजनिक गरेको छैन ।’ टोलबस्ती र विद्यालय सुधारका लागि लगानी गर्ने आश्वासन दिएर काम सुरु भएपछि कुनै सहयोग नगरेकाले आसपासका बासिन्दा असन्तुष्ट रहेको उनले बताए ।

आयोजनाले भने स्थानीयका मागमा छलफल भइरहेको जनाएको छ । ‘स्थानीयका मागहरूमा विस्तृत छलफल भइरहेको छ । आज (सोमबार) विश्वकर्मा पूजा पनि परेकाले काम रोक्नुलाई अवरोध नभनौं,’ आयोजनाका सुपरभाइजर अनिल तिवारीले भने, ‘उठेका माग र गुनासाहरू व्यवस्थापनमा पुर्‍याएका छौं । व्यवस्थापनले लिने निर्णय स्थानीयवासीकै हितमा हुने विश्वास छ ।’ आयोजनाले आगामी बुधबार स्थानीयका कुरा सुन्न र आफ्ना कुरा भन्न सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिरहेको उनले बताए ।

अन्नपूर्ण गापा–५ को कुरिलाखर्कमा बाँध बनाई तीन किमि लामो सुरुङ र १ हजार २ सय मिटर पेनस्टक पाइपबाट पानी ल्याएर बेनी–जोमसोम सडकखण्ड नजिकको पोखरेबगरमा विद्युतगृह बनाउने योजना छ । २०७६ मंसिरभित्र निर्माण सम्पन्न गरिने भनिएको आयोजना थ्रीसी मोडलमा कन्सल्टेन्ट कन्ट्रयाक्टर हाइड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारका रूपमा साउथ एसिया इन्फ्रास्ट्रक्चर छन् ।

प्रकाशित : आश्विन २, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?