बझाङमा १० वर्षपछि जहाज

वसन्तप्रताप सिंह

बझाङ — करिब दशकपछि बझाङ विमानस्थलमा हवाईजहाज अवतरण भएको छ । ०६५ देखि बन्द विमान स्थलमा परीक्षण उडानका क्रममा आएको नेपाल वायुसेवा निगमको वाइ १२ ई जहाजले बुधबार अवतरण गरेको हो । 

बझाङमा १० वर्षपछि जहाज

नेपालगन्जबाट दिउँसो १२:२४ बजे उडेको ‘नाइन एन एकेयू कलसाइन’ को उक्त जहाज ४५ मिनेट लगाएर बझाङ पुगेको थियो । विमान स्थल नियमित उडान गर्न योग्य छ/छैन भनेर बुझ्न प्राविधिक टोलीसहित आएको जहाज २० मिनेट रोकिएर नेपालगन्ज फर्केको थियो ।

विमान सेवा सुचारु हुनुपर्ने माग राख्दै पटकपटक केन्द्रसम्म धाएका स्थानीय परीक्षण उडानपछि खुसी छन् । सातामा कम्तीमा दुई उडान हुन सके स्थानीयलाई राहत र जिल्लाको पर्यटन प्रवद्र्धन हुने उनीहरूको भनाइ छ ।

०३५ मा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलोपटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल ०६५ सम्म चालु थियो । पछिल्लो समय निगमबाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्थे ।

०६५ मा बझाङ सदरमुकामसम्म बस चलेपछि यहाँ कुनै उडान भएको छैन । ०६६ मा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?