कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मिल्क होलिडेले किसानलाई सास्ती

रवीन्द्र उप्रेती

महोत्तरी — ‘न उखुको पैसा दिन्छौ न दूध किनिदिन्छौ अनि कसरी चलाउनु घरपरिवार’ यो भनाइ ६५ वर्षीया मरनीदेवीको हो  । दूध नबिकेपछि गौशाला–११ डुमरवानास्थित जय हनुमान डेरीबाट फर्कंदै गर्दा उनले यो बिलौना गरेकी हुन्  ।

मिल्क होलिडेले किसानलाई सास्ती

चाडपर्वको मुखमा दुग्ध विकास संस्थान (डीडीसी) ले फेरि मिल्क होलिडे सुरु गरेको छ । संस्थानका कर्मचारीका अनुसार खपतभन्दा बढी संकलन भएकाले साताको २ दिन मिल्क होलिडे गरिएको हो । यो माघसम्म रहने उनीहरूको भनाइ छ । चिनी मिलले उखुको भुक्तानी नदिंदा उसै पनि आर्थिक संकट झेलिरहेका कृषक मिल्क होलिडेबाट थप मर्माहत भएका छन् ।


मरनीदेवीको छोरो रोजगारका लागि गुजरात गएका छन् । एउटा दुहुनो गाई छ । उनी त्यही गाईको सेवा गर्छिन् । त्यसले ४ लिटर दूध दिन्छ । एक लिटर नातिनातिनाले खान्छन् । तीन लिटर डेरीमा बेच्छिन् । त्यहाँबाट आएको आम्दानीले घर खर्च चलाउँदै आएकी उनले बताइन् । तर, शनिबारदेखि फेरि मिल्क होलिडे सुरु भएपछि मरनीदेवीजस्ता दर्जनौं किसान पीडामा छन् ।


मिल्क होलिडेको पिरलो अहिले मात्र नभई दुग्ध विकास संस्थानले पटकपटक दिंदै आएको किसानको दुखेसो छ । यसअघि साउनको दोस्रो साता पनि दूध बन्द गरेको उनीहरूले जनाए । ‘कहिले भने दूध खरिद गर्ने तर समयमा भुक्तानी नदिंदा पनि दूध दिने गरेकै थियौं,’ गौरी महतोले भने । यस्ता हर्कतबाट उदासीन बनेका पशुपालक किसान चौपाया बेचेर बिदेसिन थालेको गाउँमा थुप्रै उदाहरण छन् । ४९ वर्षीय महतो पनि यस्तै मनस्थितिमा पुगेको बताउँछन् ।


दूध व्यवसायका लागि उनले ३ वर्षअघि डेढ लाख ऋण उठाएका थिए । घरबाट २५ हजार थपेर ३ वटा गाई खरिद गरेका थिए । २० लिटरसम्म दूध उत्पादन हुन थाल्यो । दिनको ७/८ सयसम्म आम्दानी हुन थाल्यो । दूध खान पाउँदा परिवार पनि खुसी थिए । हरेक दुई सातामा भुुक्तानी हुँदा बैंकको किस्ता पनि नियमित तिर्न पाएकाले दूध व्यवसायबाट उनी सन्तुष्ट थिए ।


तर, अर्को वर्षदेखि मनपरी हुन थाल्यो । बेलाकुबेला दूध लिन बन्द गर्ने, दूध खरिदमा कोटा बाँध्ने, समयमा भुक्तानी नदिने अनि समयमा किस्ता तिर्न नसक्दा बैंकले जरिवाना ठोक्नेजस्ता झन्झटले दिक्क भएर २ वटा गाई बेचेको उनले सुनाए ।


‘अब त झन् मिल्क होलिडे रे, गाईलाई ख्वायो, भकारो उठायो, त्यही हो होलिडे भनेको ?’ उनले आक्रोश पोखे, ‘अब त भएको एउटा दुहुनो पनि बेचबाच पारेर बिदेसिने चक्करमा छु ।’


केही वर्षदेखि उखु खेतीबाट आम्दानीको तुलनामा समस्या बढ्न थालेपछि यताका कृषक नगदेबालीको विकल्पका रूपमा दूध उत्पादनतर्फ आकर्षित हुन थालेको बताउँछन् । संस्थानले ग्रामीण इलाकामा दूध उत्पादनलाई प्रोत्साहन गर्न यहाँको गौशाला बजारमा चिलिङ सेन्टर (चिसे) स्थापना गरेपछि भरतपुर, गौशाला, बटौवा, बेलगाछी, खेसराहा, सुन्दरपुर, कान्तिबजार, औरही, भन्टाबारीलगायत ग्रामीण भेगका किसानबाट दैनिक हजार लिटर दूध संकलन हुँदै आएको छ । फागुन, चैत, वैशाखजस्ता सुक्खा सिजनमा समेत दैनिक सरदर ४ सय लिटर दूध संकलन भएको गौशालास्थित चिलिङ सेन्टरले जनाएको छ ।


