१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

१ अर्ब १२ करोडको सेयर कारोबार, कारोबार रकम एक अर्ब नाघ्यो 

काठमाडौँ — मंगलबार सेयर बजारमा १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो केही महिनायताकै उच्च कारोबार हो । विगतमा एकैदिन २ अर्बभन्दा बढीको पनि कारोबार भएको थियो । पछिल्ला महिनामा कारोबार रकम धेरैले घटेको थियो । एक दुई सातायता कारोबार रकम पनि बिस्तारै बढदै गएको छ ।

१ अर्ब १२ करोडको सेयर कारोबार, कारोबार रकम एक अर्ब नाघ्यो 

यही क्रममा मंगलबार सेयर बजारमा १ अर्ब १२ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


कारोबार रकमसँगै मंगलबार नेप्से परिसूचक २२.३७ अंकले बढेको छ । दिनभरिको कारोबारमा ‘अन्य’ बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । परिसूचक बढेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर १५ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।


उक्त दिन कारोबार सुरु भएदेखि बढेको बजार एक घण्टापछि केही सम्हालिए पनि अन्त्यसम्म नै उकालो लागि रहयो । करिब १० हजार १ सय कारोबारबाट १ सय ७३ कम्पनीका ४४ लाख १७ हजार २ सय ३० कित्ता सेयर किनबेच भए । उक्त दिन कारोबारमा आएकामध्ये १ सय २० कम्पनीको सेयर मूल्य बढयो, ३५ कम्पनीको सेयर मूल्य घटयो र बाँकी १८ कम्पनीको सेयर मूल्य स्थिर छ ।


पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) सहज भएसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । तरलता सहज भएपछि बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई बोलाएरै ऋण दिन थालेका छन् । बैंकहरूले दिनहुँजसो सेयर कर्जासम्बन्धी विज्ञापन गरिरहनुले पनि यो पुष्टि हुन्छ ।


मंगलबार ‘अन्य’ समूहको परिसूचक ०.२६ प्रतिशतले ऋणात्मक रहयो । बाँकी सबै समूहका परिसूचक उच्च अंकले बढे । उक्त दिन बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी २.६७ प्रतिशतले बढयो । यसैगरी विकास बैंक समूहको परिसूचक २.४९, व्यापार १.२६, होटलको १.२ र निर्जीवन बिमाको १.०८ प्रतिशतले बढे । यसैगरी जलविद्युत् समूहको परिसूचक ०.५१, वित्त कम्पनी ०.९१, उत्पादन तथा प्रशोधन ०.४७, लघुवित्त ०.६९ र जीवन बिमा ०.६६ प्रतिशतले उकालो लागेको नेप्सेले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?