युरिया मल वीरगन्ज आयो

शंकर आचार्य

पर्सा —  रेल्वे र्‍याक नपाएर भारतको विशाखापट्टनम बन्दरगाहमा अड्किएको कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज आउन थालेको छ । शनिबार एक र्‍याक युरिया मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका स्टोर शाखाका वरिष्ठ सहायक शिवप्रसाद खतिवडाले जनाए ।

युरिया मल वीरगन्ज आयो

२ हजार ५ सय टन मल बोकेर आएको उक्त र्‍याकबाट मल अनलोड गरी आइतबार ४० ट्रक मल कम्पनीको वीरगन्ज भुटनदेवीस्थित गोदाममा ल्याई भण्डारणसमेत गरिसकेको उनले बताए । यसअघि भदौ ११ मा पनि एक र्‍याक युरिया मल आएको थियो ।

विशाखापट्टनममा कम्पनीको ३० हजार टन युरिया मल रेल्वे र्‍याक नपाउँदा नेपालसम्म ढुवानी नभई अडकिएको थियो । भारतको इन्डियन पोटास लिमिटेडले ग्लोबल टेन्डरबाट नेपालसम्म ल्याउन लागेको मल वीरगन्ज ल्याउन रेल्वे र्‍याक नपाएर ढिलाइ भएको थियो ।

२ र ३ नम्बर प्रदेशका जिल्लाहरूमा रासायनिक मलको वितरण गर्दै आएको कम्पनी क्षेत्रीय कार्यालयमा युरिया मलको मौज्दात डेढ महिनाअघि पनि झन्डै रित्तिएको थियो । युरिया मात्र नभई डीएपी मल पनि पछिल्लो समय आउने क्रम जारी रहेको खतिवडाले जनाए । असोज १५ मा विल्सन इन्टरनेसनल कम्पनीले ग्लोबल टेन्डरबाट पाएको ठेक्कामध्ये एक र्‍याक डीएपी मल सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको थियो । चालु आर्थिक वर्षमा पहिलोपटक कम्पनीको डीएपी मल आएको उनले बताए ।


साउनयता कम्पनीको ६ र्‍याक युरिया र १ र्‍याक डीएपी मल भारत तथा तेस्रो मुलुकबाट नेपाल आइसकेको छ । कम्पनी क्षेत्रीय कार्यालयले साउनयता शनिबारसम्ममा गरी १२ हजार २ सय ४३ टन युरिया मल पाएको र १५ हजार २ सय १५ टन मल परिचालनसमेत गरिसकेको खतिवडा बताउँछन् । यस वर्ष कार्यालयले यति परिमाणमा मल परिचालन गरेको हो ।


त्यसैगरी चालु आवमा शनिबारसम्म ३ हजार २ सय ५१ टन डीएपी मल प्राप्त गरी ७ हजार ३ सय ६९ टन यो मल परिचालन भइसकेको खतिवडाले बताए । हाल धानबालीको सिजन भएकाले डीएपीभन्दा युरिया मलको माग बढी छ । तराईका जिल्लाहरूमा अहिले धानबालीमा यो मल छरिँदै छ ।


पछिल्लो समय काभ्रे जिल्लाबाट युरिया र डीएपी दुवै मलको माग बढी आएको उनले बताए । काभ्रेमा हाल यी दुवै मलको मौज्दात करिब सकिएको छ । त्यहाँको पाँचखाल, पनौती, नाला क्षेत्रका किसानले धानबाली काटेर आलु बाली लगाउने सिजन रहेकाले मलको माग बढेको उनले बताए । माग भएबमोजिम मल पठाउने काम पनि भइरहेको उनले बताए । तराईका जिल्लाहरूमा भने बिस्तारै मलको माग घटदै गएको उनले जनाए । किसानले धानबालीमा मल छरिसकेकाले माग पनि घट्ने क्रममा रहेको उनले बताए ।

प्रकाशित : आश्विन २२, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?