२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अखाद्य वस्तुजति पहाडमा

सुदूरपश्चिम ब्युरो

धनगढी — चाडबाड र मूल्य वृद्धिको मौका छोपी पहाडी क्षेत्रका उपभोक्तालाई लक्षित गरी अखाद्य वस्तु बिक्री वितरण हुन थालेको छ । व्यापारीहरूले तराईमा खपत हुन नसकेका अखाद्य वस्तु पहाडमा बिक्री वितरण गरिरहेका हुन् ।

अखाद्य वस्तुजति पहाडमा

धनगढी तथा नेपालगन्जका व्यापारीहरूले त्यहाँ खपत हुन नसकेका वस्तु पहाडी जिल्लामा पठाउने गरेको आरोप उपभोक्ताहरूको अधिकारका लागि काम गरिरहेका संघ संस्थाहरूको छ ।


डोटी र डडेल्धुरामा बुधबार बेग्लाबेग्लै अनुगमन गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले पिपल्ला बजार र जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अमरगढीमा बुधबारदेखि बजार अनुगमन थालेको छ । अनुगमनका क्रममा व्यापारीहरूले बिक्रीका लागि पसलहरूमा राखेका पेय पदार्थ, सुर्तीजन्य वस्तु, बिस्कुट, चाउचाउ, काजु किसमिस, सुपारीहरू अखाद्य अवस्थामा फेला परेको छ । टोलीले अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । ‘साविककको क्षेत्रीय सदरमुकाममा नै हरेक पसलमा अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छयापछयाप्ती पाइयो,’ अनुगमन टोली संयोजक तथा दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खडकाले भने, ‘गाँउतिर कस्तो अवस्था होला कल्पनै गर्न सक्दैनौं ।’


रिटेलिङ गर्ने व्यापारीहरूले पहाडी जिल्लामा यस्ता अखाद्य वस्तु ओसार्ने गरेका छन् । त्यस्ता अखाद्य वस्तुहरू पहाडी जिल्ला आउनबाट रोक्न सरकारी नियमन प्रभावकारी नहुँदा व्यापारीहरू हौसिएको उपभोक्ता मञ्चका सुदूरपश्चिम प्रदेश संयोजक विपिन भट्टले बताए ।


रिटेलिङबाहेकका थोकमा व्यापार गर्ने व्यापारीहरूले पनि चाडबाडको मौका छोपी ग्रामीण क्षेत्रमा अखाद्य वस्तु पठाउने गरेका छन् । ‘तराईबाट सामान ओसारेर दिपायल, सिलगढी, अमरगढीलगायतका थोक व्यापारीमार्फत पहाडका गाउँतिर चाडबाडका समयमा ठूलो परिणाममा अखाद्य वस्तु भित्रिन्छ,’ दिपायलका हर्कबहादुर बोहराले भने, ‘यसमा सरकारको नियन्त्रण र नियमन गर्न ध्यान जान सकेको छैन ।’


यहाँका अधिकांश व्यापारी तथा उपभोक्ताहरूमा वस्तुको म्याद तथा अखाद्य वस्तुबारे चासो नरहेकाले फाइदा उठाउने गरेको उपभोक्ताहरूको गुनासो छ । खेरजाने त्यस्ता वस्तुहरू १० देखि २० प्रतिशतसम्म सस्तो मूल्यमा ग्रामीण क्षेत्रका व्यापारीहरूलाई दिपायलकै व्यापारीहरूले पठाउने गर्छन् । ‘व्यापारी मात्रै नभएर उपभोक्ता पनि उत्तिकै दोषी छन्,’ स्थानीय डिलबहादुर भण्डारीले भने ‘उपभोक्ताहरूबाटै कडाइ भएको भए, व्यापारी पनि सजग हुने थिए ।’


डडेल्धुरामा अखाद्य वस्तु खरिद बिक्री रोक्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी आफैं खटेका छन् । उनले बजार अनुगमनसँगै ठाउँठाउँमा प्रहरीले चेकजाँच पनि गर्न लागेको जानकारी दिए । बुधबार अमरगढी बजारमा दैनिक उपभोग्य सामग्री तथा पेय पदार्थ म्याद गुज्रेको अनुगमन टोलीले फेला पारेको थियो ।


