नयाँ प्रजातिको टिमुर फेला

कृष्णप्रसाद गौतम

काठमाडौँ — सुर्खेत, अछाम र सल्यानमा टिमुरको नयाँ प्रजाति फेला परेको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनामा कार्यरत वैज्ञानिकले टिमुरको नयाँ प्रजाति ज्यान्थोजाइलम हेट्सा (रक्सब) डीसी पत्ता लगाएका हुन् ।

नयाँ प्रजातिको टिमुर फेला

आयोजनाका कृषि वनविज्ञ गिरीधर अमात्यले लामो अनुसन्धानपछि टिमुरको नयाँ प्रजाति फेला परेको बताए । उनका अनुसार यो प्रजातिको टिमुर सुर्खेतको चौकुने गाउँपालिकाअन्तर्गत साल्म, तल्लो बाँसपानी, अछामको तुर्माखाँदा गाउँपाकिलाको जयसुरमा रहेको पत्ता लगाएका हुन् । त्यस्तै कर्णाली नदीको जलाधार क्षेत्र तथा सल्यानको कालिमाटी गाउँपालिकास्थित शारदा नदीको जलाधार क्षेत्र काल्चे कालिमाटीमा पनि पाइएको छ । यो टिमुर करिब ९ सय ५० देखि १ हजार एक मिटरको उचाइमा पाइन्छ ।

नेपालमा हालसम्म टिमुरका ९ प्रजाति रहेको उनले बताए । उनले यो प्रजातिको टिमुर १० औं भएको दाबी गरे । ‘यो प्रजातिको टिमुर वानस्पतिक परिवार रुटेसीमा पर्छ,’ उनले भने, ‘स्थानीयले यसलाई रूखबोके टिमुर वा गाई सिमल रूख भन्ने गरेको पाइयो ।’

रूखबोके टिमुरको काण्डको माथिल्लो हाँगातिरको भाग चिल्लो खालको र चारैतिर तिखो काँडाले ढाकेको पाइएको उनले जनाए । तलतिरको पुरानो भागमा कडा खालको छिप्पिएको अलि थेप्चो आकारको र माथिलो सतहतिर पुरानो मरिसकेको पुरानो काँडाले ढाकेको पाइएको छ । बोक्रा काट्दा सस्र्युं जस्तो पहेंलो रङको अलि नरम भाग भएको देखिने अमात्यले जनाए ।

उनका अनुसार यसको पातको लम्बाइ करिब चारदेखि ९ सेन्टिमिटर र चौडाइ २ देखि ३ दशमलव ५ सेन्टिमिटरको हुन्छ । डाँठ दुईदेखि तीन सेन्टिमिटर लामो, पातको छेउ अलि घुम्रिएको जस्तो हुने उनी बताउँछन् । पातमा सुगन्धित तेलका ग्रन्थिहरू छेउ छेउतिर हुने र छिप्पिएको पातमा मधुरो खालको कागतीको जस्तो बास्ना आउने गर्छ । वैशाख महिनाको मध्यतिर रूखबाट सबै पातहरू झर्ने भएकाले अन्तिमतिर रूख पातविहीन हुने उनले बताए ।

यसको फूल करिब आठदेखि १४ सेन्टिमिटर लामो हुन्छ । फूलको रङ हल्का पहेंलो हुन्छ । जेठ महिनाको सुरुवाततिर नै फूल फुल्ने र पात पहेंलिन थाल्ने वैज्ञानिकले जनाएका छन् । ‘यो टिमुरको फूल रूखमा कमै समयसम्म मात्र रहन्छ, यसको दाना हलुका बास्नादार हुन्छ,’ उनले भने, ‘फूलको गोलाकार ६ देखि सात मिलिमिटर व्यासको हुन्छ ।’ फूलको सबै भाग सुगन्धित तेलको ग्रन्थिले ढाकेको र फूलको बास्ना कागतीको जस्तो हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार टिमुरको बोक्रामा १५ दशमलव २, फूलमा ४ दशमलव ४२ र बीउमा ० दशमलव ५ प्रतिशत सुगन्धित तेलको मात्रा पाइन्छ ।

आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीका अनुसार आयोजनाले जाजरकोटसहित चार जिल्लामा सात वर्षदेखि टिमुर मूल्य श्रृंखलाअन्तर्गत उत्पादन र बजारीकरणमा किसानलाई सहयोग गरेको छ । टिमुरमा आयोजनाले २८ उपआयोजना सञ्चालन गरी २ करोड १३ लाख रुपैयाँ किसानलाई अनुदान दिएको भारीले जनाए ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?