१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एम्ब्रेयर जेटको सगरमाथा यात्रा

सुरज कुँवर

काठमाडौँ — डेढ सयसम्म सिट क्षमताका कमर्सियल जेट विमान उत्पादनमा अग्रस्थानमा रहेको ब्राजिलको एम्ब्रेयर कमर्सियल एभिएसनको पछिल्लो संस्करण इ१९०–इटू (इआरजे) विमानले नेपालमा आफ्नो पहिलो उडान गरेको छ । 

एम्ब्रेयर जेटको सगरमाथा यात्रा

स्विजरल्याण्डबाट भारत हुँदै शुक्रबार काठमाडौं आइपुगेको एम्ब्रेयर जेट विमानले सोमबार काठमाडौंबाट पर्वतीय उडान गरेको थियो । काठमाडौंबाट उडेको उक्त डेमो उडान ४० मिनेटको थियो । सगरमाथा हिमाललाई उत्तरतिर पारेर फन्को लगाउँदै विमान पुन: काठमाडौं नै अवतरण गराइएको थियो । उक्त उडानमा नेपाली उड्डयन क्षेत्रसँग सम्वन्धित व्यवसायी, पाइलट, इन्जिनियर, प्राविधिक लगायत ८६ यात्रु थिए ।

युरोप टूर सकेर एशिया प्यासिफिक टूरकालागि पहिलो गन्तव्य नेपाललाई बनाएको एम्ब्रेयरले आफ्नो विमानलाई काठमाडौंबाट सोमबारै म्यानमारतर्फ उडाएको छ । म्यानमारपछि यो विमान कोरिया, जापान हुँदै अष्ट्रेलिया पुगेर आफ्नो टूर समापन गर्ने छ ।

नेपाल ल्याइएको विमान प्रोटोटाइप अर्थात मोडल विमान हो । समुद्री माछा सार्कलाई जहाजको लिभरी (बाहिरी आवरण ढाँचा ) मा पेन्ट गरिएको यो प्रोटोटाइप विमान यात्रु उडानकालागि बिक्रि गरिँदैन । एम्ब्रेयरसँग यस्ता तीनवटा विमान छन् । अन्य दुईमा बाघ र चिलको चित्र पेन्टिङ छ । यी दुईवटा पनि प्रोटोटाइप विमान हुन । तीनवटै विमान संसारभर ब्रान्डिङ टूर वा प्राविधिक परीक्षण लगायतका कामकालागि मात्रै प्रयोग हुन्छन् ।


नेपालमा यस कम्पनीको विमान उडाउने कुनै पनि वायुयान कम्पनी छैनन् । यो विमान नेपालबाट छिमेकी मुलुक भारत र चीनसँग जोडिएका क्रसबोर्डर शहरकालागि हुने क्षेत्रिय उडानकालागि उपयुक्त मानिन्छ । नेपाल सरकारले पोखरा, नेपालगञ्ज लगायतका शहरबाट भारतका विभिन्न शहरमा क्षेत्रिय उडान संचालन गर्ने तयारी गरेपछि यो ब्राजिलियन कम्पनी नेपाली व्यवसायीहरुलाई आर्कषित गर्न नेपाल आएको अनुमान गरिएको छ ।

यद्यपि कुनै पनि कम्पनीहरुले हालसम्म यो विमान खरिद गर्ने घोषणा सार्वजनिक गरिसकेका छैनन् । ५ अर्ब ९० करोड रुपैया हाराहारी मूल्य भएको यो विमानमा १ सय १८ वटा सम्म सिट राख्न सकिन्छ । यसको उडान रेञ्ज एकतर्फी ५२ सय किलोमिटर हाराहारी छ ।

हाल यस कम्पनीका उत्पादन उडाउने अमेरिका, चीन, बेलायत, फ्रान्स, जापान, तान्जानियालगायत ६० मुलुकमा १ सय हाराहारी वायुयान कम्पनी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

१ सय ५० सिटसम्मका जेट विमान उत्पादन गर्ने यस कम्पनीले पछिल्ला ४९ वर्षयता ईआरजे र ईजेट गरी ८ हजार विमान बिक्रि गरीसकेको जनाएको छ । यीमध्ये २२ वर्षयता ३७ देखि ५० सिट क्षमता भएका साना ९ सय इआरजे विमान वायुयान कम्पनीहरुलाई उपलब्ध गराइसकेको पनि जनाएको छ ।

हाल १८ सय जेट विमानको अर्डर प्राप्त भएको जनाउँदै यसले काठमाडौंमा ल्याइएको ईटू विमान ७ महिनाअघि देखि मात्रै कमर्सियल उडानमा पहिलोपटक प्रवेश गरेको विमान भएको जनाएको छ । यो प्रकारको विमान अहिले नर्वे र चीनका दुईटा एयरलाइन्सले उडानमा ल्याइसकेका छन् ।


नेपालमा ल्याइएको विमानले यस वर्ष फ्रान्सको फानवर्गमा भएको एयर शोमा पहिलोपटक डेब्यू गरेको थियो ।

प्रकाशित : आश्विन २२, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?