कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्वका मुखमा महँगी

उदयपुर/खोटाङ — दसैंलगायत मुख्य पर्वहरू नजिकिएका बेला मूल्य वृद्धिले उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, कपडा, गाडी भाडालगायत अनेक क्षेत्रमा बढेको मूल्यले सर्वसाधारण समस्यामा परेका हुन् ।

पर्वका मुखमा महँगी

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै गाडी भाडा १० प्रतिशतले बढेको छ । स्थानीय सरकारको कर बढाएको भन्दै खाद्यान्न, कपडा र मसलामा २० देखि ३० प्रतिशतभन्दा बढी मूल्य बढाइएको छ । यसैगरी भन्सार मूल्यांकन बढेको भन्दै आयातीत वस्तुको मूल्य बढाइएको छ । बजार अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय मौन छ ।


‘अब त गुजारा गर्नै नसकिने अवस्था आयो’ चौदण्डीगढी नगरपालिका ६ स्थितद्वार खोलामा गिटी कुटेर गुजारा गर्दै आएका भोटे कान्छाले भने, ‘पहिलेजस्तो गिटी पनि बिक्दैन, बिकी हाल्यो भने पनि दुई वर्षअघिकै मूल्य मात्रै दिन्छन् ।’ बजारमा दाल, चामल, तरकारी, तेल सबैको मूल्य बढेको छ, गिटी दुई वर्षअघिकै मूल्यमा बिक्री गर्दा पनि बिक्री नभएको उनले बताए । विकास निर्माणको कामले खासै गति लिन सकेको छैन । निजी निर्माण पनि खासै हुन नसक्दा ढुंगा, गिटी र बालुवा बिक्री नभएको कान्छाले बताए । ‘आम्दानीको स्रोत भनेकै गिटी हो’ कान्छाले भने, ‘त्यो पनि बिक्री नहुँदा एउटा समस्या छँदैछ, त्यो भन्दा बढि मुल्य वृद्धिले गुजारा गर्ने नसक्ने अवस्था भयो ।’


त्रियुगा नगरपालिका ११ गाईघाटमा दैनिक ज्याला मजदुरी गर्ने रामबहादुर कार्कीले भने, ‘कमाइ थोरै छ, चाहिने कुरा धेरै, त्यो पनि भाउ बढेर किनिसाध्य छैन ।’


बजारमा १० देखि ४० प्रतिशतभन्दा बढी मूल्य बढेको छ । विशेषगरेर कपडामा ४० प्रतिशतसम्म बढेको स्थानीयवासीले बताए । ‘कपडामा मूल्य बढेका हो वा जबर्जस्ती बढाइएको हो,’ गाईघाटका व्यवसायी मनोज खड्काले भने, ‘अन्य वस्तुको तुलनामा कपडा मूल्य बढ्ने समय त हो ।’ तर एक्कासि यति धेरै मूल्य बढ्नु भनेको सर्वसाधारणको ढाड सेक्नु रहेको उनले बताए ।


‘चीनबाट आयात गरिने कपडा भारतको कोलकाता हुँदै आउँछ’ खडकाले भने, ‘त्यसै पनि ढुवानीलगायतमा लागत बढेको छ ।’ त्यसैगरी भन्सार मूल्याङ्कनसमेत बढेकाले मूल्य बढेको उनले बताए ।


स्थानीय करले बजारमा प्रभाव परेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए । ‘सवारी साधनको भाडा संघीय सरकारले नै बढाएको छ’ अध्यक्ष भगतले भने, ‘त्यसैको आडमा यातायात व्यवसायीले सरकारले तोकेको भन्दा बढी भाडा लिंदा कपडा, खाद्यान्य, तेल मसलाको मूल्य बढ्न सक्छ ।’ बाहिरबाट आयात गर्नुपर्ने वस्तुमा यातायात खर्च बढ्ने र स्थानीय उत्पादन स्थानीय तहको कर बढाएकाले बढ्ने गरेको उनले बताए । सबै खाले कर र भन्सार मूल्याकन बढेकाले मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता मारमा पर्ने गरेका छन् ।


गाडी भाडा वृद्धि
खोटाङबाट सञ्चालन हुने सबै सवारी साधनको भाडादर १० प्रतिशत वृद्धि गरिएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायीले छोटो तथा लामो दूरीका सबै सवारी साधनको भाडादर दस प्रतिशत वृद्धि गरेका हुन् । जिल्लाका व्यवसायीले सवारी साधनको भाडा वृद्धिपछि दिक्तेलबाट काठमाडौं र काठमाडौंबाट दिक्तेलका लागि बसमार्फत एकतर्फी यात्रा गर्दा प्रतिव्यक्ति भाडा एक हजार तीन सय २० भएको छ । यसअघि दिक्तेलबाट काठमाडौं तथा काठमाडौंबाट दिक्तेलका लागि एकतर्फी भाडा एक हजार दुई सय लिने गरिएको थियो ।


सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार दिक्तेल–गाईघाटका लागि बसको भाडा आठ सय ८०, दिक्तेल–भोजपुर आठ सय ८०, दिक्तेल–धरान एक हजार दुई सय ९८, दिक्तेल–विराटनगर एक हजार तीन सय २०, दिक्तेल–कटारी आठ सय ८० र दिक्तेल–लहान एक हजार १२ निर्धारण गरिएको छ । बसका साथै जिपको पनि भाडा दर वृद्धि गरिएको खोटाङ यातायातका सचिव रामकुमार हिङ्माङले बताए । हिङ्माङका अनुसार जिपमार्फत दिक्तेल–काठमाडौंका लागि एक हजार सात सय ५० कायम गरिएको छ । यसअघि जिपमार्फत सवार गर्ने यात्रुबाट दिक्तेल–काठमाडौंका लागि एक हजार चार सय ५० लिने गरेको थियो ।


व्यवसायीले ग्रामीण सडकमा सञ्चालन हुने बसको पनि भाडा दर निर्धारण गरेको छ । व्यवसायीले निर्धारण गरेको भाडा दरअनुसार दिक्तेल–हलेसी चार सय, दिक्तेल–जयरामघाट छ सय, दिक्तेल–खार्मी तीन सय २०, दिक्तेल–पाथेका दुई सय ७५, दिक्तेल–पञ्चमी पाँच सय ५० र दिक्तेल–मात्तिमको भाडा तीन सय ३० निर्धारण गरेको छ ।


व्यवसायीले निर्धारण गरेको भाडादर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुका साथै व्यवसायीले सवारी साधनको मूल्य वृद्धि गरेपछि नेपाल विद्यार्थी संघ खोटाङले विरोध जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?