कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेल टिमका अर्बपति मालिकहरू

दिनेश यादव

काठमाडौँ — मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारणचाहिँ पैसाले गर्दो रहेछ । अझ विश्वका धनाढयहरूको त कुरै बेग्लै । तिनीहरूसँग खर्च गर्न धेरै सम्पत्ति हुन्छ । त्यहीअनुसार खर्च पनि गरेकै हुन्छन् ।

खेल टिमका अर्बपति मालिकहरू

केहीले आफूले कमाएको सम्पत्तिबाट आलिसान महल बनाउँछन्, कोही निजी विमान र विलासिताका कारहरू खरिद गर्छन् । विमानमै दिनहुँ यात्रा गर्ने धनाढयहरू पनि छन् । मिडिया कम्पनीहरू खरिद वा लगानी गर्नेहरू पनि छन् । केही यीभन्दा फरक रुचिका अर्बपतिले आफ्नो सम्पत्तिको धेरै लगानी खेलकुद क्षेत्रमा गरेका छन् । विश्वकै चर्चित र प्रमुख प्रिमियर लिग स्पोर्टस टिमका तिनीहरू मालिक छन् ।

अमेरिकाको न्युयोर्कमा प्रधान कार्यालय रहेको बिजनेस पत्रिका ‘सिओवल्र्ड’ ले हालै विश्वभरका प्रमुख लिग खेल टिमहरूको सबैभन्दा धनाढय २० मालिकलाई सूचीकृत गरेको छ । तीमध्ये केही अर्बपति एकभन्दा बढी खेल टिमका मालिक छन् ।


पत्रिकाले अमेरिकी अखबार ‘फोर्ब्स’ को विश्वका अर्बपति सूचीमा रहेका २० जना सर्वाधिक धनाढयको आधारमा नामावली सार्वजनिक गरेको हो, जसको आफ्नै लिग स्पोर्ट टिम रहेको छ । ‘बिजनेस इन्साइडर’ पत्रिकाका अनुसार विश्वका ६२ जना अर्बपति विभिन्न स्पोटर्स टिमका मालिक छन् । तिनीहरूको कुल सम्पत्ति ३७५ अर्ब अमेरिकी डलर हुन आउँछ । स्पोर्टस टिमका धनाढयहरूमा ‘टप पाइभ’ मा परेकामध्ये तीन जनाचाहिँ धेरै टिमका मालिक छन् । तीमध्ये माइक्रोसफ्टका सहसंस्थापक पउल एलेन पनि एक हुन् । डाइट्रिच म्याटेस्चिट्ज र स्टाल्नी क्रोएन्के दुईभन्दा बढी स्पोर्टस टिमका मालिक हुन् । तिनीहरूले क्रमश: तीन र चार वटा टिम सञ्चालन गरिरहेका छन् । यो सूचीमा पुरुष धनाढयहरूको हालिमुहाली छ । सूचीमा चर्चित ‘लिटल कैसर्स पिज्जा’ का सहसंस्थापक म्यारिएन इलिचले मात्रै महिलाको प्रतिनिधित्व गरेकी छन् ।

फुटबलदेखि बास्केटबलका प्रिमियर लिग स्पोर्टस टिमका २० जना अर्बपति मालिकमा थाइल्यान्डका भिचाई श्रीभन्धानाप्रभादेखि भारतका मुकेश अम्बानीसम्म परेका छन् । अम्बानी त सूचीका सबैभन्दा माथि छन् । प्रिमियर लिग स्पोर्टस टिमका सबैभन्दा धनाढय मालिकसमेत हुन् अम्बानी । इन्डियन प्रिमियर लिग क्रिकेट क्लब ‘मुम्बई इन्डियन्स’ का मालिक हुन् । अम्बानीले लगातार तीन वर्षदेखि शीर्षस्थानमा रहेका माइक्रोसफ्टका पूर्वसीईओ स्टेभ बालमरलाई यो वर्ष उछिनेका छन् । ‘एनबी एज लसएन्जेलस क्लिपर’ का मालिक हुन्, बालमर । अम्बानीको कुल सम्पत्ति ४६ दशमलव ७ अर्ब अमेरिकी डलर (फोर्ब्सको रियल टाइम २० सेप्टेम्बर २०१८) रहेको छ । रियलान्स उद्योगहरूका मालिक उनको बुबा धिरुभाइ अम्बानीले एउटा साना टेक्सटाइल उद्योगबाट आफ्नो व्यापार सुरु गरेका थिए । आज तिनकै छोरा मुकेश विश्वका अर्बपतिको सूचीमा यो वर्ष ३२ औं स्थानमा रहेका छन् । ६१ वर्षीय अम्बानीको सम्पत्तिको स्रोत भनेको पेट्रोकेमिकल्स, तेल र ग्यास नै हो । अमेरिकाको स्टयान्डफोर्ड विश्वविद्यालयबाट ‘ड्रपआउट’ उनी भारतको मुम्बई विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक हुन् ।

