कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीमामा रोकिएन तस्करी

भुषण यादव

वीरगन्ज — श्रीसियास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको टोलीले सीमावर्ती भारतीय बजारबाट अवैध रूपले भित्र्याइरहेको अवस्थामा वीरगन्ज महनगरपालिका ३ इदगाह क्षेत्रबाट बुधबार कपडा नियन्त्रणमा लियो  । करिब ४ लाख रुपैयाँ बराबरका ती कपडा भन्सार राजस्व छली ल्याइएको थियो  ।

सीमामा रोकिएन तस्करी

असोज १२ मा जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुराकीका आधारमा वीरगन्ज १ छपकैयामा छापामारी १३ लाख रुपैयाँको सर्टिङ सुटिङ, कुर्तासलवार, बच्चाको कपडा बरामद गरेको थियो । छपकैयाकी अमरावतीदेवीको घरमा अवैध रूपमा भण्डारण गरिएको कपडालगायतका सामग्री विशेष सुराकीको आधारमा कब्जा गरिएको थियो । यसैगरी सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गस्ती टोलीले असोज १ मा वीरगन्ज महानगरपालिका १६ इनर्वामा भारतबाट अवैध रूपमा ल्याइरहेको करिब साढे ३ लाख रुपैयाँको कपडा नियन्त्रणमा लिएको थियो ।


जिल्ला प्रहरी पर्साले उपलब्ध गराएको विवरणअनुसार प्रहरीले वैशाखयता ७९ लाख १० हजार रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालय बुझाइसकेका छ । यसैगरी वीरगन्ज भन्सारमा तैनाथ सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गस्ती टोलीले १ करोड ३९ लाख रुपैयाँको भन्सार छलीका सामान नियन्त्रणमा लिएको जनाएको छ ।


रेडिमेड कपडाको आयातमा २० प्रतिशत र अन्यमा १५ प्रतिशत भन्सार महसुल साथै १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ । कपडाको आयातमा कर बढी लाग्ने भएकाले व्यापारीले अवैध रूपमा भित्र्याउने गरेका छन् । सीमावर्ती भारतीय बजारको तुलनामा भन्सार महसुल र मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय कपडाको चोरी पैठारी नियन्त्रण हुन सकेको छैन ।


मुलुकमा खपत हुने कपडामध्ये आधाभन्दा बढी चोरी पैठारीबाट आउने सम्बद्ध व्यवसायीको दाबी छ । एक थान कुर्ता सुरुवाल आयात गर्दा २० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत भ्याट तिर्नुपर्छ । ‘यसले गर्दा सीमावर्ती सहरमा सामान्य एक जोर कुर्ता सुरुवालमा झन्डै ४ सय रुपैयाँ फरक पर्छ,’ ती व्यवसायीले भने, ‘त्यही कुर्ता काठमाडौंमा दोब्बरमा बिक्री हुन्छ ।’


कपडामा लगाइएको चर्को राजस्वकै कारण चोरी पैठारी बढेको व्यापारी बताउँछन् । सीमावर्ती क्षेत्रमा चोरी तस्करीमा सम्लग्न हुने अधिकांश कारोबारी सुरुमा कपडा तस्करीबाटै यो धन्दामा हात हाल्छन् । चितवन, पोखरा, काठमाडौंलगायतका सहरका कपडा व्यापारीलाई वीरगन्ज र रक्सौलका व्यापारीले वैध/अवैध तरिकाले कपडा आपूर्ति गरिदिन्छन् । ‘अवैध तरिकाले पठाउँदा, व्यापारी र क्यारियरलाई पनि फाइदा हुन्छ,’ एक कारोबारीले भने, ‘त्यही भएर सकेसम्म कर छलिन्छ ।’


तस्करीमा संलग्नलाई प्रहरीले पक्राउ गरे पनि ठूलो सजाय हुँदैन । धरौटीमा उन्मुक्ति पाइन्छ । खुला सीमासँगै जोडिन गएको एउटा पक्ष मूल्यान्तरको कारोबार हो र यो सीमासँग जोडिएका क्षेत्रका एउटा समूहका लागि जीविको अवसर भइदिएको जानकार बताउँछन् । ‘ठूला कारोबारीले भन्सारबाटै मूल्यांकन हेरफेर गरी वा थोरैको महसुल तिरी बढी ट्रकमा आयात गर्छन्,’ एक व्यवसायीले भने, ‘सानाले पोके तस्करमार्फत गोदामसम्म कपडा मगाउँछन् ।’ झन्डै ५ सयको संख्यामा रहेका महिलाहरूले पनि वीरगन्ज भन्सारको मुख्य नाकाबाटै अवैध ओसारपसार गर्दै आएका छन् । नाकामा तैनाथ भन्सार कर्मचारी र प्रहरीले आर्थिक प्रलोभनमा पोके तस्करलाई छाड्ने गरेका छन् ।


अघोषित रूपमा लाइन खुला
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्ना विश्वास पात्र ११ प्रहरीलाई प्रदेश २ का आठ जिल्लामा तस्करी अनुगमन र नियन्त्रणका लागि काजमा खटाएका छन् । त्यही टोलीमध्येका प्रहरी हवल्दार विनोद साहले गत भदौ ३० मा जिल्ला शिक्षा कार्यालय अगाडि साँझको बेला अवैध रूपले सामान भित्र्याइरहेका तस्करहरूको भिडियो र फोटो खिचिरहेका थिए । ‘तस्करहरूले देखेपछि साहको मोबाइल खोसेर झन्डै आधा घण्टा नियन्त्रणमा लिएका थिए,’ प्रहरी स्रोत भन्छ, ‘साह प्रहरी रहेको थाहा भएपछि तस्करहरूले उनलाई छाडेका थिए ।’ हवल्दारलाई तस्करले नियन्त्रणमा लिएको नजिकै भकुवा प्रहरी चौकी छ ।


त्यहाँका चौकी इन्चार्जले उक्त कुरा थाहा पाएपछि तस्करलाई कारबाही गर्नुको सट्टा ‘कम्प्रोमाइज’ गराइदिन भन्दै साहलाई थामथुम पारेका थिए । यसैगरी वीरगन्ज भन्सार नाकाबाटै भइरहेको तस्करीको तस्विर र भिडियो लिएको भन्दै तस्करहरूले गत साता दुई सञ्चारकर्मीको मोबाइल र क्यामेरा खोसेर दुव्र्यवहारसमेत गरे । दुई महिला तस्करलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।


पोके तस्कहरूले रक्सौलबाट ल्याएको कपडा भन्सार नजिकैको माँ दुर्गा ट्रान्सपोर्टमा दिनभरि थुपार्ने गरेका छन् । ‘साँझ परेपछि ती कपडाहरू ट्रकमा लोड गरी नारायणगढ र काठमाडौ पुर्‍याइन्छ,’ एक कारोबारीले भने, ‘प्रहरीको रेकी गर्न ट्रान्सपोर्ट साहुले आधा दर्जन युवा परिचालन गरेका छन् ।’

प्रकाशित : आश्विन २७, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?