१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अदुवाले बजार पाउन थाल्यो

प्रकाश बराल

बागलुङ — अघिल्लो वर्ष मूल्य र बजार नपाएर बारीमै राखेका बिहुँका चिन्तामणि कँडेल र रामप्रसाद कँडेलले यो वर्षको थप उत्पादनसहित बिक्री गर्न थालेका छन् । भाउ नपाएकाले नखनेर अदुवा बारीमै राखेका उनीहरूले यसपटक भने सोचेजस्तो मूल्य पाएको बताए ।

अदुवाले बजार पाउन थाल्यो

पूर्ण विकसित नभएपछि अघिल्लो वर्षकामा मिसाएर बेच्दा किसानले बारीमै प्रतिकेजी ८० रुपैयाँ पाएका छन् । अघिल्लो वर्ष १५ देखि २० रुपैयाँमा किन्न खोज्नेलाई उनीहरूले नदिएर बारीमै राखेका थिए ।

‘माग नआएपछि डोकोमा बोकेर बजार झर्दा पनि मूल्य नपाएपछि बारीमै राखेको थिएँ, अहिले मूल्य पाएकाले अरूको पनि खोजी गर्दै छु,’ कँडेलले भने, ‘अघिल्लो वर्षको घाटा यही समयमा पूरा गर्ने योजना छ ।’

बाग्लुङ बजारका होलसेल व्यवसायीले ८० रुपैयाँमा किसानको बारीबाट ल्याएर १ सयमा बिक्री गरिरहेका हुन् । सदरमुकामस्थित होलसेल व्यवसायी गोपाल कँडेलले किसानको उत्पादनलाई उचित मूल्य दिएर खरिद गरेको बताए ।

बिहुँका किसानले २ देखि १० क्विन्टलसम्म अदुवा उत्पादन गर्छन् । बिक्री नभएको वर्ष उनीहरूले बारीमै राख्न बाध्य छन् । भारत निकासी हुने अदुवा माग नभएपछि होलसेल व्यवसायीले पनि किसानबाट माग नगर्दा अघिल्लो वर्ष बारीमै रहेको थियो । ‘लाखौंको अदुवा कुहाएर फाल्नुभन्दा मूल्य बढेको बेला बेच्ने योजना छ,’ अर्का किसान धनपति निउरेले भने, ‘पोहोरको घाटा पूरा गर्न पाए हुन्थ्यो ।’ खनेर थुपार्दा कुहिने डर भएकाले कतिपय बारीमै राखेको र केही सुठो बनाएको उनले बताए । मूल्य पाउँदा निउरेले बर्सेनि २ लाख रुपैयाँसम्मको अदुवा बेच्थे । काठेखोलाको वडा नं. ५ र ६ मा मात्र झन्डै दुई सय किसानले अदुवा खेती गर्दै आएका छन् । केहीले सुकाएर सुठो बनाएर राखेका छन् भने अधिकांश किसान बारीबाटै बेच्छन् ।

विशेषगरी यहाँका किसानले बारीमा सुन्तला र अदुवा लगाउने गरेका छन् । सुन्तला बारीमा अदुवा राम्रो उत्पादन हुन्छ । बोसे जातको अदुवा लगाउँदा राम्रो उत्पादन पनि हुन्छ । भारतले अदुवा खरिदमा रोक लगाउँदा किसान मारमा पर्ने गरेका छन् । यहाँका किसानको उत्पादन भने पोखरा, बुटवललगायतका ठूला व्यपारीले खरिद गर्थे । ठूला व्यपारीमार्फत भारतका बजारमा पुग्ने गरेको थियो । यो वर्ष पनि ठूला व्यपारी भने आएका छैनन् ।

सदरमुकामका होलसेल व्यपारीले खरिद गरेर बिक्री गराउँदा पनि उनीहरूले राहत महसुस गरेका हुन् । अदुवाकै अत्यधिक उत्पादन हुने दगातुम्डाँडा, ग्वालीचौरलगायतका गाउँका किसानले भने बुटवल पठाएको बताए । ट्रक लिएर आउने व्यापारीले बुटवल लगेर बिक्री गर्दा राम्रो आम्दानी लिन पाएको किसानको भनाइ छ ।

बिहुँमा भने कफी खेती गरेका किसान पनि अदुवातर्फ आकर्षित भएका छन् । बिहुँमा मात्र ४० लाख रुपैयाँको अदुवा बिक्री भएको अर्का किसान बालानन्द कँडेलले सुनाए । गाउँपालिकाले उत्पादन बढाउने काममा किसानलाई अनुदान र प्राविधिक सहयोग गर्ने कार्यक्रम बनाएको छ ।

बजारीकरणका लागि पनि ठूला व्यवसायीको खोजी भइरहेको अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । ‘उत्पादन बढाउने अभियानमा सहयोग गरेका छौं, अदुवाको बजारबारे भने अध्ययन गरेर सहयोग गर्छौं,’ उनले भने, ‘स्वदेशी र विदेशी बजारको खोजी गरेर मर्का परेका किसानलाई अनुदानमा साथ दिन्छौं ।’ गत आवमा तत्कालीन कृषि विकास कार्यालयले प्रकाशित गरेको बुलेटिनअनुसार जिल्लाको ९० हेक्टर जमिनमा लगाएको अदुवाबाट १ हजार १ सय २१ टन व्यावसायिक उत्पादन हुन्छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?