कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सम्झौता नै नगरी कालीगण्डकी दोहन

प्रकाश बराल

बागलुङ — कालीगण्डकी किनारको ढोडेनी, मालढुंगा र कालापातलमा ढुंगा, गिट्टी र बालुवा उत्खननका लागि नगरपालिकाले ठेक्का प्रक्रिया सुरु गरेको छ ।

सम्झौता नै नगरी कालीगण्डकी दोहन

यसैक्रममा ठेक्का पाउनेको अन्तिम नामावली सार्वजनिक गरिएको छ । सम्झौता गर्ने समय सोमबारदेखि खुला भएको छ । ठेकेदार कम्पनीहरू नगरपालिकामा सम्झौता गर्न आएका छैनन् ।

स्थानीय तहले साउन र भदौमा खोलाजन्य पदार्थ उत्खननमा रोक लगाएका थिए । ठेकेदारहरूले भने साउन–भदौदेखि नै धमाधम गिट्टी–बालुवा उत्खनन गरिरहेका छन् ।

जनस्तरबाट विरोध आउँदा अवैध उत्खनन गर्नेका सवारी साधन नियन्त्रण गरी प्रहरीले कारबाहीका लागि स्थानीय तहको जिम्मा लगाउने गरेको थियो । न्यूनतम जरिवानामा छाड्ने गरिएपछि प्रहरी पनि रोकथाममा उदासीन छ ।

अवैध उत्खनन गर्नेहरूले पहाड जत्रा थुप्रा बनाएर वर्षामा पनि बालुवा बिक्री गर्न छाडेका छैनन् । ‘जिल्ला समन्वय समितिले वातावरणीय प्रभाव मूल्यांकन गरेका स्थानमा हामीले टेन्डर खुलाएका हौं,’ बाग्लुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘सम्झौता गर्न आइनसकेकाले बालुवा झिकेका छैनन् भन्ने हाम्रो अनुमान हो ।’ स्थलगत निरीक्षण नभएकाले आफूले केही भन्न नसक्ने उनले बताए । ठेकेदारहरूले प्रतिबन्धित समयमा पनि उत्खनन र दोहन गरिरहेको बारे नगरपालिकाले बेवास्ता गरेको छ ।

‘मानवीय जोखिम र प्राकृतिक विपत्ति आउन सक्ने भएकाले साउन र भदौमा कानुनले नै उत्खननमा रोक लगाएको छ तर रोकिएको समयमा पनि नदी दोहन भइरहेको छ,’ अधिवक्ता राम शर्माले भने, ‘कानुनको दिनदहाडै उल्लंघन भइरहँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनिरहेको छ ।’ रातको समयमा समेत डोजर लगाएर बालुवा उत्खनन भइरहे पनि कारबाही गर्न सम्बद्ध निकाय अघि नसर्नु राम्रो नभएको उनले बताए ।

ठेकेदारहरूबाट रकम असुलेर चुप बसेको आरोपसमेत प्रहरीलाई लाग्ने गरेको छ । प्रहरी उपरीक्षक दीपक रेग्मी भने सूचना पाएर पटकपटक पक्राउ गरेर ल्याएको बताउँछन् ।‘पक्राउ गरेर ल्याउँदा ड्राइभर परेका छन्, पछि जरिवाना गराएर छाडिएको छ,’ उनले भने, ‘प्रतिबन्धित समयमा काम नगर्न पनि भनेका छौं ।’

पटक–पटक दोहन भएपछि उच्च अदालत पोखराको बाग्लुङ इजलासले पनि कानुन बनाउने र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?