कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कारोबार २५ प्रतिशतले बढयो

काठमाडौँ — यो साता सेयर बजारमा २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । चार दिनको व्यापारमा २७ हजार ७ सय कारोबारमा १ सय ८९ कम्पनीका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयर किनबेच भए । कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो ।

कारोबार २५ प्रतिशतले बढयो

गत साता करिब २३ हजार ६ सय कारोबारमा १ करोड २ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त खरिद बिक्रीबाट २ अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

साप्ताहिक बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १०.२३ अंकले बढयो । तर, साताको पहिलो दिन (आइतबार) को तुलनामा नेप्से परिसूचक करिब साढे एक अंकले ऋणात्मक देखिन्छ । आइतबार १ हजार २ सय ५६.५३ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार २ सय ५५.०७ विन्दुमा छ ।

साताको कुल कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहको हिस्सा झन्डै ५२.४२ प्रतिशत छ । नेप्सेमा सूचीकृत विभिन्न समूहहरूमध्ये सामान्य अवस्था करिब ४५ देखि ५० प्रतिशत कारोबार हिस्सा बैंकिङ समूहले ओगट्दै आएको छ । तर, अघिल्लो साता बजारमा बेग्लै प्रवृत्ति देखियो । कुल कारोबारमा बंैकिङ समूहको हिस्सा बढेर ५९.५१ प्रतिशत पुग्यो । यसको अर्थ वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको भन्नु थियो । उक्त प्रवृत्तिमा यो साता भने सुधार आएको छ । कुल करोबारमा बैंकिङ समूहको हिस्सा गत साताको तुलनामा घटेर साढे ५२ प्रतिशत छ ।

वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढ्नुको प्रमुख कारण नै ती कम्पनीहरूको सुध्रिँदो वित्तीय अवस्था हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरूको व्यावसायिक विस्तार तथा कार्यक्षमता हेर्दा पहिलो त्रैमासमा पनि राम्रो वित्तीय विवरण आउने अनुमानहरू गरिन थालेका छन् । यसले लगानीकर्ताहरूमा उत्साह थपेको सेयर ब्रोकरहरू बताउँछन् । ‘अहिले वाणिज्य बैंकहरूको सेयरमा गरिने लगानीको जोखिम कम छ,’ एक ब्रोकरले भने, ‘यी कम्पनीहरूको सेयर मूल्य कम हुनुका साथै थोरै–धेरै प्रतिफल निश्चितजस्तै छ ।’ यसकारण पनि ती कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण रहेको उनको दाबी छ ।

साताको कुल कारोबारमा बिमा समूहको हिस्सा १५.८४ प्रतिशत छ । गत साता यो समूहको यस्तो हिस्सा करिब ८ प्रतिशत थियो । यसैगरी कुल साप्ताहिक कारोबारमा विकास बैंकको हिस्सा ६.८ प्रतिशत, संस्थापक सेयरको ६.९७ प्रतिशत र लघुवित्त कम्पनीको हिस्सा ७.०७ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।
साप्ताहिक कारोबारमा होटल र वित्त कम्पनीबाहेक सबै समूहका परिसूचक घटे । लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा उत्पादन तथा प्रशोधनलगायत समूहको परिसूचक उच्च अंकले बढे ।

यो साता कारोबार रकम (१९ करोड ९० लाख ५० हजार रुपैयाँ) का आधारमा एनएमबी बैंक सबैभन्दा अघि छ । कारोबार सेयर संख्या (५ लाख ५३ हजार कित्ता) र कारोबार संख्या (१ हजार ४ सय ५७ वटा) का आधारमा पनि एनएमबी बैंक नै अग्रस्थानमा रहेको नेप्सेको तथ्यांक छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रहयो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । उक्त अवधिमा देव: विकास बैंकको २४ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?