१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भाडामा लगाउनुको सट्टा होमस्टे

सजना बराल

काठमाडौँ — होमस्टेहरू प्राय: ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका छन् । होमस्टे नीति २०६५ ले पनि विशेषत: ग्रामीण भेगकै पर्यटन विकास र स्वरोजगारका लागि होमस्टे सञ्चालन गर्ने उल्लेख गरेको छ । तर, यस्ता सुविधा सहरमा पनि उपलब्ध गराउन सकिने नीतिमा छ ।

भाडामा लगाउनुको सट्टा होमस्टे

यहीअनुरूप अहिले ललितपुरको पाटन दरबार क्षेत्रमा होमस्टेहरू थपिने क्रम बढेको छ । यहाँ अहिले सामुदायिक र निजी रूपमा सञ्चालन भएका होमस्टे प्रशस्त छन् ।

अशोक प्यार्टी प्यालेस पछाडि रहेको मीना बज्राचार्यको घरमा हाल पाहुना छैनन् । तर, पछिल्लो पटक उनले नेदरल्यान्डसका चार जना आगन्तुकलाई दुई दिन बास दिइन् । उनले पर्यटकलाई यसरी आवास, खाना र अन्य सुविधा दिन थालेको एक वर्षजति भयो । ‘घर भाडामा दिँदा साह्रै फोहोर हुन्छ,’ उनले भनिन्, ‘पर्यटकहरू सधै बस्दैनन् । उनीहरूलाई हामीसँगै राख्ने भएकाले घर फोहोर पनि हुँदैन ।’ उनलाई पाहुना नआउँदा खल्लो लाग्न थालेको छ ।

उज्वला शाक्यले पनि ल्याख चोकस्थित आफ्नो घरका चार वटा कोठा पर्यटकका निम्ति खुला गरेकी छन् । विदेशी पाहुना राख्दा आफूलाई नयाँपन महसुस हुने बताइन् । तीबाट धेरै कुरा सिक्न सकेको उनको अनुभव छ । ‘घर बसीबसी अङ्ग्रेजी सुधारिरहेकी छु म,’ शाक्य भन्छिन्, ‘कोठा भाडामा दिनुभन्दा होमस्टे चलाउनु ठीक लाग्यो । विदेशी संस्कृति पनि बुझ्न पाइने ।’ उनले पाहुनालाई पाटन दरबार क्षेत्र, गोल्डेन टेम्पल, बंगलामुखी मन्दिर घुमाउने गरेकी छन् । मौलिक नेवारी खाजा/खाना उपलब्ध गराउँछिन् । नेवार संस्कृतिमा चाख हुनेहरू पाटनका होमस्टे खोजीखोजी आउने गरेको बताइन् ।

मीना र उज्वलाहरू ‘पाटन कम्युनिटी होमस्टे’ मा आबद्ध छन् । यो होमस्टेमा जम्मा १६ घर छन् । पाटनलाई तीन भागमा विभाजित गरेर पाहुना राख्ने गरिएको छ । पाटन दरबार स्क्वायर, मंगलबजार र सुन्धारा क्षेत्रमध्ये पाहुनाको इच्छाबमोजिम वा उपलब्धताको आधारमा पर्यटकलाई आवास सुविधा दिने गरेको कम्युनिटी होमस्टेका संयोजक विश्वास बज्राचार्यले जानकारी दिए । ‘निजीभन्दा सामुदायिक रूपमा चलाउँदा सजिलो हुँदो रहेछ,’ विश्वास भन्छन्, ‘एउटाकोमा समस्या आउँदा अर्कोले समाधान गरिदिन सक्छ । ठूलो समूह पनि लिन सकिने भयो । एकै ठाउँमा नाचगान गरेर पाहुनलाई रमाइलो गराउन सम्भव हुन्छ ।’ पनौती घुम्न गएका बेला त्यहाँको सामुदायिक घरबास व्यवस्था देखेपछि विश्वासले बालकुमारीस्थित आफ्नै निवासबाट यो काम थालेका थिए ।

आफूहरूको जनजीवन, कलासंस्कृतिको प्रचार होस् भनेर पाटनमा होमस्टे सुरु गरेको बताए । आफैंमा पर्यटीयकस्थल भएकाले यहाँ होमस्टे सञ्चालन गर्दा राम्रै हुने ठानेछन् । अहिले अमेरिका, जापान, बेलायत, इटाली, जर्मनी, नेदरल्यान्डससँगै भारतबाट पनि प्रशस्त पाहुना आउने गरेको उनको भनाइ छ । ‘होमस्टे डटकमसँग जोडिएपछि पाहुना बढे,’ उनी भन्छन् । पिँलाछे टोलकी सरिता अवालेको परिवारले २०६५ मा होमस्टे सुरु गर्दा पाटनमा चार–पाँच वटा घरले मात्रै यो व्यवसाय अपनाएका थिए ।

