मौज्दात सवारी साधनमा पनि कर

विनोद भण्डारी

विराटनगर — इटहरीस्थित यातायात व्यवस्था कार्यालयले गोदाममा मौज्दात रहेका सवारीका साधनको समेत नियम विपरीत सवारी कर लिन सुरु गरेको छ । यसले खरिद र बिक्री गर्ने दुवै पक्ष मर्कामा परेका छन् ।

मौज्दात सवारी साधनमा पनि कर

यातायात नियमावलीको सवारी कर ऐनमा मौज्दातमा रहेका सवारीका साधनमा यस्तो कर नलाग्ने भनिएको छ । यसअघि यातायातका साधन गोदामबाट बिलिङ भएर सडकमा गुड्न थालेपछि मात्र सवारी कर लिँदै आएको थियो ।

चालु आर्थिक वर्षदेखि यातायात व्यवस्था कार्यालयले भन्सार महसुल र मूल्य अभिवृद्धि कर तिरेर मौज्दात राखिएका सवारी साधनबाट सवारी कर लिन थालेको हो ।

‘मेरो पसलमा ९६ वटा स्कुटीको मौज्दात छ, तिनको पनि अग्रिम सवारी कर तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ महावीर अटोमोबाइल्सका प्रबन्धक ओम शर्माले भने, ‘बिक्री र बिलिङ नै नभएका सवारी साधनको पनि सवारी कर तिर्नुपर्ने बाध्यता छ ।’ यातायात व्यवस्था कार्यालयले १२५ सीसीसम्मको मोटरसाइकलको २ हजार ८ सय र १२५ सीसीदेखि २५० सीसीसम्मको मोटरसाइकलमा ४ हजार ५ सय रुपैयाँसम्म सवारी कर लिँदै आएको छ । योभन्दा बढी सीसीका सवारी साधनको कर अझ बढी तिर्नपर्ने हुन्छ ।

यातायात कार्यालयको पछिल्लो व्यवहारले गोदाममा स्टक रहेका सवारीका साधनको हरेक वर्ष बिक्रेताले सवारी कर तिरेर ग्राहकलाई बिक्री गर्दा असुल्नु पर्ने बाध्यता रहेको शर्माले बताए । एक वर्षभन्दा बढी समय मौज्दात रहेका साधनको पनि सवारी कर लिन सुरु गरिएको यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख कृष्णप्रसाद भुसालले जनाए ।

सवारीका साधन लामो समयसम्म मौज्दात राख्दा राज्य ठगिने अवस्था आएपछि कर लिन सुरु गरिएको उल्लेख गर्दै भुसालले भने, ‘सवारीका साधन १२ वर्षसम्म मौज्दात राखेको पाइएको छ ।’ एक वर्षसम्म मौज्दात राख्न पाइने भन्दै उनले एक वर्षसम्ममा मौज्दात नसकिए बाँकी रहेको साधन आन्तरिक राजस्व कार्यालयबाट पुष्टि गराएर ल्याए त्यसको कर नलाग्ने बताए । त्यसबाहेक अन्यका हकमा कर लाग्ने उनको भनाइ छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?