कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

संगीतबाट अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — उत्तरी अमेरिकाको क्यारिबियन सागर तटको बारबाडोस देशको नाम धेरैलाई थाहा नहुन सक्छ । तर उक्त देशकी ३० वर्षीया चर्चित गायिका, गीतकार तथा अभिनेत्री रोबिन रिहाना फेन्टीलाई चिन्ने धेरै हुन सक्छन् ।

संगीतबाट अर्बपति

हो, उनी आफ्नो कर्णप्रिय संगीत, मधुर स्वर र मनमोहित पार्ने अभिनयका कारण विश्वकै सेलिब्रेटीमा दरिएकी छन् । गीतसंगीतबाटै उनी अर्बपति बनेकी छन् । अमेरिकी अखबार ‘फोब्र्स’ पत्रिकाको यो वर्षको ‘विश्वका सय जना सेलिब्रेटी’ को सूचीमा उनी संगीतकारका रूपमा ८४ औं स्थानमा छिन् । आफ्नो मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउन पनि सफल भएकी छन् ।


पछिल्लो समय बारबाडियन गायिका संगीतकार रिहानाको परिचय कूटनीतिज्ञ र महिला उद्यमीका रूपमा पनि स्थापित भएको छ । सन् १९८८ फेब्रुअरी २० मा उनी बारबाडोसस्थित सेन्ट माइकलमा जन्मिन र ब्रिजटाउनमा हुर्केकी हुन् । उनको बाल्यकाल निकै संघर्षपूर्ण रहयो । परिवारको आर्थिक अवस्था राम्रो थिएन । आमाबुबाबीच सधै झैझगडा हुने गरेको थियो ।


त्यसको प्रत्यक्ष प्रभावबाट रिहाना अछुतो हुने कुरै भएन । उनकी आमा मोनिका अफ्रिकी–गुयानिज पृष्ठभूमिकी सेवा निवृत्त एकाउन्टेन्ट हुन् । पिता रोनाल्ड फेन्टी अफ्रिकी–बारबाडियन र आइरिस वंशका हुन् । पेसाले बुबा गोदामको रेखदेखमा खटिएका थिए । गरिब परिवार भएकै कारण ब्रिडटाउनस्थित तीन वटा बेड रुम भएको एउटा बंगलामा उनी हुर्केकी हुन् । गोदामको रेखदेखबाट प्राप्त तलबले नपुगेपछि उनका बुबाले फुटपाथमा सानोतिनो कपडाको व्यापार गर्थे । रिहानाले त्यो व्यापारमा बुबालाई सघाउँथिन् । पछि बुबा लागुपदार्थका दुर्व्यसनी बन्न पुगे ।


यसले रिहानालाई प्रभावित बनायो । सानै उमेरमा संघर्षको सामना उनले गर्नुपर्‍यो । बेलाबेलामा उनलाई टाउको दुख्ने रोग लाग्यो । धेरै पटक सिटी स्क्यान गराउनुपर्‍यो । रोगै पत्ता नलागेपछि चिकित्सकले उनलाई टयुमर भएको आशंका गरेका थिए । पछि पुष्टि हुन सकेन । दुव्र्यसनी अभिभावकका कारण सन्तानमा पर्ने बालमनौवैज्ञानिक असरको परिणाम थियो, उनको टाउनको दुख्ने रोग । समय गुजिँ्रदै गयो, रिहाना १४ वर्षकी भइन् । सन् २००८ को डिसेम्बरमा ‘पिपुल’ मा प्रकाशित रिहानाको जीवनीअनुसार ‘त्यसैबेला उनको आमाबुबा छुट्टिए, त्यसपछि उनको स्वास्थ्यमा बिस्तारै सुधार हुन थाल्यो’ उल्लेख छ । उनीबारे प्रकाशित अन्य जीवनीमा पनि यसको पुष्टि गरिएको छ । पछि तिनै रिहाना विश्वकै चर्चित सेलिब्रेटीका रूपमा आफूलाई उभ्याउन सफल भएकी छन् ।


१५ वर्ष उमेरमा रेकर्ड प्रोडयुसर इभान रोगर्सको निर्देशनमा उनले डेमो टेप्स रेकर्डिङ गरेकी थिइन् । त्यसपछि डेफ ज्याम रिकर्डिङसँग गीत गाउनका लागि करारनामा पत्रमा हस्ताक्षर गरिन् । त्यसताका उक्त संस्थाका प्रमुख हिपहप प्रोडयुसर र र्‍यापर जयजेसँग अडिसन गर्न सफल भइन् । सन् २००६ मा ‘ए गर्ल लाइक मी’ एल्बम सार्वजनिक भएपछि उनी एकाएक चर्चामा आएकी हुन् । यो उनको पहिलो स्टुडियो एल्बम ‘म्युजिक अफ द सन’ र ‘फलोअप ए गर्ल लाइक मी’ सार्वजनिक भएको थियो । उक्त एलबम यूएस बिलबोर्ड २०० को शीर्ष १० मा परेको थियो ।