‘लस एन्जेलस क्लिपर्स’ का मालिक तथा अमेरिकी अर्बपछि बालमर सूचीमा दोस्रो स्थानमा छन् । माइक्रोसफ्टका शक्तिशाली पूर्वसीईओको कुल सम्पत्ति ४३ दशमलव ३ अर्ब अमेरिकी डलर (रियल टाइम २० सेप्टेम्बर २०१८) रहेको छ । फोर्ब्सको सूचीमा २२ औं स्थानमा रहेका यिनी पनि स्टयान्डफोर्ट विश्वविद्यालयमा एमबीएको पढाइ बीचैमा छाडेर माइक्रोसफ्टको कर्मचारीका रूपमा काम गरेका थिए । ६२ वर्षीय यिनी सन् १९८० मा कम्पनीका कर्मचारीको वरीयतामा ३० नम्बरमा थिए । तर, आफ्नै श्रम र पौरखले विश्वका अर्बपतिको सूचीमा दरिएका छन् ।

यसैगरी लिग स्पोटर्स टिमका विश्वका सर्वाधिक धनाढय मालिकको सूचीमा अस्ट्रियाका डाएट्रिच म्यार्टेचिट्स तेस्रो स्थानमा छन् । यिनी तीन वटा विश्व चर्चित लिगका मालिक हुन् । यिनी मालिक रहेका टिमहरूमा ‘न्युयोर्क रेड बुल्स’, ‘रेल बुल्स रेसिङ’, ‘रेड बुल टोरो रोसो होन्डा’ रहेका छन् । आफ्नै परिश्रमबाट सञ्चालनमा ल्याएको ‘रेड बुल’ नै यिनको सम्पत्तिको स्रोत हो । यिनको कुल सम्पत्ति २५ दशमलव ३ अर्ब डलर (फोर्ब्सको रियल टाइम २० सेप्टेम्बर २०१८) रहेको छ । सन १९८७ मा थाई व्यापारी च्यालिओ युभिध्यासँग मिलेर इनर्जी ड्रिंक उत्पादन गर्ने कम्पनी खोलेका थिए । आफ्नै कम्पनी खोल्नुभन्दा अगाडि यिनी जर्मन उपभोग्य वस्तुका उत्पादन गर्ने एउटा कम्पनी ‘ब्लेन्डयाक्स’ का एक जना साधारण कर्मचारी थिए । उनले बजार हेर्ने जिम्मेवारी पाएका थिए । उक्त कम्पनीले स्याम्पु उत्पादन गर्छ । अर्थात् उनी बजारमा स्याम्पुको व्यापार प्रवद्र्धन गर्ने गर्थे । युभिध्याको ‘क्राटिङ डाएङ’ को स्वाद चाखेपछि उनी ‘इनर्जी ड्रिंक’ कम्पनी खोलेका हुन् । आज उनको कम्पनीले गरेको प्रगति धेरैका लागि एउटा ‘रोल मोडल’ को भूमिकामा रहेको छ । डायट्रिचको कम्पनीले अघिल्लो वर्ष मात्रै रेड बुलका ६ दशमलव ३ अर्ब क्यान बेचेर ८० प्रतिशतभन्दा बढी मुनाफा कमाउन सफल भएको ‘इन्साइडर बिजनेस’ ले जनाएको छ । ७४ वर्षीय यिनी विश्वका अर्बपतिको सूचीमा ३७ औं स्थानमा छन् । भिएना विश्वविद्यालयबाट एमबीएसम्मको शिक्षा हासिल गरेका यिनी हाल एक्लो जीवन बिताउँछन् । यिनले पढाइ सकेर युनिलिभरमा मार्केटिङ कर्मचारीका रूपमा समेत काम गरेका थिए । यसले पनि उनको व्यापारलाई प्रवद्र्धन गर्न सहयोग पुगेको थियो । यिनका आमाबुबा दुवैजना प्राथमिक विद्यालयका शिक्षक थिए । सानो छँदा यिनका आमाबुबा आपसमा छुट्टिएका थिए । यसले यिनलाई केही कठिनाइको समेत सामना गर्नुपरेको थियो । तर, पनि यिनी सफल भएकै छन् ।

