कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बुद्ध एयर पब्लिक कम्पनीमा जाने

‘हामी इन्टरनेसनल अपरेसनलाई पब्लिक लिमिटेडमा लैजान्छौं, ३० प्रतिशत सेयर मात्रै होल्ड गर्छौं, बाँकी सेयर पब्लिक र स्टाटेजिक पार्टनरलगायतलाई जारी गर्नेछौं’
सुरज कुँवर

काठमाडौँ — आन्तरिक उडानमा ५१ प्रतिशत हिस्सा ओगट्दै आएको निजी क्षेत्रको बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान थालेलगत्तै सेयर बिक्री गर्दै पब्लिक कम्पनीमा परिणत हुने घोषणा गरेको छ ।

बुद्ध एयर पब्लिक कम्पनीमा जाने

२१ वर्ष प्रवेश गरेको अवसरमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले उक्त घोषणा सार्वजनिक गरेका हुन् । ‘हामी इन्टरनेसनल अपरेसनलाई पब्लिक लिमिटेडमा लैजान्छौं,’ उनले भने, ‘३० प्रतिशत सेयर मात्रै होल्ड गर्छौं । बाँकी सेयर पब्लिक र स्टाटेजिक पार्टनर लगायतलाई जारी गर्नेछौं ।’ उनले पब्लिकलाई ३० प्रतिशत हाराहारी सेयर बिक्री गर्ने बताए भने स्टाटेजिक पार्टरसँगको हिस्सा टुंगो लागिनसकेको बताए । लगानीको मोडल कस्तो हुनेबारे अन्तिम आकार तय भइनसकेको जनाउँदै उनले आन्तरिक उडान (डोमेस्टिक) लाई भने पब्लिक कम्पनीमा नलैजाने समेत बताए । हाल बुद्धले भारतको बनारस र नेपालका १४ वटा आन्तरिक रुटमा उडान भर्दै आएको छ । योसँग दुई प्रकारका ११ वटा विमान छन् ।


पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै अमेरिकी कम्पनी बोइङले उत्पादन गरेको ७३७ म्याक्स विमानबाट भारतको दिल्ली र चिनियाँ सहरहरूमा उडान थाल्ने कम्पनीको लक्ष्य छ । अन्तर्राष्ट्रिय उडानलाई बुद्ध एयर इन्टरनेसनल नामको कम्पनीमार्फत सञ्चालन गरिनेछ । यसै कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रबन्ध निर्देशक बस्नेतले जनाए । ‘इन्टरनेसनल अपरेसन गर्ने कम्पनीको नाम बुद्ध एयर इन्टरनेसनल रहनेछ,’ उनले कान्तिपुरसँग भने, ‘हामी २ वर्षमा ५ वटा बोइङ ७३७ सञ्चालन गर्ने तयारीमा छौं । अन्तिम टुंगो भने लागिसकेको छैन ।’


पोखरा विमानस्थल निर्माण गरिरहेको ठेकेदार कम्पनीले सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । चीनको २२ अर्ब ऋण लिई नेपाल सरकारले ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा पोखरा विमानस्थल बनाइरहेको छ । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कुरेर बसिरहेका छौं,’ बस्नेतले भने, ‘ईपीसी मोडलमा ठेकदारले भाका गरेकै समयमा बनाइसक्नुपर्छ । नत्र फाइन लाग्न थाल्छ, त्यसैले हामी पोखरा समयमै होइन बरु ४/५ महिनाअघि नै सकिनेमा आशावादी छौं ।’


पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न साढे तीन वर्षदेखि तयारी गरिरहेको जनाउँदै उनले विमानस्थलको निर्माण कार्य युद्धस्तरमै भइरहेकाले समयमै विमानस्थल सञ्चालनमा आउने बताए । ‘भैरहवा विमानस्थल लेबर मार्केट केन्द्रित हुने भएकाले हामी अन्य विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न सक्दैनौं,’ २१ वर्षअघि अमेरिकन बिचक्राफ्ट विमानमार्फत उड्डयन बजारमा डेब्यु गरेका उनले भने, ‘पोखरा पयर्टकीय गन्तव्य भएकाले बुद्धले त्यो बजारमा हाम्रो रुचि छ । पोखरा टुरिस्ट डेस्टिनेसन हो ।


भारतीयहरूलाई मुक्तिनाथ लैजान सकिन्छ । हामी पर्यटक बोक्छौं । होटल, रिसोर्ट, ट्रेकिङ, ट्राभलमा निजी क्षेत्रसँग सहकार्य हुनेछ हामी यी सेक्टरमा हात हाल्दैनौ,’ पहिलो चरणमा भारतसँगै चीनमा पनि उडानको योजना बनाइरहेका बस्नेतले भने ।

नेपालको भूगोलका लागि फ्रान्स (इटालियन) कम्पनीको उत्पादन एटीआर वायुयान सबैभन्दा उपयुक्त भएको उल्लेख गर्दै नेपालगन्जदेखि दिल्लीको उडान भने जेट विमानमार्फत नभई हाल बुद्धसँग भएका टर्बोप्रोप इन्जिनयुक्त एटीआर विमानमार्फत गरिने सुनाए ।


आफ्नो २१ वर्षको यात्रामा कम्तीमा १० वटा नेपाली एयरलाइन्स टिक्न नसकेर डुबिसकेको जनाउँदै बस्नेतले आन्तरिक उडानका लागि जेट उपयुक्त विमान नभएको टिप्पणी गरे । ‘जेट विमान चलाउने धेरै दिन टिक्दैनन्,’ उनले भने, ‘अनसस्टेबल फेयर (हवाई भाडा), मानव संसाधान र पूर्वाधार (जहाज) मा फन्ड व्यवस्थान दुरुस्त र पारदर्शी नराख्ने कम्पनी टिक्न सक्दैनन् ।’


उनले नयाँ जहाजलाई त्यसमा गरिने लगानीअनुसार दिनमा १२ घण्टा उडाउनुपर्ने बताए । ‘तर नेपालको विमानस्थल पूर्वाधार र सुविधाको सीमितता कारण हामी एटीआर ७२ पेलेर भए पनि दिनको ७ घण्टासम्म उडाइरहेका छौं, अर्को एटीआर ४२ साढे ४ घण्टाभन्दा बढी उडान सकिएकै छैन,’ बस्नेतले भने, ‘त्यसैले २५ मिलियन डलर (२ अर्ब ९६ करोड) मा ब्रान्ड न्यु विमान खरिद गर्नुभन्दा १० मिलियन डलर (१ अर्ब १८ करोड रुपैयाँ) मा सेकेन्ड हयान्ड एटीआर ल्याएर उडाउन उपयुक्त हुन्छ ।’


यसैबीच प्रबन्ध निर्देशक बस्नेतले अबको केही वर्षपछि आफू उड्डयन व्यवसायको नेतृत्वबाट पछि सर्दै त्यसपछिको नेतृत्व युवा पुस्तालाई सुम्पिने बताए । ‘म ५४ वर्ष पुगिसकें । ५७ वर्षसम्म म हाँक्छु । त्यसपछि अर्का पुस्ताले हाँक्नुपर्छ । जग हालिदिइसकेको छु,’ ९ सय ६३ जनालाई रोजगारी दिँदै आएको बुद्ध एयरका यी सञ्चालकले भने ।


प्रकाशित : आश्विन २४, २०७५ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?