२२ जुन २००७ मा ‘इन्टरटेन्मेन्ट विक्ली’ ले ‘क्यारिबियन क्विन : रिहाना’ भनेर समाचार प्रकाशित गर्‍यो । त्यसमा रिहानाले ‘रेगे’ संगीत सुन्दै हुर्केको उल्लेख छ । ‘रेगे’ ले जमैकाको आधुनिक लोकप्रिय संगीतको प्रतिनिधित्व गर्छ । सात वर्ष उमेरमा रिहानाले गाउन थालेकी हुन् । उनले चाल्र्स एफ ब्रुम मेमोरियल प्राथमिक विद्यालय र कम्बेमेरे हाई स्थलमा पढ्ने अवसर पाएका हुन्, जहाँ उनले इंग्ल्यान्डका क्रिकेट खेलाडी क्रिस जोर्डन र भविष्यका वेस्टइन्डिजका क्रिकेटर कार्लोस ब्राथवेथसँग पढेकी हुन् । रिहाना एउटा उपसैन्य कार्यक्रममा सेना क्याडेट थिइन् । गायक एवं गीतकार सोन्टेल उनको ड्रिल सर्जेन्ट थिए । सुरुमा उनी उक्त हाई स्कुलबाट ग्य्राजुएट गर्न चाहन्थिन् तर त्यसको साटो उनले संगीतलाई आफ्नो करियर बनाउने सोच बनाइन् ।


सन् २००३ मा आफ्ना दुई जना कक्षा साथीका साथ एउटा संगीत समूह बनाएकी थिइन् । संयोग नै भन्नुपर्छ, उनले आफ्नो गृहनगर बारबाडोसका रेकर्ड प्रोडयुसर इभान रोगर्ससँग भेट गर्ने मौका पाइन् । बिना कुनै नाम या कुनै सामग्रीको उक्त समूहले रोगर्ससँग अडिसनमा सहभागी हुने चाहना व्यक्त गरिन् । रोगर्सले फुच्ची रिहानालाई पत्याउने आधार भेटेनन् । उनी पनि कम थिइनन्, लक्ष्य ठानेपछि पुग्नैपर्ने उनको चाहना सधै थियो । सायद यही कारणले उनी आफ्ना अन्य दुई साथीलाई छाडेर रिहाना रोगर्स बसेको होटलसम्म पनि पुग्न भ्याइन् ।


त्यहाँ आफ्नो प्रतिभाको परिचय दिनका लागि केही गीतहरू गाएर सुनाइन् । यसले रोगर्सलाई निकै प्रभावित बनायो । दोस्रो पटक उनी आफ्नी आमासँगै रोगर्सलाई भेटेकी थिइन् । रोगर्सले रिहानालाई अमेरिकास्थित गृहनगरमा डेमो टेप तयार गर्नका लागि आउन निम्तो दिए । त्यो रेकर्ड लेबल जाँच्नका लागि रेकर्ड गरिएको थियो । उनले डेमोका लागि विद्यालयमा विद्यार्थी छँदा गाएको गीत ‘पो डे रिप्ले’ र ‘दि लास्ट टाइम’ सहितका दुईटा गीतलाई रेकर्ड गरिन् । पछि उक्त गीतलाई ‘म्युजिक अफ दि सन’ मा समेत समावेश गरियो । त्यही वर्ष रिहानाले रोगर्स र कार्ल स्टुकेनको उत्पादन कम्पनीमा गीत गाउनका लागि अनुबन्धित भइन् ।


२००५ को अगस्टमा ‘म्युजिक अफ दि सन’ सार्वजनिक भएको हो । यसमा उनको आवाज पनि समावेश थियो । यो एल्बम निकै चर्चित बन्न पुग्यो । विश्वभर यो एल्बमका २० लाखभन्दा बढी कपी बिक्यो । अस्ट्रेलिया, आयरल्यान्ड र न्युजिल्यान्डमा ‘टप टेन’ मा कयौं महिनासम्म बजिरहयो । अब उनी संगीतमा मात्रै बाँधिन चाहिनन् । एक्टिङ क्षेत्रमा प्रवेश गरिन् । ‘क्यामियो’ को भूमिकामा डीभडी चलचित्र ‘ब्रिङ इट अन : अल अर नोथिङ’ मा खेलिन् ।