अहिले यो संख्या तेब्बर भइसकेको सरिताको भनाइ छ । ‘हामीले सुरुमा फ्लाट भाडामा दिएका थियौं,’ उनले भनिन्, ‘बहालवालाले समयमा भाडा नदिने, होहल्ला गर्ने गरेर टेन्सन दिए । त्यही भएर मेरो दाइले होमस्टे सुरु गराउनुभएको थियो । बा, मा र म पाहुनालाई पकाउने ख्वाउने गर्छौं ।’ पहिलेपहिले महिनामा एक–दुई जना मात्रै पाहुने आउने गरेकोमा अहिले दिनकै एकजना नटुट्ने बताइन् ।

पाटनका होमस्टेहरूले प्रतिव्यक्ति एक रातको ८ सयदेखि २ हजार रुपैयाँ शुल्क लिने गरेका छन् । भाडामा दिनुभन्दा होमस्टेबाट बढी फाइदा हुने पाटन कम्युनिटीका विश्वासको अनुभव छ । ‘तर, राम्रो प्रचार नभएर होला, यसमै निर्भर हुन सक्ने अवस्था आएको छैन,’ उनले भने, ‘प्रचार प्रसार हुन सकेको छैन ।’ यद्यपि अवाले परिवार होमस्टेबाटै गुजारा चलाइरहेको छ ।

ललितपुरमा आजभन्दा १५ वर्षअघिदेखि नै घरबास व्यवसाय सुरु भएको यल ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष चन्द्र महर्जनले बताए । सुरुमा बुङ्मती, सुनाकोठी, सानेपातिर यो सुविधा उपलब्ध अब दरबार क्षेत्र हुँदै सुन्धारासम्मै विस्तार भएको बताए । ‘पहिला त यो ठाउँ गाउँ नै थियो,’ उनले भने, ‘यहाँका स्थानीय नरम छन् । नेवारभित्रै ठूलो विविधता छ । यही भएर पर्यटकले स्थानीयसँग घुलमिल हुन चाहेका होलान् ।’ होमस्टेमा पर्यटक संख्या बढदै गएकाले अब ललितपुरमा सुरक्षाको राम्रो प्रबन्ध मिलाउन आवश्यक भइसकेको उनले औंल्याए ।

दर्ताबिनै सञ्चालन
महर्जनका अनुसार ज्यापु समाज र ललितपुर महानगरपालिकाले पनि होमस्टे प्रवद्र्धनका लागि पहल थालेको छ । ज्यापु समाज यलकै सन्तमान महर्जनले हौगलस्थित आफ्नो निवासमा पर्यटक निम्त्याउन थालेको वर्षौं भयो । अहिले टोलटोलमा पर्यटकको आउजाउ हुन थालेको उनी देख्छन् । यस्तोमा त्यहाँका ‘होमस्टे’ लाई लिएर प्रश्न पनि उठ्न थालेको छ । होमस्टेको मापदण्डबिना दर्तासमेत नगराई अतिरिक्त कर्मचारी राखेर व्यवसाय गरिएको भन्दै होमस्टे एसोसिएसन नेपालले आवाज उठाइरहेको छ ।

‘दरबार क्षेत्रमा सञ्चालन भइरहेका होमस्टेहरू हाम्रो तथ्यांकमा छैनन्,’ एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष सुजर बास्तोला भन्छन्, ‘होर्डिङ बोर्ड राखेर सञ्चालन गरिएका छन् । होमस्टेका विधिविधान पालना गरेको देखिँदैन ।’ नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रायले जारी गरेको होमस्टे सञ्चालन कार्यविधि, २०६७ अनुसार होमस्टे सञ्चालन गर्ने घरमा बढीमा ४ कोठा मात्रै पर्यटकका लागि छुटयाउन पाइन्छ । एउटा कोठमा बढीमा दुइटा खाट राख्न सकिन्छ । आफ्नै स्वामित्वको घरमा मात्रै होमस्टे चलाउन सकिने भए पनि कतिले यी नियम मिचेको बाँस्तोलाको ठहर छ ।

२०७२ सालको भूकम्पपछि ‘होमस्टे’ भन्दै नियमविपरीत व्यवसाय गरिएको उनले बताए । एसोसिएनका अनुसार नेपालमा जम्मा २२७ वटा होमस्टे दर्ता भएका छन् । तिनमा १९ वटा निजी र १०८ वटा सामुदायिक होमस्टे छन् । सामुदायिक हुनलाई अलगअलग स्वामित्व भएका कम्तीमा पाँच घर आवश्यक हुन्छ ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?