१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मुस्ताङको स्याउ किलोको २ सय

बेनी–जोमसोम खण्डको सडक अवरुद्ध भएका बेला भरिया र खच्चडबाट झारिएकाले ढुवानी लागत बढी परेपछि स्याउ महँगो
प्रकाश बराल

बागलुङ — डेढ सातादेखि बाढीपहिराले अवरुद्ध बेनी–जोमसोम सडकको अवरोध हटाइएसँगै म्याग्दी र बागलुङका बजारमा मुस्ताङका स्याउ आइपुगेका छन् ।

मुस्ताङको स्याउ किलोको २ सय

मुस्ताङे स्याउको बजार मूल्य यतिबेला प्रतिकेजी २ सय रुपैयाँ छ । यहाँका थोक व्यापारीले १ सय ५० रुपैयाँसम्ममा भित्र्याएको स्याउ उपभोक्ताले खरिद गर्दा २ सय रुपैयाँ परेको हो । केही खुद्रा पसलमा अझै बढी मूल्यसम्म पर्ने उपभोक्ताले गुनासो गरेका छन् ।


मुस्ताङमै पुग्दा सस्तो दरमा पाए पनि बेनी–जोमसोम खण्डको सडक अवरुद्ध भएका बेला भरिया र खच्चडबाट झारिएकाले ढुवानी लागत बढी परेपछि महँगो हुनु स्वाभाविक रहेको तरकारी तथा फलफूल व्यवसायी संघका सदस्य एवं थोक विक्रेता गोपाल कँडेलले बताए । ‘हामीले १ सय ८० रुपैयाँसम्ममा बिक्री गरेका छौं । खुद्रामा उपभोक्ताले अझै महँगो तिरेका होलान्,’ उनले भने, ‘भारतीय र चिनियाँ स्याउको तुलनामा मुस्ताङको महँगो छ । मूल्य महँगो भए पनि मुस्ताङको स्याउ एकै प्रकारका ग्रेडिङ मिलेका छैनन् ।’


हरियो र पाकेको सँगै राख्ने कारणले बजारमा सहज बिक्रीमा समेत समस्या भएको उनले बताए । ‘मुस्ताङकै खोज्नेले पनि रातो रङ र ठूलो आकारका मात्र खोज्छन् तर हामीले साना ठूला मिलाएर ल्याएका छौं,’ उनले भने, ‘बाटो सजिलो भएर ढुवानी लागत घटेपछि स्याउ पनि सस्तिन्छ ।’ कार्टुनमा ल्याएपछि सोझै भुइँमै लडाउनुपर्ने भएकाले मुस्ताङको स्याउ छिटो बिग्रने उनले बताए ।


भारत र चीनबाट आएको स्याउको भने राख्ने कार्टुन र ग्रेड मिलाएर राख्ने सामानसहित आउँछ । आयातित स्याउ हेर्दा पनि आकर्षक हुन्छन् । यात्रामा लैजाने, घरमा लगेर केही समय राख्न खोज्नेलाई मुस्ताङको स्याउको भण्डारण असहज भएको विक्रेतासमेत बताउँछन् । ‘चाडपर्व र घरमा लगेर खानका लागि पनि सबैले मुस्ताङकै स्याउ रोज्छन् तर राख्ने कार्टुनको भने अभाव छ,’ संघका अध्यक्ष धु्रवप्रसाद शर्माले भने, ‘अन्य फलफूल बजारमा नभएकाले स्याउको विकल्प पनि छैन ।’ सबैले स्याउ खोज्ने र सकेसम्म मुस्ताङकै छानेर लैजान खोज्दा आपूर्ति बढेसँगै व्यापार पनि बढ्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘अप्ठयारो सडकका कारण ढुवानी लागत बढेको छ ।’


त्यसो त मुस्ताङका स्याउ कृषकले तीजदेखि नै स्याउ टिप्न थालेका थिए । परिपक्व नहुँदै टिपिएका केही लट हजारमा पठाएपछि बाढीपहिराले बेनी–जोमसोम सडक अवरुद्ध भयो । खण्डखण्ड गरी करिब ५ सय मिटर सडक बिग्रिएकै अवस्थामा नाफा हुने भन्दै व्यापारीले भरिया र खच्चडमा ढुवानी गराएर पनि केही खेप स्याउ ल्याए । गत आइतबार साँझबाट बिग्रिएका ठाउँमा नयाँ ट्रयाक खोलिए पनि मालबाहक सवारीमा ढुवानी गराएर मुस्ताङका स्याउ तल्लो क्षेत्रमा झार्न अझै एक साता लाग्ने अवस्था छ ।


निरन्तर वर्षा भएकाले मेवालगायतका अन्य फलफूल पनि बजारमा आएका छैनन् । जिल्लाभित्र उत्पादन हुने फलफूल नभएपछि सबै बाहिरैबाट ल्याउनुपरेको खुद्रा व्यवसायी कमला शर्माले बताइन् । यहाँका व्यवसायीले तरकारी र फलफूलमा आ–आफैंले मूल्य तोकेका छन् । मूल्यसूची राख्ने परम्परा नबस्दा फलफूलमा उपभोक्ता ठगिएको गुनासो पनि छ ।


व्यवसायी भने अघिल्लो वर्षको तुलनामा खरिदमै महँगो परेकाले बजार भाउ महँगो भएको दाबी गर्छन् । उपभोक्ता मञ्चले दसैंका लागि खाद्यान्न, फलफूल र दैनिक उपभोग्य वस्तुको मूल्यसूची राख्न आग्रह गर्दै बजार अनुगमन गर्ने तयारीमा रहेको अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । ‘फलफूलमा पनि मूल्य धेरै भएको पायौं,’ उनले भने, ‘कालोबजारी, गैरखाद्यवस्तु बिक्री, गुणस्तरहीन वस्तुको खरिद–बिक्री गर्नेलाई कारबाही गर्न प्रशासनलाई आग्रह गरेका छौं ।’ बजारमा एउटा वस्तुको मूल्य एकै प्रकारको बनाउन पहल गर्ने उनले बताए । सदरमुकामबाहेकका अन्य बजार क्षेत्रमा भने ढुवानीको थप जटिलताले महँगी बढेको छ ।


मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोर भएर पुगिने बजारमा सडक समस्याको कारण महँगी अझै बढेको छ । बिग्रेका सडक अझै मर्मत नहुँदा धेरै सामान पिठयुँमा बोकेर ओसारपसार गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?