कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फैलिँदै स्याउ खेती

हरि गौतम

रुकुम पूर्व — तत्कालीन राजा वीरेन्द्रले स्याउको उत्पादन राम्रो हुने भनेर पुथाउत्तरगंगा गाउँपालिका १० अर्थात् पहिलेको तकसेरा गाउँ पञ्चायतलाई ०४० मा स्याउका केही बेर्ना उपहार दिएका थिए  । राजाले उपहार दिएका तिनै बेर्ना गाविसले गाउँलेलाई वितरण गर्‍यो  ।

फैलिँदै स्याउ खेती

अहिले तिनै स्याउका बोट तकसेरामा फैलिएका छन् । लटरम्म फल्न थालेका छन् ।

त्यसअघि तकसेरा बाग्लुङ जिल्लाअन्तर्गत रहँदा स्विस प्राविधिक सहायता संघले पनि स्याउका केही बोट वितरण गरेको थियो । ढोरपाटन सिकार आरक्षमा सहयोग गर्ने क्रममा केही स्थानीयबासीले स्याउका तिनै बेर्नाबाट तकसेरामा स्याउ खेती सुरु गरेका हुन् । हाल पुथाउत्तरगंगा गाउँपालिकामा मात्रै ३० हजारभन्दा बढी स्याउका बोट छन् । तीमध्ये झन्डै २ हजार बोटले फल दिइरहेका छन् । २८ हजार बोट हुर्किंदो क्रममा छन् ।
पुथाउत्तरगंगा गाउँपालिका अधिकांश वडाका विभिन्न ठाउँमा स्याउका बोट लहलहाएका छन् । ‘पहिला खास वास्ता थिएन । पछिल्लो समय हरेक घरपरिवारले स्याउका बोट लगाउने क्रम बढदै गएको छ ।’ तकसेराका तेजेन्द्र खाम मगरले भने, ‘व्यावसायिक रूपमा खेती गर्ने र थोरै बोट भए पनि स्याउ लगाउनुपर्छ भन्नेहरूको संख्या यहाँ बढेको हो ।’

अहिले तकसेराका हरेकजसोका घरमा स्याउका १२/१५ बोट छन् । कतिपयका फलिसकेका छन् भने कतिले बेर्ना सार्दै छन् । पुथाउत्तरगंगामा गोल्डेन, रोयल र पिपलनेट जातका स्याउ बढी छन् । ‘केहीले रुचि र सोखले लगाए पनि धेरैजसो किसान स्याउको व्यावसायिक खेतीमा जुटिसकेका छन्,’ तकसेराकै धर्म बुढा मगरले भने, ‘फलेका स्याउका दाना राम्रा छन् । अब निर्वाहमुखी कृषिभन्दा व्यावसायिक स्याउ खेतीमा जाने चाहना राख्नेको संख्या बढदो छ ।’

लक्ष्मीप्रसाद पुन मगर यस क्षेत्रमा सबैभन्दा बढी स्याउ खेती गर्ने किसान हुन् । पुथाउत्तरगंगा २ पेल्मामा उनको स्याउ बगैंचा नै छ । झन्डै एक हजार बोट हुर्किंदै छन् । अधिकांश स्याउका बोटमा लटरम्म फल लागेका छन् । तर, फलेका स्याउ खपत गर्न भने समस्या रहेको उनले बताए । ‘यस क्षेत्रमा स्याउ राम्रो फल्छ, फलाउन सकिन्छ भन्ने कुरा पुष्टि भइसक्यो । तर, खपत कहाँ र कसरी गर्ने भन्ने समस्या छ,’ उनले भने, ‘सडक सञ्जाल नपुगेका कारण बजारसम्म स्याउ पुर्‍याउन कठिन छ ।’ बजार अभावमा बोटबाट स्याउ नटिपिएको उनले बताए । बजारमा पुर्‍याउन नसकिने भएपछि फल बोटमै छन् । ‘स्याउ टिपेको छैन । बोटमा पाकेका स्याउ काग र खोलामा बस्ने ओदले खान्छन्,’ उनले भने, ‘कति झरेर भीरपाखातिर जान्छन् । बजार नभएपछि फलाएर पनि के काम ?’

फलेका स्याउ बजार पुर्‍याउन ढुवानी अनुदान पाउन सके स्थानीयबासीको जीवन स्तर बदलिने तेजेन्द्र खाम मगरले बताए । सडक निर्माणलाई तीव्रता र ढुवानीमा अनुदान दिन सके बोटमा लटरम्म फलेका स्याउ बजारसम्म पुग्ने उनले सुनाए । गलत सरकारी नीतिका कारण पनि स्याउ किसान समस्यामा पर्ने गरेको लक्ष्मीप्रसाद पुनको भनाइ छ । साबिकका रन्मामैकोट, हुकाम र सिस्ने गाविसलाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ । तर, त्यो घोषणामै सीमित छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आएको ८० लाखमध्ये ६० लाख रुपैयाँ गत आर्थिक वर्षमा फ्रिज भएको छ । साबिकको रन्मामैकोट र हुकामका लागि २० लाख र सिस्नेका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा सिस्नेमा छुट्याइएको ६० लाख रुपैयाँ फ्रिज भएको हो ।

स्याउ खेतीमा तारबार, सिँचाइ, बगैंचा व्यवस्थापन, बीउ विजन, बेर्ना शीर्षकमा उक्त बजेट आएको थियो । खेती भइरहेको ठाउँ छाडेर अन्यत्रै बजेट परेपछि समस्या भोग्नु परेको स्याउ किसानहरूको गुनासो छ । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्ती पनि आफैं स्याउ कृषक हुन् । उनको बारीमा स्याउका ६ सय बोट छन् । स्याउ फलेपछि कता खपत गर्ने भन्ने चिन्तामा उनी पनि छन् । सानो रकमले केही नहुने भन्दै त्यस क्षेत्रको स्याउको बजारीकरणका लागि ठूलो परियोजना आवश्यक रहेको उनले बताए । ‘हरेक वर्ष स्याउ खेतीले ठूलो क्षेत्र ओगटै छ ।

स्थानीय सरकारको बजेटले केही गर्न सकिन्छजस्तो लाग्दैन,’ अध्यक्ष घर्तीले भने, ‘तैपनि, प्रयास गरिरहेका छौं ।’ उनले गाउँपालिकाले बेर्ना वितरणसम्मको कार्यक्रम बनाएको सुनाए । धेरैले स्याउ खेतीमा चासो दिएकाले अनुदानमा बेर्ना वितरणको कार्यक्रम राखिएको उनले बताए ।

प्रकाशित : आश्विन २८, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?