१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भान्सा साह्रै महँगो

प्रदेश ब्युरो

बुटवल — चाडबाडको मुखमा बजारमा उपभोग्य वस्तुको मूल्य बढेको छ । दैनिक भान्सामा खपत हुने खाद्यान्नदेखि लत्ताकपडाको मूल्य बढेको हो । प्रदेशका विभिन्न जिल्लाका उपभोक्ताका अनुसार उपभोग्य वस्तुको भाउ १० देखि २५ प्रतिशतले बढेको छ ।

भान्सा साह्रै महँगो

‘सामान छोइसक्नु छैन,’ बुटवल, राजमार्ग चौराहकी मीना थापाले भनिन्, ‘चामलदेखि जिराको भाउ बढेको छ ।’ मूल्य उल्लेख भएका वस्तुमा बढाएर बेच्ने गरेको उनले गुनासो गरिन् । सहरदेखि ग्रामीण क्षेत्रसम्म महँगी छ । बुटवलमा साताअघिसम्म ६० रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले ७० देखि ७५ रुपैयाँमा किन्नु परेको छ । प्रतिक्विन्टल ५ हजार ५ सयमा पाइने मसिनो चामल ६ हजार ५ सय रुपैयाँ पुगेको छ । साँवा मनसुली ५ हजारबाट प्रतिक्विन्टल ६ हजार पुगेको छ । तोरीको तेल प्रतिलिटर २० रुपैयाँ बढेर १ सय ६० पुगेको छ । सोयाबिन तेल प्रतिलिटर ३० रुपैयाँ बढेर १ सय ४० पुगेको छ । चिउरा, आटा, मैदा, जिरा, आलु, खुर्सानी, अण्डाको भाउ पनि बढेको छ ।


गत वर्षको तुलनामा हरियो तरकारीको समेत २० देखि २५ प्रतिशत मूल्य बढेको खुद्रा व्यापारीले बताए । बुटवल ९ स्थित मिलन किराना पसलका मोहन खनालले एकै दिन बिहानको साँझ मूल्य बढेर आउने बताए । ‘कर र इन्धनको मूल्य बढेको बताउँदै थोक बजारबाटै सामानको भाउ बढेर आएको छ,’ उनले भने, ‘दाल र प्याजबाहेकका सबै वस्तुको मूल्य बढेको छ ।’


बुटवल उद्योग वाणिज्य संघले दसैंले नभई लागत बढेकाले मूल्यवृद्धि भएको बताएको छ । संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वलकुमार कसजूले डलरको मूल्य बढेकाले त्यसको असर उपभोग्य वस्तुमा परेको बताए । ‘यहाँ उत्पादन हुने वस्तुको कच्चा पदार्थ र इन्धन बाहिरबाटै ल्याउने हो,’ उनले भने, ‘डलरको भाउ बढदा सबै वस्तुको मूल्य बढ्छ ।’


उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्बु लामाले नियमित बजार अनुगमन र कारबाही नहुँदा व्यापारीले अस्वाभाविक मूल्यवृद्धि गरेको बताए । महँगीसँगै मिसावटले उपभोक्ता हैरान भएको उनको भनाइ छ । सहायक जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले उपभोक्ताको हितलाई मध्यनजर गरेर बजार अनुगमन गरेको बताए ।


सातामै बजार उर्लियो
पाल्पा सदरमुकाम तानसेनलगायल बजारमा एक साताको अवधिमा चिनीमा प्रतिकिलो ६ देखि १० रुपैयाँ बढेको छ । खाने तेलमा १० देखि ३० रुपैयाँँ प्रतिलिटर वृद्धि भएको छ । साताअघिसम्म १ हजार ३ सय २० रुपैयाँ प्रतिकार्टुन पाइने खाने तेल अहिले १ हजार ५ सय ८० पुगेको छ । चामलको भाउ उस्तै बढेको तानसेन ४ की विमला रायमाझीले बताइन् । अहिले प्रतिबोरा २ सय रुपैयाँसम्म मूल्य बढेको छ । ‘हरेक दिन मूल्य फरक हुन्छ,’ उनले भनिन्, ‘उपभोग्य सामानको यस किसिमको मूल्यवृद्धि अचम्मलाग्दो छ ।’ उपभोक्ताका अनुसार यहाँ जिरा (मसला)मा ४० रुपैयाँ प्रतिकिलो बढेको छ । बजारमा आटा, मैदा, सुजी, आलु, प्याज, चना र चिनीमा मूल्यवृद्धि भएको छ ।