प्राइभेट डेरीले गाउँगाउँमा संकलन केन्द्र खोलेर दूध खरिद गरिदिनाले किसानलाई हाइसन्चो थियो । गाउँका वृद्धवृद्धादेखि घुम्टो काढेकी नवविवाहितासम्मलाई संकलन केन्द्रमा दूध पुर्‍याउन सजिलो भयो । संकलन केन्द्रको सुविधाले पनि ग्रामीण भेगका किसान पशुपालनतर्फ थप आकर्षित हुँदै गएका थिए ।

प्राइभेट डेरीले संकलन गरेका दूध चिलिङ सेन्टरमा पुर्‍याउने र चिलिङ सेन्टरबाट ढल्केवरस्थित डीडीसीको जनकपुर दूध वितरण आयोजनाले लिएर जाने । यही चक्रमा खरिद गरिएको दूधको हरेक दुई सातामा भुक्तानी पनि हँुदै आएको थियो । प्राइभेट डेरीले आयोजनाबाट भुक्तानी पाएलगत्तै किसानको घरमै पुगेर चुक्ता गरिदिने हुँदा पैसाका लागि उखुजस्तो पर्खनु र दौडधुप गर्नुपर्ने झन्झट पनि थिएन । यस्ता सुविधाले गर्दा दूध उत्पादन किसानका लागि आयआर्जनको भरपर्दो माध्यम बनेको थियो ।


ढल्केवरस्थित जनकपुर दूध वितरण आयोजनाका म्यानेजर योगेन्द्र साहका अनुसार मिल्क होलिडेको समस्या महोत्तरीको मात्र नभई आयोजनामा दूध आपूर्ति हुँदै आएको सर्लाही, सिन्धुली, धनुषा र उदयपुरका कृषकको समेत हो । डीडीसीको कोटा प्रणालीका कारण मिल्क होलिडे गर्नुपरेको उनले बताए । डीडीसीले ढल्केवर आयोजनालाई दैनिक १ हजार ५ सय लिटर संकलनको कोटा तोकेको साहले बताए । ढल्केवर आयोजनामा ५ जिल्लाका ११ चिलिङ सेन्टरबाट दैनिक ४ हजार लिटर दूध संकलन हुने गरेको छ । त्यसमध्ये दैनिक १५ सयदेखि २ हजार लिटरसम्म स्थानीय बजारमा खपत हँुदै आएको छ ।


यसअघि विराटनगरस्थित पाउडर बनाउने कारखानाले ढल्केवरबाट साताको ४ हजार ८ सय लिटर दूध लग्ग्थ्यो । जसका कारण मिल्क होलिडेको समस्या थिएन । तर केही समययता कहिले मेसिन बिग्रेर र त कहिले गोदाम भरिएको जनाएर विराटनगरले दूध नलिँदा समस्या किसानसम्म सरेको उनको भनाइ छ ।


‘ढल्केवर आयोजनालाई तोकेको कोटा सिस्टमले मिल्क होलिडे गर्नुपरेको हो,’ साहले भने, ‘विराटनगरले साताको एक टयाङ्कर (५ हजार लिटर) खपत गरिदिए मिल्क होलिडे स्वत: समाप्त हुन्छ ।’ तर, दूध उत्पादक किसान भने कुनै पनि बहानामा किसानको दूध बन्द गर्न नहुने तर्क गर्छन् । दूध उत्पादन गरेर परिवार पाल्दै आएका भरतपुरका बद्री महतो दूधजस्तो वस्तु पनि किन्न नसक्ने मुलुकले यस्को विकल्प दिनुपर्ने धारणा राख्छन् ।


‘कस्तो विडम्बना घरमा दूध र दुहुनो भएर पनि हामीले दु:खी हुनुपरेको छ,’ उनले प्रश्न गरे, ‘अनि हामीले छोराछोरी पाल्न दूधको साटो दुधिया (मदिरा) बेचन थाल्ने ?’

प्रकाशित : आश्विन २३, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?