कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवा अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर बजारमा १ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो केही महिनायताकै उच्च कारोबार हो । विगतमा एकैदिन २ अर्बभन्दा बढीको पनि कारोबार भएको थियो ।

सवा अर्बको सेयर कारोबार

पछिल्ला महिनामा कारोबार रकम धेरैले घटेको थियो । एक दुई सातायता कारोबार रकम पनि बिस्तारै बढ्दै गएको छ । यही क्रममा मंगलबार सेयर बजारमा १ अर्ब १२ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


कारोबार रकमसँगै मंगलबार नेप्से परिसूचक २२.३७ अंकले बढेको छ । दिनभरिको कारोबारमा ‘अन्य’ बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । परिसूचक बढेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर १५ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।


उक्त दिन कारोबार सुरु भएदेखि बढेको बजार एक घण्टापछि केही सम्हालिए पनि अन्त्यसम्म नै उकालो लागि रहयो । करिब १० हजार १ सय कारोबारबाट १ सय ७३ कम्पनीका ४४ लाख १७ हजार २ सय ३० कित्ता सेयर किनबेच भए । उक्त दिन कारोबारमा आएकामध्ये १ सय २० कम्पनीको सेयर मूल्य बढयो, ३५ कम्पनीको सेयर मूल्य घटयो र बाँकी १८ कम्पनीको सेयर मूल्य स्थिर छ ।


पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) सहज भएसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । तरलता सहज भएपछि बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई बोलाएरै ऋण दिन थालेका छन् । बैंकहरूले दिनहुँजसो सेयर कर्जासम्बन्धी विज्ञापन गरिरहनुले पनि यो पुष्टि हुन्छ ।


मंगलबार ‘अन्य’ समूहको परिसूचक ०.२६ प्रतिशतले ऋणात्मक रहयो । बाँकी सबै समूहका परिसूचक उच्च अंकले बढे । उक्त दिन बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी २.६७ प्रतिशतले बढयो ।


यसैगरी विकास बैंक समूहको परिसूचक २.४९, व्यापार १.२६, होटलको १.२ र निर्जीवन बिमाको १.०८ प्रतिशतले बढे । यसैगरी जलविद्युत् समूहको परिसूचक ०.५१, वित्त कम्पनी ०.९१, उत्पादन तथा प्रशोधन ०.४७, लघुवित्त ०.६९ र जीवन बिमा ०.६६ प्रतिशतले उकालो लागेको नेप्सेले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?