सन् २००६ को अगस्टमा यो सार्वजनिक भएको थियो । सार्वजनिक भएको एक महिनापछि रिहानाले दोस्रो स्टुडियो एल्बमका लागि काम गर्न थालिन् । त्यसै वर्षको अप्रिलमा ‘ए गर्ल लाइक मी’ बजारमा आयो । यो व्यापारिक रूपमा सफल पनि रहयो । १३ मुलुकको ‘चार्टिङ इन दि टप टेन’ मा पर्न सफल भयो । क्यानाडामा शीर्षस्थानमा पुग्यो भने अमेरिका र बेलायतमा ५ औं स्थानमा आफ्नो उपस्थिति दर्ज गराउन सफल भयो ।


पहिलो सातामै १ लाख १५ हजार कपी ती मुलुकहरूमा बिक्यो । यो क्रम बढदै गएर १० लाखभन्दा बढी कपी बिकेपछि आरआईएएले रिहानालाई ‘प्लाटिनम’ प्रमाण पत्र प्रदान गर्‍यो । त्यसयता उनको यात्रा कहिल्यै थामिएन । तेस्रो, चौथो, पाँचौं र छैटौं गर्दै शृंखलाबद्ध स्टुडियो एल्बम निकाल्न उनी सफल भइन् । हरेक एल्बम लोकप्रियताको शिखर चुम्दै गयो । यसले उनको ख्याति मात्रै बढेन आम्दानीमा पनि बढ्दै गयो ।


सन् २०१३ को फेब्रुअरीमा ५५ औं ग्रामी अवार्डमा रिहानाले ‘वी फाउन्ड लभ (२०११) का लागि ‘बेस्ट सर्टफर्म म्युजिक भिडियो’ विधामा छैटौं ग्रामी अवार्ड प्राप्त गर्न सफल भइन् । सन् २०१५ को मार्चमा ‘थ्रीडी एनिमेटेड फिल्म होम’ आधारित एउटा ‘कन्सेप्ट एल्बम’ सार्वजनिक गरिन् । यसैवर्षको अन्त्यतिर सामसङको ग्यालेक्सी फोनलाई प्रोमोट गर्नका लागि २५ मिलियन अमेरिकी डलरको सम्झौता गरिन् । उनको गीतसंगीत क्षेत्रको यात्रा जारी छ ।


म्याडोनालाई आफ्नो आदर्श मानेकी रिहानाले आफूलाई ‘ब्ल्याक म्याडोना’ बन्न रुचाएकी बताउँदै आएकी छन् । उनले आफ्नो जीवनमा ९ वटा ग्रामी अवार्ड, १२ वटा बिलबोर्ड म्युजिक अवार्ड, १२ वटा अमेरिकी म्युजिक अवार्ड, ८ वटा पिपुल्स च्वाइस अवार्डसहित कयौं पुरस्कारहरू जित्न सफल भइसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।


मिडियाले रिहानालाई पप र फेसन आइकनका रूपमा परिचय दिएको छ । ‘टाइम’ पत्रिकाले २०१२ मा उनलाई विश्वका सय जना अति प्रभावशाली व्यक्तिको सूचीमा समेत समावेश गरेको थियो । हाल उनी व्यापारमा समेत छिन् । एउटा ‘बडी स्प्रे’ कम्पनीमा उनको संयुक्त लगानी छ । उनी मानव परोपकारी कार्यमा उत्तिकै क्रियाशील छिन् । २००६ मा उनले रोगी बालबालिकाका लागि एउटा संस्था स्थापना गरी सहयोग गरेकी थिइन् । अन्य संस्थाहरूमा पनि उनको यो यात्रा जारी छ । २१ सेप्टेम्बर २०१८ मा रिहानालाई बारबाडोस सरकारले मुलुकको शिक्षा, पर्यटन तथा लगानीलाई प्रोमोट गर्नका लागि ‘एम्बेसेडर एटलार्ज’ नियुक्त गरेको छ ।


‘द रिजेस्ट’ अनलाइनका अनुसार रिहानाको कुल सम्पत्ति २६ अर्ब ९० करोड ८ लाख रुपैयाँ छ । अमेरिकी अखबार ‘फोब्र्स’ ले उनको कुल सम्पत्ति २४ अर्ब ५६ करोड (१६ जुलाई २०१८ मा) रहेको जनाएको छ । उनको सम्पत्तिको स्रोत रोयल्टी, स्पोन्सरसिप, सोहरूको टिकट बिक्री, फरफरमेन्स शुल्क, रेकर्ड सेलबापतको कमिसन, रिबल फ्राग्रान्स, बोनसलगायत रहेका छन् ।


स्रोत : एजेन्सी

प्रकाशित : आश्विन १३, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?