कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याई

ट्रेकिङ सिजन
पूर्वका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा यतिबेला पर्यटकको चहलपहल
आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङ र आसपास क्षेत्रमा दसैं लागेको छ । सहरदेखि गाउँसम्मका बासिन्दा घर सिँगार्न थालेका छन् । यो बेला सेतो र रातो माटोले घर चिरिच्याँट्ट बनाउँछन् । कालो लगाएर झयाल ढोका सजाउँछन् । घर, आँगन, पानी पँधेरा सफा बनाउँछन् ।

पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याई

दसैंका लागि चिउरा, मासु, केरा, जाँड, रक्सीलगायतका खाद्य वस्तु रुचिअनुसार तयार पार्छन् । तर, नगरबाहिरका सिरिजंगा र फक्तालुङ गाउँपालिकाको अवस्था भने बिलकुल फरक छ । सदरमुकामबाट पाँच घण्टाको दूरीमा रहेको छिरुवादेखि सिरिजंगाको याम्फुदिनसम्मका बासिन्दा पर्यटकको सत्कारमा व्यस्त छन् ।


कञ्चनजंघा क्षेत्रको ट्रेकिङमा आएका पर्यटकहरूको व्यवस्थापनमा उनीहरूलाई यतिबेला भ्याइनभ्याई छ । पर्यटकहरूको क्याम्प रहेको फक्तालुङ गाउँपालिका ३ छिरुवाका टंका लिम्बुले भनिन्, ‘हामीलाई त ट्ेरकिङको व्यवस्थापन गर्न भ्याइनभ्याई छ, आउनेलाई वेलकम र जानेलाई बाइबाई गर्दै छौं ।’


भदौ अन्तिमदेखि हिमाली क्षेत्रको दृश्यावलोकनका लागि विदेशी पर्यटक आउने गरेका छन् । यो सिजनमा उनीहरू हिमालको फेदसम्म पुग्छन् र प्राकृतिक सुन्दरतामा रमाएर फर्कन्छन् । क्यामेरा बोकेका हरेकले तस्बिर कैद गर्दै आनन्द लिएर जान्छन् । यो सिजनमा कञ्चनजंघा हिमाल आरोहण गरिँदैन । हिमाल आरोहण गर्नेको टोलीले चैतदेखि असार पहिलो सातासम्म आरोहणमा बिताउँछन् ।


‘पूर्वका हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु पर्यटकले भरिने सिजन हो,’ पर्यटन व्यवसायी ईश्वरी पौडेलले भने, ‘सिजन भएकाले पर्यटन व्यवसायी स्वभावले व्यस्त त हुने नै भइयो, हामी पनि व्यस्त छौं ।’ विश्वको सर्वोच्च शिखर सगरमाथा, दोस्रो अग्लो हिमाल कञ्चनजंघा र मकालु हिमाल यी जिल्लामा छन् ।


ट्रेकिङ पठाएकाहरू बिरामी पर्लान्, रेस्क्यु गर्नुपर्ला, कहाँ पुगे, निर्धारित समयमा सम्बन्धित क्याम्पमा पुगे/नपुगेको जानकारी लिने गरेको अर्का व्यवसायी छवाङ शेर्पा बताउँछन् । पर्यटक बिरामी भए हेलिकप्टर वा अरू व्यवस्था गर्नुपर्ने भएकाले चनाखो भएर बस्नुपर्ने उनीहरू बताउँछन् । ताप्लेजुङको पर्यटन रुटमा भने पर्यटकका लागि आवश्यक पर्ने होटल, लज नभएकाले अधिकांशले खाजा, चामल, नुन, भुटुन काठमाडौंबाटै लिएर आउने गरेका छन् ।


ती सामान ओसार्नका लागि मजदुर चाहिन्छ । हिमाली क्षेत्रमा सामान लिएर जान जोसुकैलाई कठिन पर्ने भएकाले शेर्पा समुदायका युवाहरू ट्रेकिङमा बढी हिँड्ने गरेका छन् । कञ्चनजंघाको बेसक्याम्प घुन्साको कञ्चनजंघा आधारभूत विद्यालयका प्रधानाध्यापक लिलाचक्र गुरुङ पर्यटकको भीडभाडले यहाँका बासिन्दालाई दसैंको अनुभूति कम हुने बताउँछन् । ‘पर्यटकीय रुटका घर तथा होटल भदौ अगाडि नै सफासुग्घर बनाइएको हुन्छ । क्याम्पसाइडहरू सबै सफा गरेका हुन्छन्,’ गुरुङले भने, ‘अहिले त उनीहरू स्कुल बिदा हुँदा दसैं आएको थाहा हुन्छ भने लाग्दा सकिएछ भनेर चाल पाउँछन् ।’ कञ्चनजंघामा वार्षिक सात/आठ सयको हाराहारीमा पर्यटक आउँछन् ।


तिनका भरिया, कुन, वेटरसमेत गर्दा एक जनाका चार जनासम्म सहयोगी हुन्छन् । त्यसैले पर्यटन क्षेत्र ट्रेकिङले भरिभराउ भएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?