कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भारतमा विद्युत् बिक्री गर्न समझदारीको तयारी

विजय तिमल्सिना

काठमाडौँ — नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित करिब १५ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले समझदारी गर्ने तयारी गरेको छ ।

भारतमा विद्युत् बिक्री गर्न समझदारीको तयारी

भारतको विद्युत् व्यापार निगम (एनभीभीएन) र प्राधिकरणबीच आयोजनाको विद्युत् बिक्रीका लागि सम्झौता हुनेछ । प्राधिकरणले एनभीभीएनसँगै अहिले ढल्केबर– मुजफ्फपुरमार्फत नेपाल विद्युत् भित्र्याइरहेको छ ।

७ सय मेगावाटको माथिल्लो अरुण र ८ सय मेगावाट क्षमताको दूधकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि भारतीय संस्थासँग समझदारी गर्न लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुवै आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि भारतीय पक्षसँग एक महिनाभित्र समझदारी हुने बताए । ‘अहिले छलफलको चरणमा छौं,’ उनले भने, ‘सम्भवत: एक महिनाभित्र समझदारी हुन्छ ।’

संखुवासभामा अवस्थित माथिल्लो अरुण आयोजनाको अध्ययन विस्तृत आयोजना अध्ययन भइरहेको छ । आयोजनाको डीपीआर तयार पार्न विश्व बैंकले सहयोग गरेको छ । यस्तै खोटाङ जिल्लामा निर्माण हुने दूधकोसी आयोजनाको एसियाली विकास बैंकको सहयोगमा अध्ययन भइरहेको छ ।

माथिल्लो अरुण २०४६ मा प्राधिकरणले प्रारम्भिक अध्ययन गरेको थियो । उक्त आयोजना निर्माण लागत तुलनात्मक रूपमा सस्तो हुने प्राधिकरणका आकलन छ । उक्त आयोजनाको डीपीआर तयार पार्न प्राधिकरणले चिनियाँ कम्पनीलाई अघिल्लो माघमा जिम्मा दिएको छ । आगामी वर्ष उक्त डीपीआर तयार हुने अनुमान छ ।


माथिल्लो अरुणलाई जलाशययुक्त आयोजना बनाउने प्राधिकरणको योजना छ । अरुण तेस्रो आयोजनाको बाँधस्थल रहेको संखुवासभाको फयाक्सिन्दा दोभानबाट २० किमिमाथि अरुण नदीमा आयोजना निर्माण हुनेछ ।

खोटाङको रबुवाघाटमा बन्ने बाँधबाट धितुङमा निर्माण गर्ने विद्युत् गृहसम्म सुरुङमार्फत पानी खसाली विद्युत् उत्पादन गर्ने योजना छ । जलाशययुक्त यो आयोजनाका लागि १३ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ । उक्त सुरुङ निर्माणका लागि भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग भएको जस्तै टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी गर्ने प्राधिकरणको योजना छ । सोहीअनुसार विस्तृत परियोजना प्रतिवेदन तयार पार्न प्राधिकरणले परामर्शदाता कम्पनीलाई निर्देशन दिइसकेको छ ।

नेपालमा बन्ने आयोजनाबाट उत्पादित विद्युत् किनेर बंगलादेशलाई बिक्री गर्ने योजनासहित एनभीभीएनले किन्न लागेको बताइएको छ । बंगलादेशले भारतीय कम्पनीले निर्माण गर्ने ९ सय मेगावाटको विद्युत् किन्ने गरी एनभीभीएनसँग समझदारी गरिसकेको छ । उक्त समझदारीअनुसार माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले उत्पादन गर्ने ५ सय मेगावाट विद्युत् एनभीभीएनले खरिद गर्नेछ र सोही विद्युत् बंगलादेशलाई बिक्री गर्नेछ ।

नेपाल र बंगलादेशबीच पनि अघिल्लो महिना ऊर्जा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । उक्त हस्ताक्षरमा बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने, नेपालका जलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् खरिद गर्नको लागि मार्गप्रशस्त गर्ने व्यवस्था उल्लेख गरिएको छ ।

बंगलादेशले दुई साताअघि मात्रै नेपालबाट सन् २०४० सम्ममा ९ हजार मेगावाट विद्युत् खरिद गर्ने योजना सार्वजनिक गरेको थियो । नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि भारतीय भूमि वा प्रसारण प्रणाली प्रयोग अनिवार्य छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल भित्र्याउने विद्युत् एनभीभीएनसँग खरिद गर्दै आएको छ । भारतीय सरकारले एनभीभीएनलाई नेपालसँगको विद्युत् व्यापारका लागि नोडल एजेन्सी तोकेको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?