कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चिया किसानका आफ्नै कारखाना

काँकडभिट्टा — किसानले आफ्नै कारखाना सुरु गरेपछि चियापत्तीको उचित मूल्य पाउन थालेका छन् । आफ्नो उत्पादन आफैं प्रशोधन गर्न उनीहरूले कारखाना स्थापना गरेका हुन् ।

चिया किसानका आफ्नै कारखाना

आफ्नै कारखाना भएपछि उद्योगीसँगको मूल्यलगायत कुरामा विवाद नहुने साथै बिचौलियाको कमिसन खेल बन्द भएको साना किसान चिया सहकारीका सचिव पर्वत डाँगीले बताए ।

झापा पृथ्वीनगरका साना किसानले ४ वर्षअघि कारखाना संचालनमा ल्याएका थिए । बाहुनडाँगीका किसानले कारखाना सुरु गरेको महिना पुगेको छ । पाराखोपी चिया किसान चिया सहकारीले पनि असारदेखि कारखाना सञ्चालनमा ल्याएको छ ।

साना किसान चिया उत्पादक सहकारी हल्दीवारीले घटस्थापनाबाट कारखानाबाट उत्पादन सुरु गर्ने अध्यक्ष हर्कबहादुर तामाङले बताए । विगतमा साना चिया किसानले हरियो पत्तीको मूल्य नपाएको गुनासो गर्थे । हरियो पत्तिको मूल्यलगायत समस्यालाई सम्वोधन गर्न सरकारले आर्थिक वर्ष २०७१/७२ मा झापाका चार साना चियालाई आफ्नै कारखाना निर्माणका लागि अनुदान गर्ने निर्णय गरेको थियो ।

चिया प्रशोधन निर्माण परियोजना ५०/५० कार्यक्रम अन्तर्गत जिल्लाका चारवटा साना चिया किसान सहकारीका लागि सरकारले करिब १५ करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ । कारखानाहरूमा ३५ करोडभन्दा बढी लगानी भइसकेको छ ।

चार वटै सरकारीले एकै पटक कारखाना निर्माण सुरु गरेका थिए । तर, पृथ्वीनगरको साना किसान कृषि सहकारी संस्थाले चार वर्षअघि नै कारखाना निर्माण गरी उत्पादन बेच्न थालेको छ । संस्थाका प्रवन्धक देवीप्रसाद कोइरालाका अनुसार सरकारबाट प्राप्त ३ करोड १० लाख, संस्थाका सेयर सदस्यहरूको २ करोड र बाँकी करिब ३ करोड संस्थाको लगानीमा कारखाना सञ्चालन गरिएको हो ।

‘कारखाना सञ्चालनको उद्देश्य नाफा लिनेभन्दा पनि किसानलाई लाभ दिने नै हो,’ कोइरालाले भने । उनका अनुसार संस्थामा करिब २ सय किसान आबद्ध छन् । दैनिक ४ लाख ५६ हजार किलो चिया प्रशोधन भइरहेको छ । ‘पाँच किलो हरियो चिया पत्ती बराबर एक किलो चिया उत्पादन हुन्छ,’ उनले भने ।झापा मेचीनगर, बाहुनडाँगीको शुभ चिया किसान सहकारीले भने एक महिनाअघि मात्रै उत्पादन थालेको छ ।

सहकारीका अध्यक्ष शमशेरबहादुर खड्काका अनुसार विभिन्न प्राविधिक समस्याका कारण समयमा कारखाना निर्माण गर्न नसकिएको बताए । उनका अनुसार यो भेगमा करिब अढाई सयभन्दा बढी चिया किसान सहकारीमा आबद्ध छन् । विगतमा सस्तोमा पत्ती बेच्नुपर्ने बाध्यता थियो । ‘हाम्रो संस्थाले किसानका पत्तीलाई न्यूनतम १५ रुपैयाँ तिरेर खरिद गर्न थालेको छ,’ खड्काले भने । उनका अनुसार कारखाना निर्माणपछि करिब ३ सय किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।संस्थाका प्रबन्धक सचिन निरौलाले किसानले आफ्नो पत्तीको मूल्य आफैं निर्धारण गर्न पाउने परिपाटी सुरु भएको बताए ।

‘हाम्रो उद्देश्य किसानलाई मालिक बनाउने हो,’ निरौलाले भने, ‘उत्पादन, बिक्रीलगायतका सबै काम किसान आफैंले गरिरहेका छन् ।’ कारखाना करिब १ बिघा क्षेत्रमा फैलिएको छ ।

बजार खोज्दै
किसानका कारखानामा उत्पादित चियाले बजार पाउन कठिन भइरहेको छ । ‘हामी बजारको अध्ययनमा व्यस्त छौं,’ पाराखोपी चिया कारखानाका सचिव डाँगी भन्छन्, ‘मालिकहरूका कारखानाबाट उत्पादित चियासँग किसानका चियाले प्रतिस्पर्धा गर्न गाह्रो रहेछ ।’ शुभ चिया किसान सहकारीका प्रबन्धक सचिन निरौला पनि बजारमा चिया बिक्रीबारे संस्थाले अध्ययन सुरु गरेको र आन्तरिकसहित बाहय बजारको खोजीमा लागेको बताए । चिया आन्तरिक खपतसँगै भारत तथा तेस्रो देश निर्यात हुन्छ ।

पूर्वमा करिब २ करोड ५० लाख किलो चिया उत्पादन हुन्छ । १ करोड ५९ लाख किलो सीटीसी र बाँकी अर्थोटक्स चिया उत्पादन भइरहेको छ । ९० प्रतिशत अर्थोडक्स तेस्रो देश जान्छ । ६० प्रतिशत सीटीसी चिया भारत निर्यात भइरहेको छ । झापा र इलाममा साना ठूला गरी सयभन्दा बढी चिया कारखाना छन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?