‘६० प्रतिशत नेपालीसँग इन्टरनेट चल्ने फोन’

विजय तिमल्सिना

काठमाडौँ — आधाभन्दा बढी नेपालीसँग स्मार्ट फोन रहेको एक अध्ययनले देखाएको छ । नेपालसहित दक्षिण एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकका १८ देशमा गरिएको अन्तर्राष्ट्रिय सर्वेक्षणले ५२ प्रतिशत नेपालीसँग स्मार्ट फोन रहेको देखाएको हो ।

‘६० प्रतिशत नेपालीसँग इन्टरनेट चल्ने फोन’

८ प्रतिशत नेपालीले भने इन्टरनेट चल्ने सुविधा भएको ‘फिचर फोन’ बोक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


अध्ययनमा समावेश १८ देशमध्ये नेपालभन्दा बढी स्मार्ट फोन प्रयोगकर्ता भएको मुलुक ग्वाटेमाला, पाराग्वे, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया र अर्जेन्टिना छन् । नेपालका ४० प्रतिशत मोबाइल प्रयोगकर्ताले भने बेसिक (साधारण) फोन प्रयोग गर्ने प्रतिवेदनमा उल्लेख छ । बेसिक फोनमा इन्टरनेट चलाउन मिल्ने सुविधा हुँदैन ।


छिमेकी भारतमा भने २८ प्रतिशतले मात्रै स्मार्ट फोन प्रयोग गर्ने अध्ययनले देखाएको छ । पाकिस्तानमा स्मार्ट फोन प्रयोगकर्ता २२ प्रतिशत मात्रै छन् । बंगलादेशमा स्मार्ट फोन प्रयोगकर्ता कुल फोन प्रयोगकर्तामध्ये २४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।


यी मुलुकबाहेक पाराग्वे, नाइजेरिया, घाना, कम्बोडिया, केन्या, तान्जानिया, रुवाण्डा र मोजाम्बिक पनि अध्ययनमा समेटिएका छन् । लर्न एसिया नामक संस्थाले यी मुलुकमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालसहित डिजिटल पहुँच अध्ययनका लागि गरेको अध्ययन प्रतिवेदनलाई ‘आफ्टर एक्सेस’ नाम दिइएको छ ।


अध्ययनमा १५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरू समावेश गरिएको थियो । नेपालका इन्टरनेट प्रयोगकर्ताले अन्य मुलुकका प्रयोगकर्ताभन्दा अघिदेखि अनलाइन प्रयोग गर्दै आएको अध्ययनले देखाएको छ । नेपालका इन्टरनेट प्रयोगकर्तामध्ये ७८ प्रतिशत प्रयोगकर्ता १ वर्षभन्दा अघिदेखि अनलाइनमा रहन थालेका थिए । अध्ययनमा समेटिएका २२ प्रतिशतले मात्र एक वर्षयता अनलाइन चलाउन सुरु गरेको उत्तर दिएका थिए । भारतमा ३३ प्रतिशतले भर्खरै अनलाइन हुन सुरु गरेको अध्ययनमा भनिएको छ । यस्तै, पाकिस्तानमा ५३ प्रतिशतले एक वर्षयता मात्रै इन्टरनेट प्रयोग गर्न थालेका छन् ।


नेपालमा इन्टरनेट प्रयोगमा पुरुष र महिलाबीचको भिन्नता ३३ प्रतिशत भए पनि अध्ययनमा समेटिएको एसियाली मुलुकको तुलनामा लैङ्गिक भिन्नता कम रहेको अध्ययनले देखाएको छ । अधिकांश मोबाइल प्रयोगकर्ताले मोबाइलमा इन्टरनेट चलाउने पनि अध्ययनले जनाएको छ । इन्टरनेट चल्ने मोबाइल प्रयोगकर्तामध्ये ७७ प्रतिशतले आफ्नो मोबाइलमा विभिन्न एप्सहरू प्रयोग गर्छन् । तीमध्ये धेरैले सामाजिक सञ्जाल र म्यासेजिङ एप प्रयोग गर्ने अध्ययन प्रतिवेदनले औंल्याएको छ ।


अध्ययनका अनुसार नेपाल अनलाइनमा कम दुव्र्यवहार भएको मुलुक पनि हो । अध्ययनमा जनाइए अनुसार नेपालका निकै थोरै इन्टरनेट प्रयोगकर्ताले मात्रै अनलाइन दुव्र्यवहारको अनुभव गरेका छन् । प्रतिवेदनअनुसार ४ प्रतिशतले मात्रै अनलाइनमार्फत दुव्र्यवहार (ह्यारेसमेन्ट) को अनुभव गरेको भेटिएको छ । कम्बोडियामा सबैभन्दा बढी २६ प्रतिशतले अनलाइनमा दुव्र्यवहारको अनुभव गरेको बताएका छन् ।

तर सामाजिक सञ्जालबाट सम्प्रेषित समाचार र जानकारी पत्याइहाल्ने नेपालीको संख्या भने बढी छ । अध्ययनमा समावेश गरिएकामध्ये ५८ प्रतिशतले सामाजिक सञ्जालमा प्रेषित हुने समाचार पूर्णरूपमा विश्वास गर्ने बताए । अन्य मुलुकको तुलनामा उच्च हो ।


एसियामा सूचना तथा प्रविधिसम्बन्धी नीति नियमसम्बन्धी काम गर्ने ‘थिंक ट्यांक’ संस्था ‘लर्न एसिया’ ले अध्ययन गरेको हो ।


‘आफ्टर एक्सेस’ नाम दिइएको यो अध्ययनले ४६ प्रतिशत नेपालीलाई इन्टरनेटबारे जानकारी भएको देखाएको छ । एसियाली मुलुक भारत, पाकिस्तान, म्यानमार, बंगलादेश र कम्बोडियामा इन्टरनेटबारे थाहा पाउने जनसंख्या नेपालभन्दा कम रहेको अध्ययनले औंल्याएको छ ।


प्रतिवेदन बिहीबार सार्वजनिक भएको हो । प्रतिवेदन सार्वजनिक गर्दै लर्न एसियाकी प्रमुख कार्यकारी अधिकृत हेलानी गलपायाले नेपालमा इकर्मसको सम्भावना धेरै रहेको बताइन् ।


अध्ययनले ३ प्रतिशत नेपालीले मात्रै रकम प्राप्त गर्न र पठाउन मोबाइलको उपयोग गरेको देखाएको छ । अन्य मुलुकको तुलनामा यो प्रतिशत निकै न्यून हो । अध्ययनमा नेपालका सातै प्रदेशका १ सय वडाका २ हजार बढी परिवारसँग सर्वेक्षण गरिएको थियो । १८ देशका ३८ हजार व्यक्ति र परिवारसँग तथ्यांक संकलन गरी प्रतिवेदन तयार पारेको लर्न एसियाले जनाएको छ ।

प्रकाशित : आश्विन २०, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?