चीन–अमेरिका व्यापार द्वन्द्व झन् चर्कंदै

एजेन्सी

काठमाडौँ — अमेरिकाले चीनबाट आयात हुने थप २ सय अर्ब डलर बराबरका सामानमा भन्सार लगाउने निर्णय गरेसँगै दुई आर्थिक महाशक्तिबीचको द्वन्द्व थप जटिल बनेको छ । चीनले गरेको असमान व्यापार अभ्यासका कारण चिनियाँ सामानमा भन्सार दर बढाइएको दाबी अमेरिकाले गर्दै आएको छ ।

चीन–अमेरिका व्यापार द्वन्द्व झन् चर्कंदै

अमेरिकी निर्णयको बदलामा चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने करिब ६० अर्ब डलर बराबरका विभिन्न सामानमा भन्सार महसुल लगाउने निर्णय गरेको छ । चीनको सरकारी समाचार संस्था सिन्हवाका अनुसार चीनले औपचारिक रुपमा अमेरिकाले व्यापारमा बेइमानीपूर्ण अभ्यास सुरु गरेको, आर्थिक अस्त्र प्रयोग गरी अन्य देशलाई तर्साउन खोजेको र विश्व अर्थतन्त्रलाई अप्ठयारोमा पारेको आरोप लगाएको छ ।


चीनले अमेरिकालाई इतिहासबै भन्दा ठूलो व्यापार युद्ध निम्त्याएको आरोप पनि लगाएको छ । नयाँ सामानमा भन्सार दर बढाउने अमेरिकी निर्णयसँगै चीनबाट अमेरिका छिर्ने करिब आधा सामानमा भन्सार दर बढ्ने भएको छ । जुलाईयता मात्रै अमेरिकाले चीनबाट भित्रिने करिब २५० अर्ब डलरको सामानमा भन्सार दर बढाउने निर्णय गरेको छ । चीनले अमेरिकासँगको व्यापारको विषयमा छलफल रद्द गरेपछि पछिल्लो पटक व्यापार विवाद चुलिएको हो ।


पछिल्लो पटक के भएको हो ? पछिल्लो पटक अमेरिकाले चीनबाट आफ्नो देश आयात हुने करिब ६ हजार थरी सामानमा भन्सार महसुल बढाएको छ । अमेरिकाले चीनबाट आयात हुने हातेब्याग, चाम, कपडासहित स्मार्ट वाच, कुर्सीजस्ता फर्निचरका सामानमा पनि भन्सार महसुल बढाएको छ । चीनबाट सामान आयात गर्ने अमेरिकी कम्पनीले अतिरिक्त १० प्रतिशत लेभी रकम तिर्नुपर्ने हुन्छ ।


दुवै देशले सहमति जुटाउन नसके यो महसुल करिब २५ प्रतिशत पुग्नेछ । अमेरिकी निर्णयपछि चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने सामानमा थप ५ देखि १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ । अमेरिकाबाट आयात हुने जहाज, कम्युटर र कपडामा ५ प्रतिशतसम्म अतिरिक्त भन्सार महसुल र रसायन, मासु, गहुँ, वाइनजस्ता सामग्रीमा पनि १० प्रतिशत भन्सार थप गर्ने निर्णय चीनले गरेको छ ।


अहिलेका भन्सार महसुल कस्तो
सन् २०१८ मा मात्रै अमेरिकाले चीनमा उत्पादित सामानमा तीन चरणमा भन्सार महसुल बढाएको छ । सन् २०१७ को तथ्यांक हेर्ने हो भने यो सामानको मूल्य करिब २ सय ५० अर्ब डलर हुन्छ । अमेरिकाले सुरुवाती दुई चरणमा करिब ५० अर्ब बराबर आयातित सामानमा २५ प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको थियो । जुलाईमा अमेरिकी सरकारले ३४ अर्ब बराबरको सामानमा भन्सार महसुल बढाएको थियो भने अघिल्लो महिना १६ अर्ब डलर बराबरको सामानमा भन्सार महसुल बढाएको थियो ।


अमेरिकाको यो नीतिविरुद्ध बेइजिङले पनि उस्तै शैलीमा प्रतिक्रिया दियो । अमेरिकाले पहिलो दुई चरणमा लगाएको भन्सार महसुलको विरोधमा चीनले पनि अमेरिकाबाट आयात हुने ५० अर्ब बराबरको सामानमा भन्सार महसुल बढायो । चीनले अमेरिकाबाट आफ्नो देश आयात हुने सामानमा भन्सार महसुल बढाएपछि विशेषत: अमेरिकी किसानहरू बढी प्रभावित बनेको छन् ।


अमेरिकाले किन भन्सार महसुल बढायो ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तिको चीनमा असमान हस्तान्तरण रोक्न चाहेको बताउँदै आएका छन् । उनले आफ्नो देशको रोजगारीको सुरक्षा गर्ने बाचा पनि गर्दै आएका छन् । अमेरिकी सरकारको चिनियाँ सामानमा भन्सार बढाउने निर्णयले सैद्धान्तिक रूपमा अमेरिकी उत्पादनलाई चिनियाँ सामानको तुलनामा सस्तो बनाउनेछ । यसले अमेरिकी नागरिकलाई अमेरिकी सामान किन्न प्रेरित गर्ने सरकारको विश्वास छ । यसले स्थानीय व्यवसालाई बढाउने र देशको आर्थिक अवस्था सुधारका लागि सहयोग गर्ने विश्वास छ ।


तर, धेरै अमेरिकी कम्पनी र उद्योगहरूले भने चिनियाँ सामानमा भन्सार वृद्धिका कारण आफ्नो व्यवसायलाई प्रभाव पारेको बताउन थालेका छन् । ट्रम्पले आफ्नो संरक्षणवादी व्यापार एजेन्डाअनुसार नै भन्सार महसुल बढाउने निर्णय गरेका हुन् । उनले पदमा बस्ने बित्तिकै विर्वाध व्यापार प्रणालीको विरोध गर्दै आएका छन् ।


अब के होला ?
टम्पले भर्खरै मात्र पनि थप करिब २ सय ६७ अर्ब डलर बराबरको चिनियाँ सामानमा भन्सार महसुल लगाउने निर्णय सुनाएका छन् । यसले चीनबाट अमेरिका आयात हुने करिब सबै सामानमा भन्सार महसुल लाग्नेछ ।


सुरुवाती चरणमा चीनले पनि अमेरिकाले आफ्नो सामानमा लगाएको भन्सार महसुल अनुसार सोही परिमाणका अमेरिकी सामानमा भन्सार महसुल लगाउँदै आएको थियो । भविष्यमा भने चीनका लागि यसरी बदला लिने विकल्प हुने छैन । किनकि चीनले अमेरिकाबाट आयात गर्नेभन्दा बढी निर्यात गर्छ ।


विश्लेषक चीनले अमेरिकी भन्सार नीतिको विरोधमा अन्य कदमहरू चाल्न सक्ने विश्लेषण गर्छन् । यसमा अमेरिकी कम्पनीलाई कडाइ गर्ने जस्ता विकल्पहरू चीनसँग रहनेछन् । धेरै अमेरिकी कम्पनीहरू चीनसँग निर्भर रहँदै आएका छन् ।

प्रकाशित : आश्विन १०, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?