१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालमा उडान रोक्दै एयर एसिया 

सुरज कुँवर

काठमाडौँ — काठमाडौं विमानस्थल र पर्यटन बोर्डलाई कम्तीमा साढे २५ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको मलेसियाको एयर एसियाले असोज २७ देखि नेपालमा गर्दै आएको उडान बन्द गर्ने भएको छ । 

नेपालमा उडान रोक्दै एयर एसिया 

मलेसियाका लागि जाने नेपाली कामदारहरूलाई लक्षित गर्दै ६ वर्षअघि क्लालम्पुर–काठमाडौं–क्लालम्पुर रुटमा सस्तो भाडादरमा ३७७ यात्रु क्षमताको वाइडबडी विमान उडान थालेको एयरलाइन्सको नेपालस्थित जेनरल सेल्स एजेन्ट (जीएसए) इन्सेन्टिभ गु्रप अफ कम्पनीको विवाद लम्बिँदै गएपछि उडान नै बन्द गर्ने अवस्थामा पुगेको हो । हाल सातामा मंगलबार र शुक्रबार गरी दुई दिनमा खुम्चिएको यसको अन्तिम उडान असोज २६ पछि हुने छैन । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ०६९ देखि ०७४ सम्मको बुझाउन बाँकी अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसज (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, भाडासहितको २७ करोड र यो रकमको विलम्ब शुल्क १३ करोड गरी कम्तीमा ४० करोड रुपैयाँ बाँकी थियो ।


यो रकममध्ये यसले हालसम्म साँवातर्फको २२ करोड हाराहारी बुझाइसकेको छ । ‘अब साँवातर्फ ५ करोड र १३ करोड विलम्ब शुल्क बाँकी देखिन्छ,’ काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । यसबाहेक यस एयरलाइन्सले पर्यटन बोर्डलाई बुझाउन ७ करोड ६६ लाख रुपैयाँ पर्यटकबाट उठाएको रकम बुझाउन बाँकी रहेको बोर्डका सीईओ दीपकराज जोशीले बताए । यी दुवै निकायलाई बुझाउन बाँकी रकम २५ करोड ६६ लाख रुपैयाँ छ ।


‘यो रकम मेरो कार्यकालभन्दा अघिका महाप्रबन्धकका पालादेखिको सञ्चित हो,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘उठाउन नसक्नुमा काठमाडौं विमानस्थलको तालुक निकाय नागरिक उड्डयन प्राधिकरण पनि जिम्मेवार छ । हाम्रो नियममा हरेक ६/६ महिनामा आन्तरिक अडिट हुन्छ । किन सम्बन्धित कर्मचारीले हेरेन ?’ उनले प्रश्न गरे । क्षेत्रीले आफू विमानस्थल प्रमुख भई आएपछि २७ करोडबाट घटाउँदै अब ५ करोड साँवा र १३ करोड विलम्ब शुल्क असुल्न बाँकी रहेको बताए । एक घण्टा विमान रोक्ने लगायतका दबाबमूलक काम गरेर केही रकम उठाएको बताउँदै उनले बाँकी रकमका लागि ताकेता गरिरहेको जनाए । ‘शुक्रबार बक्यौता चुक्ता नगरे अब जहाज काठमाडौंमै रोकिदिन्छु,’ क्षेत्रीले भने ।


यस एयरलाइन्सकी मलेसियास्थित कम्युनिकेसन हेड भेनेसा रेइगनले नेपाल सरकारका दुइटा निकाय काठमाडौं विमानस्थल र पर्यटन बोर्डलाई भुक्तानी गर्न बाँकी रकम एयर एसियाका कारण नभई स्थानीय जीएसए इन्सेन्टिभका कारण रहेको बताइन् । लाजिम्पाटमा रहेको यो कम्पनी पर्यटन व्यवसायी हरिमान लामाको हो । उनी हाल सम्र्पकविहीन छन् । सञ्चार प्रमुख रेइगनले नेपालका लागि हुने उडान स्थगन गर्नुमा ‘एयरलाइन्सको अपरेसन तथा उडान सञ्जाल पुनर्गठन तथा दक्षता सुधार’ भएको बताइन् । इमेलमार्फत उनले कान्तिपुरलाई भनेकी छन्, ‘नेटवर्कको मागबमोजिम संसाधन (विमान) लाई सञ्जालहरूमा पुनव्र्यवस्थापन गर्नु छ । यो मानक व्यावसायिक अभ्यास पनि हो । तत्काल हामी नेपाल फेरि फर्किने योजना छैन ।’


लामो दूरीका लागि सस्तो टिकट दरमा उडान गर्ने यो एयरलाइन्सले ०६९ असारदेखि नेपालमा उडान थालेको थियो । यसले ३ सय ७७ यात्रु क्षमता भएको एयरबसको वाइडबडी विमानमार्फत सेवा दिँदै आएको छ । यो विमानअघि मलेसियाका लागि मलेसिया एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि उडान गर्थे । लेवरमार्केट देखेरै एयर एसियापछि हिमालय र मालिन्दो एयर पनि यो रुटमा आए । तर, अहिले कामदार रोकिएपछि यी सबैले उडान संख्या कटौती गर्दै आएका छन् ।



प्रकाशित : आश्विन १७, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?