किसानको रोजाइमा अलैंचीका दुई प्रजाति

आश गुरुङ

लमजुङ — यहाँ ६ प्रजातिका अलैंची खेती गरिएको छ । किसानको रोजाइमा भने ‘रामसाई’ र ‘गोलसाई’ छन् । ग्रामीण बस्ती नजिकै, सामान्य उचाइ तथा वातावरणमा हुने भएपछि किसानको रोजाइ यी दुई प्रजातिमा परेका हुन् ।

किसानको रोजाइमा अलैंचीका दुई प्रजाति

हाल ‘गोलसाई’ अलैंची टिप्ने कार्य सुरु भएको छ । त्यसपछि ‘रामसाई’ अलैंची टिप्ने कार्य सुरु हुने किसानहरू बताउँछन् ।

उनीहरूका अनुसार ग्रामीण भेगको १ हजार २ सयदेखि १ हजार ५ सय मिटरसम्म यी दुई प्रजातिका अलैंची खेती हुन्छ । बेंसीसहर नगरपालिका १०, खाँचेका अलैंची किसान सोमबहादुर तामाङका अनुसार गाउँ पेरिफेरीकै उचाइमा हुने भएकाले गाउँलेले यी प्रजाति लगाएका छन् । ‘हामी गोलसाई अलैंची टिप्ने कार्यमा जुटेका छौं । यो सकिएपछि रामसाईको टिप्न थाल्नेछौं,’ उनले भने । उनका अनुसार ‘रामसाई’ असोजको अन्तिमतिर मात्रै टिप्ने योग्य हुन्छ । त्यसपछि १ हजार २ सयदेखि करिब २ हजार मिटर उचाइमा हुने ‘भर्लांगे’ प्रजातिका अलैंची टिप्न सकिने उनले बताए ।

किसानका अनुसार ७ सयदेखि १ हजार मिटर उचाइमा हुने बेंसी खेतमा रोपिएका ‘साउन्ने’, ‘जिर्मले’ र ‘डम्मरसाई’ प्रजातिका अलैंची टिप्ने कार्य भने सकिएको छ । यसलाई टिपेर सुकाइवरी थन्क्याइसकिएको मस्र्याङ्दी गाउँपालिका ७ ताराचोक सेराका किसान डम्मरसिंह अधिकारीले बताए । ‘तल्लो भेगका अलैंची टिपेर सकियो । अब माथिल्लो भेगको अलैंची टिप्न सुरु भएको छ,’ उनले भने । क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङका किसान ईश्वर गुरुङले रामसाई’ र ‘गोलसाई’ प्रजातिका अलैंची किसानले बढी मात्रामा खेती गर्ने गरेको बताए । ‘हाम्रो जस्तो ठाउँमा यी दुई प्रजाति नै ठीक छ । अहिले हामी अलैंची टिप्नमै व्यस्त छौं,’ उनले भने ।

किसानले प्राय: दसैंअगाडि अलैंची टिप्ने गर्छन् । ‘रामसाई’ र ‘गोलसाई’ अलैंची टिप्ने कार्य भने दसैंपछि मात्रै सकिने किसानले बताएका छन् । उनीहरूले दसैं र तिहारको बीचमा अलैंची बिक्री गर्ने योजना बनाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) सञ्चालक समितिका संयोजकसमेत रहेका अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले ग्रामीण भेगका किसान धेरैजसोले यी दुई प्रजाति लगाएका छन् ।

धेरै गर्मी र धेरै चिसो पनि नहुने ठाउँमा यी दुई प्रजातिका अलैंची रोपिएका छन् । किसानका अनुसार बेंसी र लेकबीचको क्षेत्रमा हुने भएकाले यसका लागि खासै सिँचाइ र मलखादको आवश्यक पर्दैन । ‘बेंसीको गर्मी र माथिल्लो भेगको लेकमा जाडो हुने भएकाले किसानले नजिकै अलैंची लगाउन चाहन्छन् । त्यसैले पनि यी दुई प्रजातिमा किसानको मन गएको छ,’ तामाङले भने ।

अलैंची जोन कार्यालयका अनुसार गत वर्ष ९ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको थियो । ६ सय ५ हेक्टरमा ७ सय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो । यस वर्ष थप १ सय ६ हेक्टरमा अलैंची खेती गरिएको छ । यस वर्ष ८ सय हेक्टरमा अलैंची फल्ने अनुमान प्राविधिकहरूले गरेका छन् ।

अलैंची जोनका वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाका अनुसार किसान अहिले अलैंची टिप्न र सुकाउन व्यस्त छन् । ‘किसान अलैंची टिप्न व्यस्त छन् । दसैंताका झन् चटारो हुन्छ,’ उनले भने । उनका अनुसार किसानले अलैंची टिप्नेबित्तिकै सुकाउने गरेका छन् । यसको वास्तविक स्वादको बास्ना कायम रहन र बिग्रन नदिन किसानले तत्काल सुकाउने गरेका हुन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?