कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किबीले आम्दानी दिन थाल्यो

प्रताप विष्ट

मकवानपुर — सुरुसुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, घरकाले पनि उनलाई गाली गर्थे  । तर, अहिले भने सबैले उनलाई स्यावासी दिन थालेका छन्  ।

किबीले आम्दानी दिन थाल्यो

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका ६ लीलाखेलका मनोरथ वलामीले किबी खेती गरेर यो वर्ष ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने अवस्थामा पुगेका छन् ।

करिब साढे २ लाख रुपैयाँको किबी उनले बेचिसकेका छन् । बोटमा र गोदाममा गरेर उनीसँग साढे २ लाख बराबरको किबी छ । बलामीले १२ वर्षअघि किबी खेती सुरु गरेका थिए । पहिलो वर्षमा १५ वटा बिरुवा रोपेर सुरु गरेका मनोरथसँग अहिले १ सय ४० वटा किबीका झाल छन् । तीमध्ये २० वटा भाले किबीका बोट छन् । ती सबैले उत्पादन दिन थालिसकेका छन् । ‘सुरुसुरुमा बजारको पनि समस्या थियो,’ बलामीले भने, ‘अहिले समस्या छैन, काठमाडांै लगेपछि बिक्री भइहाल्छ ।’ प्रतिकेजी काठमाडौं साढे २ सयदेखि ४ सय रुपैयाँमा किबी बिक्री हुने गरेको छ । बलामीले काभ्रेबाट बिरुवा ल्याएर रोपेका हुन् । एउटा बिरुवाको मूल्य ३ सय रुपैयाँ पर्छ । बलामीको करिब ५ रोपनी जमिन किबीको बोटले ढाकेको छ । किबी खेती बज्रवाराहीमा बलामीलेमात्र गरेका छैनन् । करिब ५० परिवारले गरेका छन् ।

विगत १३ वर्षदेखि थाहा नपा ६ वज्रवाराहीका फणिन्द्र सुवेदीले पनि किबी खेती गरेका छन् । उनीसँग १ सय ५० वटा किबीको बोट छन् । ती सबैले उत्पादन गर्न थालिसकेका छन् । उनले यो वर्ष करिब १० लाख रुपैयाँको किबी बिक्री गर्ने अनुमान गरेका छन् । ‘अब धमाधम किबी टिपेर बिक्री गर्ने अवस्थामा भइसकेको छ,’ सुवेदीले भने, ‘गत वर्षभन्दा यो वर्ष राम्रोसँग फलेको छ ।’ उनले करिब ५ हजार केजी किबी उत्पादन हुने अनुमान गरेका छन् ।

बलामी र सुवेदीलाई मृग र मलसाप्रोबाट किबीको फल जोगाउन मुस्किल परेको छ । मृग र मलसाप्रोले किबीको फल खान रुचाउँछन् । सुवेदीले १५ रोपनी जग्गामा किबी खेती गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको एक गाउँ, एक उत्पादनअन्तर्गत बज्रवाराही किबी खेतीका लागि छनोट परेको थियो । थाहा नगरपालिका करिब ५० जना कृषकले २० देखि २ सयवटा किबीको बिरुवा लगाएर उत्पादन गर्न थालेका छन् । गत वर्ष यहाँका कृषकले पाकेको किबी प्रतिकेजी ३ सयदेखि ५ सय रुपैयाँमा काठमाडौं लगेर विक्री गरेका थिए । वज्रवाराही र नामटारलाई किबी खेतीका लागि एक गाउँ, एक उत्पादनमा छनोट गरिएको छ । यहाँ उत्पादन गरिएका किबीको मकवानपुर उद्योग वाणिज्य संघले बजारीकरण गर्न सहयोग गर्दै आएको छ । थाहा नगरपालिका ६ वज्रवाराहीमा यो वर्ष करिब १५ टन किबी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएका अधिकांश किबी काठमाडौंमा बिक्री हुने गर्छ । ‘थोरै भए पनि अहिले स्थानीयबासीले पनि किबी खान थालेका छन्,’ कृषक बलामीले भने । थाहा नपाको वज्रवाराही किबी गाउँका रूपमा परिणत हुँदै छ ।

प्रकाशित : आश्विन २८, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?