३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तरकारीमय इभरगाउँ

भीमबहादुर सिंह

जाजरकोट —  भेरी नगरपालिका–५, इभरका २२ वर्षीय पहल रोकायलाई रोजगारी कता खोज्ने भन्ने पिरलो छैन । उनको दैनिकी पाखोबारीमै बित्छ । सोही ठाउँका मनवीर रोकाय, केशव रोकाय, देवी रोकाय र डिल्ली विष्टलाई पनि पाखोबारीमै भ्याइनभ्याइ छ । तरकारी खेतीका लागि उनीहरू इभरगाउँका अब्बल कृषक मानिन्छन् ।

तरकारीमय इभरगाउँ

उनीहरू पाँच जना मात्र हैन, इभरगाउँका ५५ घरधुरी व्यावसायिक तरकारी खेतीमा लागेका छन् । गाउँको पाखाबारीमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुने गरेको छ । गाउँका सबै पाखोबारीमा विभिन्न जातका तरकारी लटरम्म फलेका हुन्छन् । इभरमा वर्षभर नै तरकारी पाउने गरेको छ ।

१० बर्षदेखि इभरका किसान व्यावसायिक कृषिमा लागेका हुन् । १२/१५ बर्ष अघिसम्म पाखोबारीको अन्न उत्पादनले गुजारा नचल्दा इभरका स्थानीय कमाइका लागि भारतीय बजार धाउन बाध्य थिए । ‘आय आर्जनको अन्य उपाय नहुँदा रोजगारीका लागि बर्सेनि भारतको कालापहाडमा मजदुरी गर्नुपर्ने बाध्यता थियो,’ मनवीरले भने, ‘अहिले रोजगारीको पिरलो हराएको छ ।’ सिँचाइको सुविधा भएपछि सुक्खा पाखोबारीमा तरकारीले हराभरा हुने गरेको उनले बताए ।


विगतमा काम खोज्न कालापहाड धाउने इभरका बासिन्दा हिजोआज आफ्नै खेतबारीमा रमाएका छन् । ‘स्थानीवासीलाई तरकारी बिक्री वितरण, गोडमेल, बीउबिजनको चाँजोपाँजोलगायत काम गर्न भ्याइनभ्याइ छ,’ उनले भने, ‘इभरका किसान बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् ।’ स्थानीयवासीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक एक लाखदेखि १० लाखसम्म आम्दानी गर्ने गरेका उनले बताए । तरकारी खेतीमा थोरै लगानीबाट धेरै आम्दानी हुने गरेको उनले बताए । तरकारी खेतीले नै गाउँको जीवनशैलीमा परिवर्तन ल्याएको उनले जनाए । ‘बेमौसमी तरकारीले जीवन उकास्यो,’ उनले भने, ‘ हरेकले दुई रोपनीदेखि १० रोपनी पाखोबारीमा तरकारी लगाउने गरेका छन् ।’


इभरको खेतबारीमा मकै, गहँु, जांै, कोदो, धान खेतीको साटो मौसमी तथा बेमौसमी तरकारीले हराभरा देखिन्छ । इभरमा काउली, बन्दा, खुर्सानी, भाटा, करेला, काक्रो, भिन्डी, आलु, लौका, तोरी साग, भाजी साग, टमाटर, चिचिन्डो, अदुवालगायत उत्पादन हुने गरेको छ । प्रगतिशील कृषक समूह स्थापना गरेर व्यावसायिक तरकारी खेती गरिरहेको सचिव केशव रोकायले बताए ।

१० वर्षअघि गरिबी निवारण कोषको आर्थिक सहयोगमा समूहमा आबद्ध भई कृषिसम्बन्धी गतिविधि सञ्चालन गरेको उनी बताउँछन् । इभरमा व्यावसायिक तरकारी खेतीका लागि जिल्ला कृषि विकास कार्यालय, उच्च मूल्य कृषि वस्तु विकास आयोजनालगायतले बीउ, तालिम, ज्ञान तथा सीप, प्रविधि, सिंचाइ कुलो, सडक निर्माणलगायतमा सहयोग गरेका छन् । यातायातको सुविधा नहुँदा तरकारीलाई बजारीकरण गर्न समस्या भएको रोकायको गुनासो छ । तरकारीको डोको बोकेर खलंगा पुग्न चार घन्टा लाग्ने उनको भनाइ छ । कृषकले तरकारी प्रतिकिलो २० देखि ८० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।


किसानले परिश्रम गरे आम्दानीको चिन्ता नहुने जिल्ला समन्वय अधिकारी कमलराज भण्डारी बताउँछन् । पहाडको विकट बस्तीमा तरकारी खेतीले हरभरा देख्दा दंग परेको भण्डारीले बताए । इभरको तरकारीले सदरमुकामको बजारलाई धानेको उनले बताए ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?