कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लाङटाङ क्षेत्रमा आउन थाले पर्यटक

बलराम घिमिरे

रसुवा — वर्षा सकिएर मौसम सफा भएसँगै लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटकहरू आउन थालेका छन्  ।
हाल लाङटाङका पर्यटकीय क्षेत्रहरूमा विदेशीहरूको चहपहल देखिन थालेको हो  ।

लाङटाङ क्षेत्रमा आउन थाले पर्यटक

अंग्रेजी क्यालेन्डरअनुसार अक्टोबर र नोभेम्बरमा पर्यटक आउने मुख्य सिजन भएको लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाले बताए । उनले भने, ‘घुम्नका लागि पर्यटक आउने मुख्य सिजन सुरु भइसक्यो । बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको हो ।’


काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न सकिने भएकाले पनि लाङटाङ घुम्न पर्यटकले मन पराएका हुन् । पर्यटकका लागि घुम्न रसुवामा तीनवटा पदमार्गहरू रहेको छ । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेंसी हुंँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्मको पदमार्ग रहेको छ ।


पर्यटकहरू गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत गोसाइँकुण्ड, तामाङ सम्पदा मार्गभित्र रहेको तामाङ कला र संस्कृतिलगायतका विभिन्न क्षेत्रहरूको अवलोकन गर्न जाने गर्छन् ।


केही सातादेखि रसुवा आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट अचेल दैनिक ८० को हाराहारीमा पर्यटकहरू प्रवेश गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज रेन्जर रमेश बस्नेतले बताए । चालु आर्थिक वर्षको असोज १८ सम्ममा १ हजार ५ सय ८४ पर्यटक निकुञ्जकको ब्राबल चेक प्वाइन्टबाट प्रवेश गरेको तथ्यांकमा देखिएको छ ।


लाङटाङ नेपालको तेस्रो पर्यटकीय पदमार्गका रूपमा चिनिन्छ । सिजनमा यस क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । लाङटाङ क्षेत्रको पर्यटनलाई ०७२ वैशाख १२ को भूकम्पले तहसनहस बनाएको थियो । भूकम्पले भत्काएको तीनवटै पर्यटकीय पदमार्गहरूको मर्मत तथा सुधार र होटलहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ । पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न आउने आन्तरिक पर्यटक पनि बढदै गएका छन् । सार्क मुलुकलगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत २४ भन्दा बढी राष्ट्रका रहेका छन् ।

प्रकाशित : आश्विन २३, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?