पछिल्लो समय सदरमुकाम केन्द्रित बजार क्षेत्रमा बर्सेनि बजार अनुगमन हुने गरेको भए पनि ग्रामीण क्षेत्रमा भने खुला छ । ग्रामीण क्षेत्रमा मूल्य बढाउनुका साथै अखाद्य वस्तु बिक्री हुने गरेको केआईसिंह गाउँपालिका तिखातरका चक्र जेठाराले बताए । चामल दाल, चिनी र तेलमा डोटीकै सदरमुकामका बजारहरूभन्दा १० देखि २० रुपैयाँ बढी महंगो छ । डडेल्धुराको जोगबुढा आलीताल क्षेत्रमा पनि सदरमुकामका बजारभन्दा बढी महंगो मूल्यमा दैनिक उपभोग्य वस्तुहरूमा हाल्नुपर्ने बाध्य उपभोक्ताको छ ।


चाडबाडको मुखमा मूल्य अकासियो
धनगढीको उत्तरबेहडीकी निर्मला पनेरु दसैंको लागि चाहिने उपभोग्य वस्तुका लागि स्थानीय बजार छोडेर सीमावर्ती भारतीय बजार पुगिन् । उनी उता सस्तो लागि गएको बताउँछिन् । ‘यतिबेला बजारमा मालसमान किनी नसक्नु भएको छ,’ उनले भनिन्, ‘हरेक वस्तुको समानमा मूल्य असाध्यै बढेको छ ।’ उनले पलियामा पनि गत वर्षको तुलनामा खाद्य वस्तुको मूल्य बढेको भए पनि यता धनगढीको भन्दा सस्तो पर्ने गरेको बताइन् ।


पलियामा चनाको दाल ४० रुपैयाँ किलो पर्छ, यहाँ १ सय २० रुपैयाँ पर्ने उनले बताइन् । चाडवाड आएपछि हरेक वर्ष मूल्य वृद्धि हुने गरेको पनेरुको अनुभव छ । धनगढीको साल्टट्रेडिङ बजार क्षेत्रमा किनमेल गर्न लागेकी बबिता शाहाले भनिन्, ‘हरेक वस्तुमा अचाक्ली मूल्य वृद्धि भएको छ ।’ पनेरुका अनुसार समान दाल, चिनी, मसला, चामललगायत भन्साका सबै वस्तुको मूल्य गत वर्षको तुलनामा वृद्धि भएको छ ।


धनगढी बसपार्कमा किराना पसले हरि पौडेले गत वर्षको तुलनामा यस वर्ष २० देखि ५० प्रतिशत खाद्यवस्तु महँगिएको बताए । उनले वस्तुको माग र अपूर्ति बराबर नहुँदा चाडबाडमा बढी हुने गरेकाले महंगो भएको बताए । स्थानीय बसपार्ककी दीपा ऐरले खाद्यवस्तु मात्रै नभएर तरकारी र फूलफल पनि महँगो भएको बताइन् । त्यसैगरी उनले अखाद्य वस्तु भाँडाबर्तन लत्ताकपडामा पनि व्यापारीले चाडबाडको बेला लुट मच्चाउने गरेको बताइन् ।


चाडबाडको बेला उपभोक्ता महँगीको मार त पर्छ नै वस्तुमा मिसावट, म्याद गुज्रेका गुणस्तरहीन खाद्य सामग्री र नापतौलमासमेत ठगिने गरेको सूर्यदेव भण्डारीले भने । उनका अनुसार यसबेला मिसावट र म्याद सकिएका खाद्य वस्तुको बिक्री बढेको छ । बजार अनुगमनमा सरोकार निकायहरूको ध्यान पुग्न नसकेको उनको गुनासो छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक सहर धनगढीमा बढेको कारोबारमा उपभोक्ताहरू ठगिँदा समग्र प्रदेशमा असर पर्छ । खाद्यमा मिसावट, नापतौलमा बदमासी र म्याद गुज्रेका वस्तुको बिक्री बढेको गुनासो आउने गरेको राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बताउँछन् ।


