१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जोखिम विविधीकरण गर्न अर्थमन्त्रीको निर्देशन

बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
कान्तिपुर संवाददाता

काठमाडौँ — बिमा व्यवसाय सीमित क्षेत्र तथा वर्गमा मात्र केन्द्रित भएकाले त्यसलाई विकेन्द्रीकरण गर्न अर्थमन्त्री युवराज खतिवडाले निर्देशन दिएका छन् । एउटै क्षेत्रमा मात्र केन्द्रित हुँदा जोखिम धेरै हुने भएकाले त्यसलाई अन्य क्षेत्रहरूमा पनि विस्तार गर्न बिमा कम्पनीहरूलाई उनले निर्देशन दिएका हुन् ।

जोखिम विविधीकरण गर्न अर्थमन्त्रीको निर्देशन

‘वित्तीय सुदृढीकरण : विपत् जोखिम वित्तीय व्यवस्थापन र बिमा’ भन्ने नाराका साथ मंगलबारदेखि काठमाडौंमा सुरु भएको विकासशील राष्ट्रहरूको बिमा कम्पनी र पुनर्बिमा कम्पनीहरूको संगठन (एआईआरडीसी) को २१ औं सम्मेलनको उदघाटन कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन् । बिमा समिति र नेपाल बिमक संघको संयुक्त आयोजनामा एआईआरडीसीको २१ औं सम्मेलन आयोजना गरिएको हो ।


‘कुनै एउटा क्षेत्रमा मात्र व्यवसाय केन्द्रित हँुदा जोखिम हुन्छ,’ उनले भने, ‘यसकारण बिमा व्यवसायको पनि विविधीकरणमा लाग्नुहोस् ।’ नेपालमा निर्जीवन बिमा व्यवसायको ५० प्रतिशत मोटर बिमामा मात्र केन्द्रित भएको भन्दै उनले यसलाई उद्योग, घर, हाउजिङ, कृषिलगायतका क्षेत्रमा समेत विस्तार गर्न आग्रह गरे ।


बिमा कम्पनीहरू अझै पनि परम्परागत ढंगबाट सञ्चालन भइरहेको बताउँदै उनले भने, ‘प्रविधिको प्रयोग गरेर बिमा गर्न र दाबी भुक्तानी लिने प्रक्रियालाई सरलीकृत गर्नुपर्छ ।’ त्यसो भएमा मात्र बिमा क्षेत्रमा धेरैभन्दा धेरै सर्वसाधारणलाई आकर्षित गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा अर्थमन्त्री खतिवडाले विकासोन्मुख राष्ट्रहरूका बिमासम्बन्धी समस्याहरू एकै प्रकृतिका रहेकाले सम्मेलनको निष्कर्ष महत्त्वपूर्ण हुने बताए ।


सम्मेलनमा एआईआरडीसीका अध्यक्ष यासिर अल्वाहर्नले विकासोन्मुख देशहरूमा बिमा नियामक र कम्पनीहरूको समान समस्या रहेको र यसलाई साझा रूपमा समाधान गर्नका लागि संगठित भएको बताए । विकासोन्मुख देशमा मानव सिर्जित तथा प्राकृतिक विपत्तिपछिको जोखिम उत्तिकै रहेको र विपत्तिपछिको क्षतिमा बिमाको जोखिमलाई न्यूनीकरण गर्ने विषयमा एक अर्काको अनुभव प्रभावकारी हुने उनको भनाइ थियो ।


बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले प्राकृतिक विपत्तिपछिको बिमा क्षति न्यूनीकरणका लागि सम्मेलनमा महत्त्वपूर्ण छलफल हुने बताए । नेपाल बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले विकासशील मुलकहरूमा बिमा व्यवसायको वृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।


विकासशील राष्ट्रका बिमा तथा पुनर्बिमा कम्पनीहरूको संगठन (एआईआरडीसी) को अध्यक्षमा नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह चयन भएका छन् । संगठनको मंगलबार नेपालमा सम्पन्न भएको वार्षिक साधारणसभाले उनीसहितको नौ जनाको कार्यसमितिलाई निर्विरोध रूपमा चयन गरेको छ ।


नयाँ समितिको कार्यकाल दुई वर्षको हुनेछ । सभाले आगामी २२ औं एआईआरडीसी सम्मेलन सन् २०२० केन्यामा हुने समेत निर्णय गरेको छ ।


नेपालमा मंगलबारदेखि सुरु भएको २१ औं एआईआरडीसी सम्मेलन ८८ मुलुकका प्रतिनिधिसहित १८ मुलुकका बिमा तथा पुनर्बिमा कम्पनीका ४ सय जनाको सहभागिता छ । सम्मेलन बुधबारसम्म चल्नेछ ।

प्रकाशित : आश्विन १०, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?