त्यस्तै सूचीमा अमेरिकी अर्बपति पउल एलेन चौथो स्थानमा छन् । यिनी ‘पोर्टल्यान्ड ट्रेल ब्लेजर्स र ‘सिएटल सिहक्स’ का मालिक हुन् । यिनको कुल सम्पत्ति २० दशमलव ५ अर्ब डलर (फोर्ब्सको रियल टाइम २० सेप्टेम्बर २०१८) रहेको छ । सम्पत्तिको स्रोतचाहिँ माइक्रोसफ्ट र विभिन्न कम्पनीमा लगानी नै रहेको छ । सन् १९७५ मा यिनी स्कुले साथी बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट कम्पनी खोलेका थिए । माइक्रोसफ्टमा ८ वर्ष काम गरेका एलेन गम्भीर रोगले थला परेपछि कम्पनी छाडेका थिए । यिनीमा दुई पटकसम्म क्यान्सरको पहिचान भएको थियो तर रोगमाथि विजय हासिल गर्न यिनी सफल भए । ६५ वर्षीय एलेन यो वर्षको विश्वका अर्बपतिहरूको सूचीमा ४४ औं स्थानमा रहेका छन् । यिनी वासिङटन स्टेट विश्वविद्यालयबाट ड्रप आउट भएका थिए ।

सूचीको ५ औं स्थानमा अमेरिकाकै फिलिप अन्सचुज रहेका छन् । यिनी लस एन्जेलस किङस, एलए ग्यालेक्सी टिमका मालिक हुन् । यिनको कुल सम्पत्ति ११ दशमलव ३ अर्ब डलर (रियल टाइम २० सेप्टेम्बर २०१८) रहेको छ । यिनले तेल, रेलमार्ग, टेलिकम, रियल स्टेट र मनोरञ्जनलगायत क्षेत्रमा लगानी गरी सम्पत्ति कमाएका हुन् । ७८ वर्षीय यिनी विश्वका धनाढयको ‘फोर्ब्स’ सूचीमा यो वर्ष १०८ औं स्थानमा छन् ।

सूचीमा ‘सान जोसे साक्र्स’ का मालिक जर्मनीका हयासो प्लाटनर छैठांै स्थानमा छन् । उनी आफ्नै सफ्टवेर कम्पनीबाट १२ दशमलव ७ अर्ब डलर सम्पत्ति कमाउन सफल भएका छन् । सातौं स्थानमा रसियाका रोमान अब्रामोभिच रहेका छन् । चेल्सी एफसीका मालिक यिनको कुल सम्पत्ति १० दशमलव ८ अर्ब डलर रहेको छ । यिनको सम्पत्तिको स्रोत आफैंले सञ्चालन गरको स्टिल र अन्य लगानी क्षेत्र रहेको छ । सूचीमा अमेरिकी अर्बपति तथा मियामी हिट टिमका मालिक मिक्की एसिसन, रसियाका ब्रुकलिन नेट्स टिमका मालिक मिखाइल प्रोखोरोभ र अमेरिकाकै लस एन्जेलस र्‍याम्स, आर्सेनल, डेनभर न्युगेट्स, कोलोराडो टिममा मालिक स्टयान्ली क्रोएन्के क्रमश: आठौं, नवौं र १० औं स्थानमा रहेका छन् । (स्रोत : एजेन्सीहरू)
तस्बिरहरू : एपी/रोयटर्स

प्रकाशित : आश्विन ६, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?