कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वमा बढयो सवारीको आयात

शंकर आचार्य

काठमाडौँ — वीरगन्ज/आईसीपी भन्सार नाकाबाट नयाँ सवारी साधनको आयात बढेको छ  । चाडपर्वका कारण जिप, कार, भ्यानलगायत सवारी साधनको आयात बढेको हो  ।

चाडपर्वमा बढयो सवारीको आयात

वीरगन्ज/आईसीपी भन्सार नाकाबाट नयाँ सवारी साधनको आयात बढेको छ । चाडपर्वका कारण जिप, कार, भ्यानलगायत सवारी साधनको आयात बढेको हो । दसैं, तिहारजस्ता प्रमुख चाडपर्वमा सवारी साधनको खरिद बिक्री बढी हुने भएकाले पनि यो सिजनमा नयाँ सवारी साधनको आयात तुलनात्मक रूपमा बढ्ने गरेको छ ।
भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन १ देखि असोज १५ को तुलनामा यस वर्षको यसै अवधिमा सवारी साधनको आयात उत्साहजनक रूपमा बढेको हो ।

कार्यालयका प्रवक्ता सन्तोष यादवका अनुसार चालु आवको यस अवधिमा यो नाकाबाट ८ अर्ब ४२ करोड रुपैयाँ बराबरका ५१ हजार ६ सय ८० सवारी साधन आयात भएका छन् । जसबाट १० अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
वीरगन्ज नाका सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका हो । वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वमा सवारी साधनबाट आउने राजस्वले महत्त्वपूर्ण भूमिका खेल्छ । सवारी साधनको आयात घटदा यो भन्सारले लक्षित राजस्व संकलन गर्न सक्दैन ।

हाल आईसीपी भन्सारको यार्ड तथा सीमापारि रक्सौल सहरमा पनि नेपाल आयात गर्ने थुप्रै सवारी साधन भण्डारण गरी राखिएका छन् । राजधानीमा ग्राहकले बुक गरेलगत्तै आयातकर्ता कम्पनीले यहाँबाट सवारी साधन जाँचपास गराएर लग्छन् । नेपालमै नयाँ सवारी साधन र त्यसमा पनि जिप, कार, भ्यानको मुख्य बजार नै राजधानी हो । समुद्री मार्गबाट भारतको कोलकाता बन्दरगाहसम्म ल्याइने तेस्रो मुलुकबाट आयातित सवारी साधनदेखि भारतमै निर्मित सवारी साधन पनि भौगोलिक निकटता र यहाँबाट राजधानी लग्न छोटो दूरी पर्ने भएकाले पनि आयातकर्ताले सवारी साधन आयातका लागि वीरगन्ज नाका नै रुचाउँछन् । बर्सेनि यो नाकाबाट सवारी साधनको आयात क्रमश: बढ्दै गएको भन्सार तथ्यांकले पनि देखाउँछ ।

सवारी साधनकै उत्साहजनक आयातले यो भन्सारले असोज सकिनु एक साताअघि नै मासिक राजस्व असुली लक्ष्य भेटाउन सफलसमेत भएको यादव बताउँछन् ।
असोजका लागि यो भन्सारले १२ अर्ब १ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकामा मंगलबार सम्ममा १२ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ । मसान्त आउन एक साता बाँकी रहेकाले थप २ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको उनले बताए ।

प्रकाशित : आश्विन २८, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?