उनले यसबेला जिल्ला प्रशासनको नेतृत्वमा सरोकार पक्ष सबैको संयुक्त अनगमन गर्न आवश्यक रहेको बताए । ‘नियमनकारी निकाय नै प्रभावकारी भएनन्,’ रेग्मीले भने, ‘उपभोक्ताहरूले अखाद्यवस्तु खानुपरेको छ । झन् चाडबाड सुरु भएको बेला बजारमा लुट चलिरहेको हुन्छ । त्यसलाई नियन्त्रण गर्न परेन ?’ उनले सरकारका विषयगत नियमनकारी निकायहरूले बजार अनुगमनको कुनै प्रभावकारी काम देखाउन नसकेको बताए ।


‘विषयगत कार्यालयका वार्षिक क्यालेन्डरअनुसार अनुगमन भए होलान्,’ उनले भने, ‘तर ती अनुगमन उल्टै व्यापारीलाई तर्साउने, कारबाहीको डन्डा देखाएर पैसा उठाउने काम मात्रै हुन् ।’ यस प्रदेश खाद्यवस्तु नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य, नापतौल कार्यालयको प्रभावकारिता नै नभएको रेग्मी बताउँछन् ।


क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय धनगढीका प्रमुख सुमन धितालले बजार अनुगमन भइरहेको बताए । उनकाअनुसार भदौयता १० खाद्य तथा किराना पसल नौ वटा खाद्यान्न उद्योग, ७ पटक होटल तथा रेस्टुराँहरूको चेकजाँच गरेको बताए । उनले केही उद्योग तथा पसलबाट नमुना संकलन भएको समेत बताए । उनले ‘खाद्य स्वच्छता अभियान २०७५’ लाई साकार रूप दिन महिना र हप्तैपिच्छे बजार अनुगमन भइरहेको जानकारी दिए । धितालका अनुसार गत आर्थिक वर्षमा १४ वटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । कैलाली ९, कञ्चनपुर ३, र बझाङ जिल्ला प्रशासनमा २ वटा मुद्दा दर्ता भएको बताए ।


मौसमी अनुगमन
फाट्टफुट्ट बजार अनुगमन गर्दै आएको प्रशासन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा भने अनुगमन सुरु गरेको छ । चाडपर्वका बेला व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै अनुगमन कार्यलाई सुरु गरिएको कार्यालयले बताएको छ ।


जिल्लाको मुख्य व्यापारिक केन्द्र जयगढ र बयालपाटामा बुधबार गरिएको अनुगममा केटाकेटीले खाने सामान सबैभन्दा धेरै म्याद नाघेको पाएको रावलको भनाइ छ । उनकाअनुसार जयगढमा दालमोट ४१ पोका, चिजबल ८६ पोका, चक्लेट २५ बट्टा, तेल १० बोतल, सुजी, बेसार लगायतका खाद्य वस्तु फेला परेका हुन् । त्यसैगरी बयालपाटामा बिस्कुट ७० पोका, सन्चो साबुन ४३ वटा, चाउचाउ ८८ पोका, तेल १२ पोका बरामदपछि नष्ट गरिएको छ । अनुगमनकै क्रममा जयगढ र बयालपाटाबाट नापतोल सही नभएका ४ वटा तराजुसमेत जफत गरिएको रावलले बताए ।


अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी शीतल रावलले अनुगमनलाई तीव्र रूपमा अगाडि बढाइएको बताए । ‘चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढी हुने भएकाले व्यवसायीले उपभोक्ता ठग्न सक्छन्,’ उनले भने, ‘बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र मूल्य वृद्धि रोक्न नियमित रूपमा बजार अनुगमनको कामलाई अगाडि बढाइरहेका छौं ।’


चाडपर्वका बेला बजारमा किनमेल धेरै हुँदा व्यवसायीले उपभोक्ता ठग्न सक्न हुँदा अनुगमनलाई प्रभावकारी ढंगले अगाडि बढाइएको उनको भनाइ छ । कार्यालयले दिनहुँजसो अनुगमन गर्दै आइरहेको छ ।


(डडेलधुराबाट डिआर पन्त, धनगढीबाट मोहन बुढाऐर, डोटीबाट मोहन शाही र अछामबाट मेनुका ढुंगाना)

प्रकाशित : आश्विन १८, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?