इन्धनको मूल्य बढेपछि उपभोग्य वस्तुको भाउ आकासिएको व्यापारीको दाबी छ । आयात हुने सामानको मूल्य वृद्धि भएको हो । पाल्पा उद्योग वाणिज्य संघ उपाध्यक्ष शैलेन्द्र भट्टराईका अनुसार भारतबाट आयातित वस्तु महँगा भएका हुन् । ‘यहाँ उत्पादन भएका सामग्री सकिने गर्छन्,’ उनले भने, ‘डलरको भाउ बढेकाले पनि विगतमा भन्दा सामान महँगो भएको हो ।’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले महँगी कृत्रिम हो या यथार्थ अनुगमन हुनुपर्ने बताए । कर्जा महँगो हुनु, सरकारले राजस्व वृद्धि गर्नु जस्ता कारणले भाउ बढेको हुन सक्ने उनले बताए ।


सर्वसाधारणको दुखेसो
जुन वस्तुको दैनिक खाँचो छ, त्यसकै मूल्य बढेकाले मारमा परेको गुनासो उपभोक्ताको छ । खाद्यान्न, तरकारी, फलफूल र लत्ताकपडाको भाउ आकासिएको हो । ‘पहिले एक हजार रुपैयाँ पर्ने सामान अहिले १ हजार ३ सयदेखि १ हजार ४ सम्म भन्छन्,’ बाँकेको बैजनाथ गाउँपालिका १ की इन्द्रा सुनारले भनिन्, ‘डिजेलको मूल्य बढेको छ भनेर हामीसित धेरै पैसा माग्छन् ।’ बर्दियाको बढैयातालकी राधिका खरेलको भोगाइ पनि यस्तै छ । ‘४/५ दिनअघिसम्म १ सय ६० रुपैयाँ प्रतिलिटर पाइने तोरीको तेल अहिले १ सय ८० भन्छन्,’ उनले भनिन, ‘साँचो मूल्य कति हो, थाहै भएन ।’ दाल, चामल, चिनी, मसलाको मूल्य बढेको उनले बताइन् ।


सधैं खल्लो
उपभोग्य वस्तुको मूल्य बढेपछि विपन्न र कम आय भएका व्यक्तिको भान्छा खल्लो बनेको छ । मजदुरी गरेर गुजारा चलाउने मारमा परेका छन् । ‘यातायातमा सरकारले १० प्रतिशत भाडा बढायो,’ कपिलवस्तु नगरपालिका १ का व्यापारी मानसिंह केवटले भने, ‘त्यसलाई आधार मानेर २० प्रतिशतसम्म मूल्य बढाए ।’ यहाँ १० दिनअघि १ सय ५० रुपैयाँ प्रतिलिटर पाइने सनफ्लावरको तेल बढेर १ सय ६० छ । २ सय रुपैयाँ प्रतिलिटरमा पाइने धारा तेल २ सय २० पुगेको छ । प्रतिकिलो ४५ मा पाइने मैदा ५० रुपैयाँ पुगेको छ । ‘बढेको मूल्यमा बेच्न थाल्यौं,’ गौढीचोकका व्यापारी मदन केवटले भने, ‘उपभोक्ताले सजिलै स्वीकारे ।’


उपभोक्ता निराश
बर्दियाको मधुवन १ की शान्ता शर्मा खाने तेलको मूल्य एक साताको अन्तरमा प्रतिलिटर ३० रुपैयाँ बढेको सुनेर खंग्रङ भइन् । त्यसबाहेक नुन, पिठो, चिनीलगायत खाद्यान्नको भाउ सोधिन् । व्यापारीले सबैको मूल्य बढेको सुनाए । चाडवाडका बेला भाउ बढेपछि सर्वसाधारण निराश छन् । चामल, दाल, चाउचाउ, साबुन, पापडमा ५ देखि २० रुपैयाँ मूल्य बढेको स्थानीय व्यवसायीले बताए ।


सदरमुकाम गुलरियालगायत बजारमा एउटै सामानको मूल्य पसलपिच्छे फरक भएपछि स्थानीय उपभोक्ता थप मर्कामा परेका छन् । गुलरिया ५ की गृहिणी अनिता प्याकुरेलले हरेक सामानको मूल्य बढेपछि जीवन धान्न गाह्रो हुन थालेको बताइन् । प्रशासनले मूल्य सूची राख्न आह्वान गरे पनि व्यवसायीले चासो देखाएका छैनन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बजार अनुगमनका क्रममा कालोबजारी गर्ने २७ जनालाई पक्राउ गरी मुद्दा चलाएको बताए ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?